गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तीन महिनामा बनिसक्ने, उडान संचालनको के छ तयारी ?

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७७ फागुन ७ गते १२:४७ | Feb 19, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत भैरहवामा निर्माणाधीन गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अबको तीन महिनाभित्र तयार हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

निर्माण पूरा भएको थप तीन महिनाभित्र अर्थात् अबको ६ महिनामा यसलाई सञ्चालनमा ल्याइसक्ने योजनाअनुरूप जनशक्ति व्यवस्थापनको कामसमेत सुरु भइसकेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले बताएका छन्। निर्माणको अन्तिम चरणमा पुगेसँगै प्राधिकरणले विमानस्थल सञ्चालनमा ल्याउनका लागि पूर्वतयारी सुरु गरेको उनले जानकारी दिए। 

'विमानस्थल निर्माण सम्पन्न भएपछि सञ्चालनमा आउन थप तीन महिना लाग्नेछ,' उनले भने। विमानस्थलभित्र कन्फेक्सनरी सप र ड्युटी फ्री लगायतका आउटलेट राख्नका लागि छिटै टेन्डर आह्वान गर्ने तयारीमा प्राधिकरण छ।

प्राधिकरणले आफ्नो दरबन्दी संरचना परिवर्तन गरेर विमानस्थलका लागि कर्मचारी तयार गरिसकेको उनले जानकारी दिए। प्रशासन, फायर सेफ्टी, इलेक्ट्रिकल, एटिसी, इन्जिनीयर लगायत विभागका लागि विभिन्न पदमा ९० जनाभन्दा बढी कर्मचारी तयार गरिसकेको पनि क्षत्रीले बताए।

विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार आइसीवी जिरो वन (०१) अन्तर्गत एयर कन्डिसनको कामका लागि आउन लागेका चिनियाँ जनशक्ति चीनबाट हिँडेको भए पनि उनीहरु नेपाल आइपुगेका छैनन्। फ्लाइटमा कोभिड देखिएपछि उनीहरु चीन नै फर्किएका थिए।

यसैले एयर कन्डिसन प्रविधि जडानका लागि चिनियाँकै समन्वयमा हाललाई उनीहरुको विकल्पस्वरुप भारतीय प्राविधिक ल्याएर काम अघि बढाइएको छ। केही चिनियाँ जनशक्ति एक साताभित्र निर्माण साइटमा आउने तयारी रहेको बताइएको छ ।

हाल यस विमानस्थलको प्राविधिक काम साइट उपस्थित हुनसक्ने जनशक्तिको संख्याअनुसार भइरहेको छ। 'सबै प्राविधिकहरु एकैचोटी आउने सम्भावना नभएकाले उपलब्ध प्राविधिक जनशक्तिहरुबाट बाँकी कामहरु भइरहेको छ,' अधिकारीले भने।

यसैगरी आइसीवी जिरो टु (०२) अन्तर्गतको नेभिगेसनल सिस्टम जडानका लागि अमेरिकाबाट दुईजना प्राविधि विज्ञ आउने योजना रहेको प्रोजेक्ट म्यानेजर प्रवीण न्यौपानेले बताए। 'आइसीवी जिरो टुको प्रमुख लक्ष्य (माइलस्टोन) अन्तर्गत भीओआरडीएमई र आइएलएस जडान सुरु हुन्छ। उताबाट दुईजना एक्स्पर्ट आएसँगै यहाँ भएका छजना प्राविधिक र लोकल टिमको सहभागितामा यो काम अगाडि बढ्नेछ,' उनले भने।

आइसीवी जिरो वन र जिरो टु अन्तर्गत सबै उपकरण जडानपछि फ्लाइट क्यालिब्रेसन गरिने उनले जानकारी दिए। प्राविधिकरूपमा अबको चार महिनामा विमानस्थल सञ्चालनयोग्य बनाउने लक्ष्य रहेको उनले जानकारी दिए।

'इन्स्टलेसनका लागि एकदेखि दुई महिनाको समय लाग्छ। त्यसपछि परीक्षणको काम हुन्छ। केही समस्या भएन भने परीक्षणका लागि दुई दिन जहाज उड्नेछ। त्यसपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले र प्राधिकरणकै एटीएम (एयर ट्रान्सपोर्ट डिपार्टमेन्ट) विभागले बनाएको फ्लाइट प्रोसिड्योर परीक्षण गराउनुपर्ने हुन्छ,' न्यौपानेले भने,'प्राविधिक दृष्टिले हामी अब परियोजनाको माइलस्टोनमा पुग्ने सम्भावना धेरै छ।'

विशेष प्रकारको जहाजमार्फत फ्लाइट क्यालिब्रेसन 
विमानस्थल परियोजनाका मेनेजर न्यौपानेका अनुसार फ्लाइट क्यालिब्रेसनका लागि बिचक्राफ्टको विशेष किसिमको जहाज प्रयोग गरिनेछ, जसमा विशेष एभियोनिक्स राखिएको हुन्छ।

