कोभिडले बन्द भएको होटल नमस्कार नयाँ स्वरूपमा आउँदै, मुनका सञ्चालकको व्यवस्थापन

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७७ फागुन २४ गते १४:३६ | Mar 8, 2021
कोभिडले बन्द भएको होटल नमस्कार नयाँ स्वरूपमा आउँदै, मुनका सञ्चालकको व्यवस्थापन

Tata
GBIME
Nepal Life

विराटनगर। कोभिड–१९ को महामारीका कारण गत असोज महिनामा बन्द गरिएको ‘होटल नमस्कार’ नयाँ स्वरूप र व्यवस्थापनका साथ आगामी वर्षदेखि सञ्चालनमा आउने भएको छ।

विराटनगरमा चार दशकभन्दा लामो इतिहास बोकेको पर्यटकस्तरीय ‘होटल नमस्कार’ अब ‘नमस्कार रिजेन्सी’का नामले सञ्चालन हुने भएको हो। नमस्कार रिजेन्सीको सञ्चालन विराटनगरकै अर्को पर्यटकीय होटल ‘मुन होटल’का सञ्चालक विजय प्रसाईंले गर्नेछन्। प्रसाईंले घरजग्गाका धनी काठमाडौंका कृष्णगोपाल श्रेष्ठसित १५ वर्षका लागि लिजमा लिएका छन्। भवनको जीर्णोद्धार र मर्मतको काम सुरु भइसकेको छ।

विराटनगरको प्रमुख चोकमध्येको ट्राफिक चोकमा धरानका समाजसेवी एवम् निर्माण व्यवसायी राजकुमार श्रेष्ठले २०३७ सालदेखि ‘होटल नमस्कार’ सञ्चालन गरेका थिए। २०४४ मा उनको निधन भएपछि छोराद्वय युवराज र राजनले होटललाई निरन्तरता दिए।

राजनले २०५१ मा विराटनगरकै रोडशेषमा अर्को ‘होटल स्वागतम’ खोले र छुट्टै व्यवसाय सञ्चालन गरे। यसपछि युवराजले एक्लैको काँधमा ‘नमस्कार’ को दायित्व आइलाग्यो। २०६९ मा युवराजको निधन भएपछि छोरा युनेशमा होटल सञ्चालनको अभिभारा आयो। उनले चलाउन नसक्दा बन्द भएको थियो।

संघर्ष गरेर  होटलका सञ्चालक बनेका विजय पहिले होटल नमस्कारमै जागिरे थिए। २०५० सालमा २० वर्षका उमेरमा प्रेमविवाह गरेपछि घरबाट निकालिए। होटल नमस्कारमा रिसेप्सनिस्टको जागिर खाए। मासिक एक हजारमा उनले होटलमा काम थाले।विजयले राम्रो पर्फर्मेन्स देखाएका कारण अर्को महिना नै उनको तलब युवराजले १ हजार ५ सय बनाइदिए। यसैबीच विराटनगरकै अर्को मुख्य चोक रोडशेष चोकमा होटल मुनको उद्घाटन २०५३ सालमा तत्कालीन पर्यटन मन्त्री चक्र बास्तोलाले गरे।

मुनकी सञ्चालक उर्मिला श्रेष्ठले विजयलाई होटल म्यानेजरमा अफर गरिन्। उनै विजयले सञ्चालक उर्मिलासित २०५७ देखि होटल मुन ठेक्कामा लिएर सञ्चालन गरिरहेका छन् । ‘तर होटल नमस्कारसित मेरो सेन्टिमेन्टल अट्याचमेन्ट छ, यहाँ मेरो इमोसन जोडिएको छ,’ प्रसाइँले बिजमाण्डूसँग भने, ‘मैले यहीँबाट होटल व्यवसायको करिअर सुरु गरेँ। जे सिकेँ, यहीँ सिकेँ। होटल व्यवसायका मेरा गुरु युवराजले चलाएको र मैले पहिलो जागिर खाएको यो होटल बन्द भएको खबर पढ्दा मेरो मन चसक्क भएको थियो। त्यो खबर पढ्ने बित्तिकै मैले पाएँ भने यो होटल म जसरी पनि सञ्चालनमा ल्याउँछु भन्ने अठोट गरेको थिएँ।’

होटल नमस्कार १८ कट्ठा जमिनमा छ। जसमध्ये २ कट्ठा ४ धुर क्षेत्रमा होटलको मुख्य भवन छ। कार्यक्रमका लागि ठूलो र सानो गरी दुई वटा हल छन्। एउटा होटलभित्र र अर्को बाहिर गरी दुई वटा रेस्टुरेन्ट छन्। होटलमा अट्याच बाथ भएका ३६ वटा कोठा छन्। ८० जना पाहुना सजिलै अटाउन सक्छन्।

‘होटलमा बाहिरबाट देखिने इँटा र सिमेन्टको भवनमात्र पुरानो हो, हामी यसलाई सम्पूर्ण नयाँ स्वरूप दिँदैछौं,' उनले भने, ‘बाथरुममा सबै सामान नयाँ राखिने छन्। एअर कन्डिसन, पलङ, टेबुलकुर्सी, म्याट्रेस, ऐना, टेलिभिजन लगायतका सबै फर्निचर नयाँ हुनेछन्। पहिले बाहिरबाट बिट वाइरिङ थियो, हामीले भित्ता फोरेर अन्डरग्राउन्ड वायरिङ गरेका छौं। बाथरुमको पाइपलाइनको काम पनि पुरानो फालेर अन्डरग्राउन्ड गरेका छौं।’

त्यस्तै होटलको भान्सालाई पनि मोड्युलर कमर्सियल किचनको स्वरूप दिएर अत्याधुनिक शैलीको बनाउने काम भइरहेको उनले जानकारी दिए। होटल भवनको पछाडि ठूलो चउर खालि भएकाले दुई वटा विवाह वा कुनै पनि कार्यक्रम सजिलै गर्न सकिने उनले बताए। प्रसाईंले होटलको जीर्णोद्धार, मर्मतमा १ करोड २५ लाखभन्दा बढी लाग्ने जनाए। उनले छिटोमा वैशाख र ढिलोमा असारदेखि होटलको सञ्चालन सुरु हुने दाबी गरे।