सुनचाँदीको मूल्यमा सोमबार झिनो वृद्धि, १०० बढ्दा तोलाको ८६ हजार २००, चाँदीमा १५ रुपैयाँ बढ्यो

बिजमाण्डू
२०७७ फागुन २४ गते १२:१७ | Mar 8, 2021
सुनचाँदीको मूल्यमा सोमबार झिनो वृद्धि, १०० बढ्दा तोलाको ८६ हजार २००, चाँदीमा १५ रुपैयाँ बढ्यो



काठमाडौं। लगातार घट्न थालेको सुनको अन्तर्राष्ट्रिय बजारमा सोमबार सामान्य सुधार भएको छ।

Tata
GBIME
Nepal Life

आइतबार प्रतिऔंस १७०१.०९ डलरमा कारोबार भएको सुन सोमबार १७०७.८७ पुगेको छ। यसअघि घटेको कारोबार गत शुक्रबार १६९२.७९ डलर प्रतिऔंससम्म पुगेको थियो। शुक्रबारको कारोबार हेर्दै लगातार घट्ने लगानीकर्ताको आकलन विपरीत सुनको कारोबारमा सामान्य सुधार देखिएको हो। 

नेपाली बजारमा सोमबार सुन एक सय रुपैयाँ बढेर कारोबार मूल्य प्रतितोला ८६ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमै ठूलो अंकको घटबढ नभएकाले भाउ सामान्य मात्रै बढेको हो। 

यसअघि गत शुक्रबारका तुलनामा आइतबार ५ सय रुपैयाँले बढ्दा प्रतितोला ८६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रबारसम्म मूल्य घट्दै प्रतितोला ८५ हजार ५ सय रुपैयाँसम्म आइपुगेको थियो।

सोमबार चाँदीमा पनि सामान्य बढोत्तरी छ। आइतबारभन्दा १५ रुपैयाँ बढ्दा प्रतितोला १२ सय ६५ रुपैयाँ भएको छ। गत आइतबार प्रतितोला १२ सय ५० रुपैयाँमा स्थिर थियो।

अन्तर्राष्ट्रिय बजारमा गत शुक्रबार २५.१७ डलर प्रतिऔंसमा कारोबार भएको चाँदी सोमबार बिहान २५.६२ डलर पुगेको छ। यसअघि आइतबार प्रतिऔंस २५.२४ डलरमा कारोबार भएको थियो।