'उपकरण जडानका तालिकाहरु सबै आइसकेको छ। अब फ्लाइट क्यालिब्रेसनको मिति भने निश्चित गर्न बाँकी छ,' न्यौपानेले भने। 
जडानको काम सुरु भएको दुई साताभित्र निरीक्षणका लागि अष्ट्रियाबाट प्राविधिक विज्ञ ल्याउने योजना रहेको उनले जानकारी दिए। यसका लागि बिहीबार आयोजनाले भिसा अप्रुभलको प्रक्रिया सुरु गरिसकेको उनले बताए।

'अप्रिलभित्रै फ्लाइट क्यालिब्रेसन गर्ने टार्गेट हो। तर अहिलेसम्म हामीले युरोप, अमेरिकाबाट आएको उपकरण खोलेका छैनौं। यदी त्यसमा कुनै त्रुटि देखियो भने तत्काल पाउन गाह्रो हुन्छ। त्यसैकारण प्रणाली जडान नगरी हामीले सुनिश्चित गर्न सकेका छैनौं,' उनले भने। 

प्राधिकरणले १५ दिनभित्र जडानको परिदृष्य टुंगो लगाउने तयारी रहेको बताएको छ। त्यसपछि दुई महिनाभित्रै जडानको काम सक्ने योजना छ भने त्यसपछिको एक महिना परीक्षणका लागि राखिनेछ। 

एयर रुट पर्मिटको बाधा फुकाउन भारतसँग छलफल

प्राधिकरणका अनुसार, पछिल्लो समय श्रीलंकन एयरलाइन्स, म्यानमार एयरवेज, कतार एयरवेज र फ्लाइ दुबई लगायतका वायुसेवा कम्पनीले यो विमानस्थलबाट उडान गर्न चासो देखाइरहेका छन्। 

आयोजनाले थाइल्याण्डको थाइ एयरवेजका साथै भारत, अस्ट्रेलिया लगायत मुलुकका वायुसेवा कम्पनीसँग पनि उडान संचालनका लागि पत्राचार गरिरहेको छ। तर यो विमानस्थल संचालनमा आउनका लागि भारतले एयर रुटको अनुमति पनि दिनुपर्ने छ ।

अहिलेसम्म भारतले यसमा 'ग्रीन सिग्नल' दिएको छैन। यसकारण गौतम बुद्ध विमानस्थल तयार भएर पनि संचालनमा ल्याउनका लागि भारततर्फको एयर रुट पर्मिट सबैभन्दा ठूलो समस्या देखिएको छ।

यसका  लागि प्राधिकरणले भारतसँग समन्वय गरिरहेको क्षत्रीको भनाइ छ। 'आइएफआर डिपार्चर हुँदा इण्डियामा अलिकति छोएको कुरा भएको छ। त्यो विषयमा नेगोसिएसन गर्नु पर्नेछ,' उनले भने । यसबाहेक यो विमानस्थलबाट उडान संचालनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को पनि स्वीकृति लिन बाँकी नै छ। भारत र आईकाओ दुवैबाट स्वीकृति पाएपछि यो विमानस्थलमा नियमित उडान सुरु हुने प्राधिकरणको भनाइ छ।     

क्षत्रीका अनुसार, विमानस्थल संचालनमा ल्याउनुपूर्व अध्यागमन, भन्सार लगायतका निकायसँग कर्मचारी दरबन्दी खुला गराउनका लागि पत्राचार सुरु भइसकेको छ। 'उहाँहरुले कर्मचारी डिपोट गरिसक्नुभएको छ। विमानस्थल संचालनमा नभएर मात्र कर्मचारी नपठाउनुभएको हो। विमानस्थल निर्माण सम्पन्नपछि पुनः छलफल भएपछि उहाँहरुले जनशक्ति पठाउनुहुनेछ,' प्रवक्ता क्षत्रीले भने।

विमानस्थल तत्काल विदेशीलाई नदिने, प्रतिस्पर्धाबाट सञ्चालक कम्पनी छनोट
गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा तत्काल विदेशी कम्पनीलाई नदिइने भएको छ। नागरिक उड्डयन प्राधिकरणले यो विमानस्थल सञ्चालनका लागि विदेशी कम्पनीलाई जिम्मा दिने योजना रद्द भएको प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरव आयोजना प्रमुख प्रदीप अधिकारीले बताए।

'विमानस्थल व्यवस्थापनको प्रस्ताव उतैबाट आएको थियो। सरकारले प्रक्रियाअनुसार आवेदन खुलाएर कम्पनी छनोट गर्ने निर्णय गरेको छ। अहिले चलरहेको प्रक्रिया रद्द भएको हो। अब विधिसम्मत ढंगले पुनः सुरु गर्ने निर्णय भएको छ,' अधिकारीले भने ।

यसका लागि इच्छुक कम्पनीहरुबाट आशयपत्र माग गरेर त्यसका आधारमा पुनः यसको प्रक्रिया सुरु गर्ने तयारी रहेको उनले बताए।