खुल्यो तातोपानी नाका, दैनिक २० कन्टेनर सामान आउने, व्यवसायीहरुले नयाँ सामान आयात थाले

सरला सुवेदी/बिजमाण्डू
२०७७ माघ २७ गते १६:१६ | Feb 9, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं ।  मितेरी पुल निर्माणका लागि बन्द गरिएको तातोपानी नाका आजदेखि संचालनमा आएको छ ।

चिनियाँ व्यापारिक नाका तातोपानी अन्तर्गत मितेरी पुल निर्माण गर्न गत माघ ७ गतेदेखि बन्द भएको थियो । निर्माणको काम सकिएपछि नाका पुन संचालनमा आएको हो । 

नाका संचालन भएको पहिलो दिनमै दुई देशबीचको व्यापारिक कारोबार सुरु भएको  छ।  नाका संचालनमा आएलगत्तै  कन्टेनरको संख्या बढेर आउने तातोपानी भन्सार कार्यालयका भन्सार प्रमुख लालबहादुर खत्रीले बताए । पुल पूर्ण रुपमा क्षति नभएकोले निर्माणका लागि लामो समय नलागेको उनको भनाइ छ ।

मंगलबार मात्र भन्सारमा  ६ नेपाली कन्टेनर सामान भित्रिएको छ । बुधबारपनि ८ वटा कन्टेनर आउने भएको खत्रीले बताए । पुल निर्माण अघि नाकामा रोकिएको कन्टेनर भन्सारमा भित्र्याएर मात्र बन्द गरिएको थियो । त्यस समयमा भन्सारमा ३ महिनामा करिब ७ सय २८ कन्टेनर भित्रिएको थियो।

केही कन्टेनर बाँकी रहेकोले आगामी २ दिन उक्त कन्टेनरहरु आउने भन्सारले जनाएको छ । नाकामा रोकिएको पुरानो कन्टेनर आएपछि तातोपानी भन्सारमा दैनिक २० कन्टेनर आउने निर्णय भएको खत्रीले बताए ।

नाकाबाट लामो समयदेखि  कम संख्यामा कन्टेनर जाँदा व्यवसायमा नराम्रो प्रभाव तथा नकारात्मक सुचना फैलिएकोले आगामी दिनमा कन्टेनरको संख्या बढाउने निर्णय चिनियाँ पक्षले गरेको उनको भनाई छ ।

यसका लागि चिनियाँले ४० वटा कन्टेनर पठाउन सक्ने तयारी गरेको भन्सारले जनाएको छ । तातोपानी भन्सारमा हाल ४८ वटा ट्रलीमात्र रहेकोले दैनिक १६ वटा देखि २० वटा सम्म आउने व्यवस्था गरेको भन्सार प्रमुख खत्रीले बताए ।

पुल निर्माणपछि दुइ देशबीचको ब्यापारिक कारोबारमा असर हुन नदिनका लागि जति सक्दो बढी कन्टेनर सामान पठाउने सहमति भएको छ।
 

आइतबारदेखि नयाँ सामान आउने 

व्यवसायीहरुले आगामी आइतबारदेखि चिनियाँ सामानहरु नयाँ अर्डर गर्ने सक्ने भएका छन् । गत वर्ष माघदेखि कोभिडका कारण नाका समय समयमा मात्र खुलिरहेको थियो । त्यसकारण  चिनियाँ नाकामा एक हजार भन्दा बढी कन्टेनर रोकिएका थिए । व्यवसायीहरुले पुरानो सामान नआउँदा नयाँ सामान अर्डर गर्न पाएका थिएनन् ।

भन्सार प्रमुख खत्रीका अनुसार २ दिनमा पुरानो कन्टेनर नेपाल भित्रिएपछि तातोपानी नाका पुरानो लयमा फर्कने जानकारी दिएका छन् । 

यो बर्ष चिनियाँ नयाँ बर्ष लोसारमा पनि नाका बन्द नहुने भएको छ । गत बर्ष लोसारको समयमा २० देखि एक महिनासम्म नाका बन्द हुने गरेको थियो ।

हाल कोभिडका कारण आयात निर्यात प्रभाव भएकोले लोसारको समयमा चिनियाँ र नेपाली नाका दुबै खुल्ला हुने भएको छ । उक्त दिनमा सामान नआएपनि पहिले जस्तो नाका पुरै बन्द नगर्ने बताएको छ । 

तातोपानी नाका एकतर्फी मात्रै खुल्ने 

तातोपानी नाका पूर्ण रुपमा खुले पनि एकतर्फी रुपमा मात्र हुने भएको छ ।

कोभिडको संक्रमण नियन्त्रण नभएकोले हालको लागि नाकामा आयातमात्र गर्ने व्यवस्था भएको हो ।

यस नाकाबाट एक बर्षदेखि सामान निर्यात भएको छैन । तातोपानी नाकाबाट स्वादेशी सामान निर्यात गर्ने सम्बन्धी भने हालसम्म कुनै छलफल नभएको पनि प्रमुख खत्रीले बताए।