हवाई इन्धन मूल्य बढेसँगै उडान गन्तव्यमा पनि बढ्यो भाडा, सरचार्ज अधिकतम ९० रुपैयाँसम्म वृद्धि 

बिजमाण्डू
२०७७ फागुन ७ गते १५:४५ | Feb 19, 2021
हवाई इन्धन मूल्य बढेसँगै उडान गन्तव्यमा पनि बढ्यो भाडा, सरचार्ज अधिकतम ९० रुपैयाँसम्म वृद्धि 

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धन मूल्य बढाएसँगै वायुसेवा प्रदायक कम्पनीले पनि हवाई भाडादर बढाएका छन्।

पछिल्लो समय हवाई इन्धनको मूल्य बढे पनि अब वृद्धि हुने हवाई भाडादरले यात्रुलाई खासै महंगो नपर्ने दाबी वायुसेवा कम्पनीहरूको छ।
'यस्तो प्रतिस्पर्धामा सरचार्ज बढे पनि हवाई भाडादर घट्ने सम्भावना निकै न्यून छ। सरचार्ज बढे पनि सस्तै भाडादरमा यात्रुले सेवा लिन सक्नेछन्,' एक वायुसेवा कम्पनीका कर्मचारीले भने। 

वायुसेवा सञ्चालक संघले तयार पारेको विवरण अनुसार कुल एक सय एक आन्तरिक रुटमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँले सरचार्ज वृद्धि भएको छ। सरचार्ज यात्रुले टिकटका लागि तिर्ने भाडादरमै जोडिन्छ। 

'पहिला हवाई इन्धनको मूल्य ६५ रुपैयाँ थियो अहिले ६७ रुपैयाँ कायम भएको छ। त्यसैलाई आधार मानेर सरचार्ज निर्धारण गरिएको छ। कम्तीमा १० रुपैयाँ देखि अधिकतम ९० रुपैयाँले सरचार्ज वृद्धि भएको छ,' संघका प्रवक्ता योगराज शर्मा कँडेलले भने।

संघको विवरण अनुसार अधिकतम सरचार्ज वृद्धि हुने रुट काठमाडौं-धनगढी छ। यो रुटको सरचार्ज ९० रुपैयाँले वृद्धि भएको छ। यसैगरी न्यूनतम सरचार्ज वृद्धि भएको रुट अन्तर्गत धनगढी-महेन्द्रनगर र डोटी-साँफेबगर छन्। यी रुटको सरचार्ज १० रुपैयाँले वृद्धि भएको छ। 

आयल निगमले गत मंगलबार इन्धनको नयाँ मूल्य सार्वजनिक गरेसँगै संघले शनिबारदेखि लागू हुनेगरी नयाँ सरचार्ज लागू गर्न लागेको जनाएको छ। संघले तयार पारेको सरचार्ज दर प्राधिकरणबाट स्वीकृत भइसकेको जनाइएको छ।