पहिरोको डरले कान्ति राजमार्गको पाँच किलोमिटर कालोपत्र रोकियो, आवतजावतमा समस्या नहुने

रासस
२०७७ फागुन २४ गते १४:२३ | Mar 8, 2021
पहिरोको डरले कान्ति राजमार्गको पाँच किलोमिटर कालोपत्र रोकियो, आवतजावतमा समस्या नहुने

Tata
GBIME
Nepal Life

काठमाडौं। कान्ति राजमार्गमा झण्डै पाँच किमी सडक अझै केही वर्ष कालोपत्र नहुने भएको छ।

वर्षेनी वर्षाका कारण सडक अवरुद्ध हुने गरेकाले तत्कालका लागि कालोपत्र नगरिने कान्ति राजमार्ग योजना कार्यालयले जनाएको छ। अहिले तत्काल कालोपत्र नगरिने सडकमध्ये धेरै भाग ललितपुर र थोरै भाग मकवानपुरमा पर्छ।

 छपेली र आसपासका क्षेत्रमा कालोपत्रे नहुने आयोजनाका सूचना अधिकारी दिपेश रजकले बताए। अहिले तत्काल कालोपत्र नहुने थोरै सडक खण्ड मकवानपुरमा पनि रहेको छ। एक किलोमिटर सडक कालोपत्र गर्दा झण्डै डेढ करोड लगानी हुने भएकाले त्यो रकम खेर जान नदिन तत्काल कालोपत्र नगर्ने योजना बनाइएको हो।

 कुनै पनि ठाउँमा सडक खनेपछि केही वर्षसम्म पहिरो जाने गरे पनि केही वर्षपछि त्यहाँको माटो स्थिर भएर रहन्छ। उनले भने-‘अबको केही वर्षमा पहिरो जान रोकिएपछि कालोपत्र गर्न सकिन्छ।‘ अहिले कालोपत्र नगरिने सडकमा पनि ग्राभेल गरिने भएकाले स्थानीयवासीलाई आवतजावतमा समस्या नहुने योजनाका रजकले बताए।

उनका अनुसार त्यो स्थानमा ग्राभेल, सडक छेउमा नाली बनाउने लगायतका अरु सबै किसिमका काम हुनेछ। यो सडकमा वर्षेनी वर्षाको समयमा सडक माथिबाट आउने पहिरोका कारण सडक अवरुद्ध हुने गरेको छ। पहिले एक लेनको सडक दुई लेनको बनाउँदा सडकमा पहिरो आइरहेको हो।

सडक ट्याक खुलेको लामो समयसम्म पनि कच्ची सडकका रुपमा रहेको यो सडकमा अहिले धमाधम कालोपत्रको काम भइरहेको छ। चालू आवभित्रै त्यही पाँच किमी सडकबाहेक अन्यत्र सडक कालोपत्र गरिसक्ने योजनाको लक्ष्य बताइएको छ।

सडक दुई लेन बनाइए पनि अहिलेसम्म राजमार्गमा रहेका तीन पुल एक लेनका छन्। पुललाई पनि बिस्तार गरिने योजनाले जनाएको छ। सडक विभागले गत आवमा सो सडकलाई पहिलो प्राथमिकताको सडक (पि वान) बाट राष्ट्रिय राजमार्गमा स्तरोन्नति गरेको थियो। उक्त सडक काठमाडौँलाई तराईसँग जोड्ने छोटो सडकमा पर्छ।