ट्विटरसँग सरकार रिसाएसँगै मेड इन इन्डिया एप ‘कु’ चर्चामा, भारतीय अधिकारीहरुबीच प्रयोग बढ्यो

बिजमाण्डू
२०७७ फागुन २ गते १३:२८ | Feb 14, 2021

Tata
GBIME
Nepal Life

भारतमा ट्विटरलाई चुनौती दिँदै नयाँ माइक्रोब्लगिङ एप 'कु' दिनदिनै लोकप्रिय बन्दै गइरहेको छ।

केही समयदेखि भारतीयहरुको ग्याजेटमा सानो पहेँलो चराको 'कु' लोगो देखिनु सामान्य जस्तो हुन लागिसकेको छ।  

भारत सरकार र ट्विटरबीच बढ्दो तनावका बीच भारतीय सरकारी कार्यालयहरुमा 'कु' को प्रयोग बढ्दो छ।

भारतको दिल्लीमा गत जनवरी २६ मा भएको प्रदर्शनका समयमा झुठा र भ्रामक सूचना दिएको भन्दै भारतीय सरकारले ट्विटरलाई केही एकाउन्टहरुमा प्रतिबन्ध लगाउन माग गरेको थियो। तर ट्विटरले भने सरकारको उक्त उजुरीको पक्षमा सुनुवाई गरेन। उसले सस्पेन्ड गरिएका एकाउन्टहरुलाई फेरि संचालन गरिदियो।

सरकारले विपक्षी पार्टीका नेताहरु, समाचार संस्थाका साथै केही पत्रकारहरुको समेत एकाउन्ट बन्द गर्न ट्विटरलाई भनेको थियो। तर ट्विटरले यसको पक्षमा कारवाही नगरेपछि सरकारीस्तरमै ट्विटरलाई बहिष्कार गर्दै 'कु' एपको प्रयोग बढ्दै गएको छ।

उनीहरुले 'कु'लाई नयाँ प्लाटफर्मका रूपमा प्रयोग गर्न थालेका छन्। उनीहरुले भारतमा ट्विटर बन्द गर्न ह्यासट्याग अभियान नै पनि चलाएका छन्।

त्यसकारण 'कु' एपले बिस्तारै भारतीय माइक्रोब्लगरहरुको ध्यान तानेको छ।

हाल 'कु' लाई अंग्रेजी लगायत अन्य पाँच राष्ट्रिय भाषाहरुमा समेत संचालन गर्न मिल्छ। अझै १२ वटा भाषामा यसलाई संचालन गर्न सक्ने गरी तयारी भइरहेको  बताइएको छ।

गत मार्चमा लन्च भएको कु ले भारत सरकारबाट पुरस्कार नै पाएको छ।

कुले ट्विटरले जस्तै काम गर्छ र यसलाई हालसम्म ३१ लाखले डाउनलोड गरिसकेको बताइन्छ, जसमध्ये एक तिहाइ सक्रिय प्रयोगकर्ता रहेको दाबी कम्पनीले गरेको छ।

फेब्रुअरीको सुरुमै 'कु' को प्यारेन्ट कम्पनी बैंगलोरस्थित बम्बिनेट टेक्नोलोजिजले यस परियोजनाका लागि ४० लाख डलर थपेको बताइन्छ।

'कु' का मुख्य संचालक मानिने मोहनदास पाइ आइटी जायन्ट इन्फोसिसका सहसंस्थापकका रूपमा पनि चिनिन्छन्। उनले भारतको बीजेपी नेतृत्वको सरकारको खुलेर समर्थन पनि गर्दै आएका छन्। कु लाई 'मेड इन इन्डिया एप' भएकाले पनि भारतीयहरुको साथ चाहिने भन्दै प्रवर्द्धन गर्दै आइएको छ।

ट्विटर प्रयोगकर्ताहरुले यसलाई चिनियाँ सहायताबाट निर्मित भनेर आरोप लगाए पनि 'कु' का सीइओ अप्रामेया राधाकृष्णले भने सुरुमा केही चिनियाँ सहयोग र लगानी भए पनि हाल यो सबैबाट मुक्त रहेको दाबी गरेका छन्।

इन्डिया मेड एप  'कु' लाई धेरैले अमेरिकी सोसल मिडिया एप पार्लरसँग पनि दाँजेका छन्। पार्लरले आफूलाई स्वतन्त्र अभिब्यक्तिको प्लाटफर्म बताउँदै आएको थियो। जुन चाँडै नै तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुमाझ लोकप्रिय भयो। ट्विटरबाट रुष्ट र भ्रामक सूचना पाएको आरोप लगाउनेहरुको ठूलो समूहले पार्लर चलाउन थाल्यो।

भारतमा पनि कु लाई ट्विटरको नोक्सानका रूपमा हेरिएको छ। सरकारमा रहेका केही मन्त्रीहरु र सरकारी अधिकारीहरुका साथै उनका धेरै समर्थकहरुले नयाँ एपलाई फलो गर्न थालेका छन्।

भारतीय सूचना प्रविधि मन्त्री रविशंकर प्रसादका अनुसार हाल 'कु'मा उनका ५ लाख भन्दा धेरै फलोअर छन्। उनको मन्त्रालयले बिगत केही दिनमा डेढ लाख भन्दा बढी फलोअर पाइसकेको छ।

'हामी भारतीय एपमा यस्तो किसिमको झुकावबाट निकै उत्साहित महसुस गरिरहेका छौं,' उनले भनेका छन्।

कु र पार्लरजस्ता नयाँ एपले ट्विटरलाई भने प्रतिस्पर्धी र चुनौती दुवै बढेको छ।