उपत्यकामा आगो निभाउने साढे ५ सयभन्दा बढी फायर हाइड्रेन्ट, परीक्षणको तयारीमा

उन्नत सापकोटा/बिजमाण्डू
२०७७ फागुन २४ गते ०९:०० | Mar 8, 2021
उपत्यकामा आगो निभाउने साढे ५ सयभन्दा बढी फायर हाइड्रेन्ट, परीक्षणको तयारीमा

Tata
GBIME
Nepal Life

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा बिछ्याइएका पाइपलाइनमा जोडिएका फायर हाइड्रेन्ट परीक्षणको प्रतीक्षामा छन्। मेलम्ची खानेपानी परियोजनाअन्तर्गत रहेको आयोजना कार्यान्वयन निर्देशनालयले अधिकांश स्थानमा फायर हाइड्रेन्ट जडानको काम सकिएको जनाएको छ।

शनिबार परीक्षणस्वरुप मेलम्चीको पानी सिन्धुपाल्चोक हुँदै सुन्दरीजल झर्ने क्रम सुरु भइसकेको छ। सुन्दरीजलबाट पानीलाई प्रशोधन गरी काठमाडौंमा पानी बाँड्ने योजना सरकारको छ। तर, अहिलेसम्म खानेपानी वितरणलाई वैज्ञानिक हिसाबले नियन्त्रण गर्न आवश्यक 'स्काडा' प्रणाली जडान नभएकाले घरघरमा कहिले पुग्छ भन्ने अनिश्चितता कायमै छ। 

खानेपानीसँगै मेलम्चीकै पानीले काठमाडौं उपत्यकाको अग्नि सुरक्षा सुधार गर्ने योजना सरकारको छ। उपत्यकामा आगलागीको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले नै फायर हाइड्रेन्ट जोडिएका छन्। तर, मेलम्चीको पानी नआएपछि जडान भएका फायर हाइड्रेन्ट अलपत्र छन्। फायर हाइड्रेन्ट मुख्य गरी आगलागी नियन्त्रणकै लागि उपयोग गरिने बताइएको छ। 

निर्देशनालयले काठमाडौं र ललितपुरका २३५ स्थानमा करिब ५७८ हाराहारी फायर हाइड्रेन्ट जडान गर्ने योजना बनाएको थियो। निर्देशनालयले आवासीय र व्यापारिक क्षेत्र गरी फायर हाइड्रेन्ट जडान गरेको छ। निर्देशनालयले वितरण नेटवर्क सुधार प्याकेजअन्तर्गत रहेका चार वटा प्याकेजमार्फत् ९ सय ८३ किलोमिटर पाइपलाइन जडान गरिसकेको जनाएको छ। यसको कुल लम्बाइ एक हजार १९ किलोमिटर छ। केही महिनाभित्रै पाइपलाइन विस्तारको काम सक्ने तयारी निर्देशनालयको छ। यही पाइपलाइन प्रणालीमा फायर हाइड्रेन्ट जोडिएका छन्।

काठमाडौं र ललितपुर रिङरोड भित्रका आवासीय क्षेत्रहरुमा दुई सय ८१ र व्यापारिक क्षेत्रमा दुई सय ९७ फायर हाइड्रेन्ट जडान गर्ने योजना भए पनि ठाउँ नमिलेर जडान नभएकाबाहेक अरु स्थानहरुमा सकिएको मेलम्ची परियोजना आयोजना कार्यान्वयन निर्देशनालयका परियोजना संयोजक नन्दबहादुर खनालले बिजमाण्डूलाई बताए।

'यो संख्यामा केही थपघट हुन सक्छ। कसैको गेट अगाडि, पर्खाल वा नमिलेको ठाउँमा बाहेक अरु स्थानमा जडान भइसकेका छन्,' खनालले भने। निर्देशनालयले फायर हाइड्रेन्ट जडान गर्न चार करोड रुपैयाँभन्दा बढी खर्चेको जनाएको छ। 

विश्वका अधिकांश देशहरुले सहरी क्षेत्रमा वितरण गर्न बनाइएको खानेपानी प्रणालीमै फायर हाइडेन्ट्र जडान गर्ने गरेका छन्। सोही अभ्यासलाई पच्छ्याउँदै सरकारले पनि काठमाडौंमा मेलम्चीका लागि बिछ्याइएको खानेपानी वितरण प्रणालीमै फायर हाइड्रेन्ट जडान गरेको छ। काठमाडौंमा खानेपानी वितरण गर्न पाइपलाइन जडान गर्ने क्रममै फायर हाइड्रेन्ट जडानको काम पनि सँगसँगै भएको खनालले बताए।

'सुन्दरीजलमा परीक्षणस्वरुप पानी झर्ने क्रम सुरु भएको छ। वितरण प्रणालीमा आउने बित्तिकै हामी फायर हाइड्रेन्ट परीक्षण गर्ने तयारीमा छौं,' खनालले भने। 

जडान गरिएका फायर हाइड्रेन्टको अवस्था कस्तो छ पानी आएपछि मात्रै तय गर्न सकिने उनले बताए। फायर हाइड्रेन्टको अवस्था कस्तो छ भन्ने बारे निर्देशनालय आफैं भने बेखबर देखिन्छ। जडान गरिएका केही फायर हाइड्रेन्ट हराएको वा फुटाइएको पनि हुन सक्ने आशंका खनालले गरे।

निर्देशनालयले २०७४ बाट तीन प्रकारका फायर हाइड्रेन्ट जोड्न थालेको थियो। आवासीय क्षेत्रका लागि 'एचआर' तथा व्यापारिक क्षेत्रका लागि 'एचसी १' र 'एचसी २' फायर हाइड्रेन्ट जडान गरिएका छन्। 

'एचसी १' अन्डरग्राउण्ड हुनेछ भने अन्य दुई प्रकारका फायर हाइड्रेन्ट जमिनको सतहभन्दा माथि हुने खनालले जानकारी दिए। बाटोको छेउछाउ ठड्याइएका सुन्तला रङका पाइप जस्ता सामाग्री नै फायर हाइड्रेन्ट हुन्। नयाँ वितरण प्रणालीअन्तर्गत बिछ्याइएका पाइपलाइनमा मात्रै फायर हाइड्रेन्ट जडान गरिएका छन्। 

मेलम्चीका लागि भनेर निर्माण गरिएको वितरण प्रणाली अर्थात् पाइपलाइन रिङरोड बाहिरका क्षेत्र र भक्तपुरमा विस्तार नभएकाले त्यस क्षेत्रमा फायर हाइड्रेन्ट जडान गरिएका छैनन्। फायर हाइड्रेन्ट जडान भएपछि दमकल वा ट्याङ्करलाई पानी लोड गर्न समस्या हुने छैन।

आगलागी स्थल नजिकै रहेको फायर हाइड्रेन्टबाटै दमकलले सोझै पानी लोड गर्ने सक्ने छन्। जसका कारण क्षति न्यून हुने अपेक्षा गरिएको छ। काठमाडौंको जनघनत्व र भौतिक संरचनाका कारण दमकलको संख्या पर्याप्त नभएकाले फायर हाइड्रेन्ट आगलागी नियन्त्रणका लागि उपयोगी बन्ने देखिन्छ।