माग बढेसँगै भारतमा निसान म्यागनाइट ३० हजार महंगियो, नेपालमा पनि मूल्य समायोजन हुने

बिजमाण्डू
२०७७ फागुन २४ गते १४:४६ | Mar 8, 2021
माग बढेसँगै भारतमा निसान म्यागनाइट ३० हजार महंगियो, नेपालमा पनि मूल्य समायोजन हुने

Tata
GBIME
Nepal Life

एसयुभी भेरियन्टमा ल्याइएको नयाँ मोडल 'म्यागनाइट'को माग अत्यधिक भएसँगै निसानले भाउ बढाएको छ। 

जापानी सवारी उत्पादक कम्पनी निसान मोटर्सको भारतीय सहायक निसान इण्डियाले म्यागनाइट टर्बो पेट्रोल भेरियन्टको बजार मूल्य ३० हजार रूपैयाँ बढाएको हो। 

यो गाडी भारतीय बजारमा दुई महिना अघि मात्रै सार्वजनिक गरिएको हो। यतिखेर टर्बो पेट्रोल मोडलको बजार मूल्य हेरफेर भएको छ। गत डिसेम्बरमा निसानले  म्यागनाइटको सुरुवाती मूल्य चार लाख ९९ हजार भारु निर्धारण गरेको थियो।

यतिबेला म्यागनाइट अन्तर्गत टर्बो पेट्रोल भेरियन्टको आधिकारिक  बजार मूल्य साढे सात लाखदेखि पौने १० लाख भारू निर्धारण गरिएको छ।एसयुभी सेग्मेन्टमा सस्तो र उच्च प्रविधियुक्त दाबी गरेको म्यागनाइट निसानले बजारमा ल्याएका गाडीमध्ये पछिल्लो मोडल हो। भारतीय बजारमा यो गाडीको बिक्री उत्साहजनक रहेको कम्पनीले जनाएको छ।  

भारतमा सार्वजनिक गरिएको टर्बो पेट्रोल म्यागनाइटको नयाँ मूल्य टर्बो एमटी एसक्सएल ७ लाख २९ हजार, एक्सभी ८ लाख १२ हजार, एक्सभी प्रिमियम ८ लाख ८९ हजार, सीभीटी एक्सएल ८ लाख १९ हजार,  सीभीटी एक्सभी ९ लाख २ हजार र सीभीटी एक्सभी प्रिमियम अब ९ लाख ७९ हजार भारु पर्नेछ।  

अत्यधिक माग आएसँगै यतिखेर ४० हजार वटाभन्दा बढी गाडीको अग्रिम बुकिङ लिन सफल भएको कम्पनीले जनाएको छ। भारतीय बजारमा नयाँ मोडल बिक्री सुरू गरेयता हालसम्म ६ हजार पाँच सय युनिट गाडी ग्राहकलाई हस्तान्तरण गरिएको निसान इन्डियाले जनाएको छ। 

कम्पनीले आउँदो ६ महिनाभित्र भेरियन्ट अनुसार अग्रिम बुकिङ गरेका सबैलाई गाडी हस्तान्तरण गर्ने योजना सार्वजनिक गरेको छ। ग्राहकको माग धान्न कम्पनीले तामिलनाडुको अर्गादामस्थित तेस्रो प्लान्टमार्फत उत्पादन सुरु गरिसकेको छ। 

कम्पनीले फेब्ररीमा मात्र चार  हजार दुई सय ४४ वटा गाडी बिक्री गरेको जनाएको छ। यो महिना म्यागनाइटकै कारण निसानका गाडीको अग्रिम बुकिङ २९ प्रतिशतले बढेको छ। 

नेपालमा पनि मूल्य बढ्ने 

जापानबाट भित्रिने निसानका गाडीहरू यतिबेला भारतबाट ल्याइन्छ। कम्पनीले भारतमै प्लान्ट राखेपछि नेपाली बिक्रेतालाई ढुवानी सहज भएको हो। अब भारतमै मूल्य बढेको असर नेपालमा पनि परेको छ।

उत्पादकबाट आएको सूचीअनुसार मूल्य समायोजनको तयारी भइसकेको निसानका गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले जनाएको छ।  कम्पनीले केही दिनमै म्यागनाइटको नयाँ मूल्य सार्वजनिक गर्ने योजना बनाएको पायोनियरकी बजार प्रमुख श्वेता सिलवालले बताइन।

'टर्बो इन्जिनमा प्रयोग हुने सेमी-कन्डक्टरका कारण मूल्यवृद्धि भएको हो। यहाँ पनि यसको मूल्य बढ्ने देखिएको छ,' उनले भनिन्, 'यसका लागि कम्पनीले अध्ययन सुरु गरिसकेको छ। केही दिनमै नयाँ मूल्य सार्वजनिक हुनेछ।'   

सब–फोर मिटर कम्प्याक्ट एसयूभीका रूपमा परिचित निसान म्याग्नाइटका दुई भेरियन्ट पेट्रोल इन्जिन अप्सनमा उपलब्ध छ। जसमा १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७२ पीएस पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ भने १.० लिटर टर्बो पेट्रोल इन्जिनले १०० पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ। दुवै इन्जिनमा फाइभ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड छ भने टर्बो इन्जिनमा सीभीटी गियरबक्स अप्सनसमेत उपलब्ध छ।

कम्पनीका अनुसार सीभीटी गियरबक्सयुक्त इन्जिनले भने १५२ एनएम टर्क जेनेरेट गर्दछ। दुई साताअघि कम्पनीले नेपाली बजारमा म्यागनाइट सार्वजनिक गरेको थियो। ग्राहक प्रतिक्रिया राम्रो पाइरहेको पायोनियर मोटोकर्पले जनाएको छ।