चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठको ‘अलेभ कबाब सल्टनेट’ रेष्टुरेन्ट, पोखरामा पनि आउटलेट खोल्ने

बिजमाण्डू
२०७७ फागुन २३ गते १५:३४ | Mar 7, 2021
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठको ‘अलेभ कबाब सल्टनेट’ रेष्टुरेन्ट, पोखरामा पनि आउटलेट खोल्ने


Tata
GBIME
Nepal Life

काठमाडौं। मध्यपूर्वका विभिन्न मुलुकका परिकार पस्कने  मेनुसहित टंगालवुडस्थित 'अलेभ कबाब सल्टनेट' आइतबारदेखि सञ्चालनमा आएको छ।

करिब दुई करोड रुपैयाँ लागतमा संचालनमा आएको रेष्टुरेन्टमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ, कृष्ण पौडेलसहित पाँच जनाको लगानी छ। 'हलाल' खाना केन्द्रित रेष्टुरेन्टमा ग्राहकले कबाब, बाकलाभा, डोल्का, दही, डोनर-कबाब, सौर्मा लगायतका परिकारको स्वाद लिन सक्ने पौडेलले जानकारी दिए।

'मिडल इस्ट कुजिनलाई प्राथमिकत दिएका छौं। विशेषगरी हलाल खाना हामी पस्कन्छौं,' उनले भने, 'विश्वव्यापी रूपमै हलाललाई स्वस्थ्यवर्द्धक खाना मानिन्छ। ग्राहकले हामीकहाँ शाकाहारी, मांसाहारी र मिठाइ लगायत तीन किसिमका परिकार पाउने छन्।' आन्तरिक तथा बाह्य पर्यटकसँगै मध्यपूर्व क्षेत्रमा लामो समय बस्दै आएका नेपालीलाई उही किसीमका  स्वाद पस्किने अवधारणामा यो रेष्टुरेण्ट संचालनमा ल्याइको उनले बताए।

'मध्यपूर्वीय खाना युरोपको सभ्यतासँग जोडिएको छ। परिकार तयारीका लागि ६० प्रतिशत इन्ग्रिडियन्ट्स (मसाला) विदेशबाटै ल्याइँदै आएको छ,' उनले भने। एकपटकमा ६० जनालाई सेवा दिने क्षमताको रेष्टुरेन्टमा हाल १५ जना जनशक्ति छन्। उनका अनुसार परिकार तयारीका लागि रेष्टुरेन्टमा टर्कीका एक जना कन्सल्ट्यान्ट सेफ राखिएको छ भने सेफ प्रकाश कटुवालले किचेनको  मुख्य जिम्मेवारी सम्हालेका छन्।

'पछिल्लो समय नेपालमा पनि परिवारले घर बाहिर खाने चलन बढ्दै छ। यो अवस्थामा हामीले नौला कजिन प्रयोगकै रूपमा ल्याउनु राम्रै ठानेका छौं।' उनले भने, 'स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै सेवा दिन थाल्यौं। एक पटक आउनुभएका ग्राहक पटक पटक आउनुहुन्छ भन्ने विश्वास लिएका छौं।'

उनका अनुसार हम्मुस, फालाफेल, ताहिनी लगायतका परिकार अधिक रुचाइने परिकार रेस्टुरेन्टको मेनुमा पाइने छ।