जोन्टा क्लब अफ काठमाडौंले यलो रोज डे मनायो, १२ जना प्रेरणादायी महिलालाई सम्मान

बिजमाण्डू
२०७७ फागुन २४ गते १४:५३ | Mar 8, 2021
जोन्टा क्लब अफ काठमाडौंले यलो रोज डे मनायो, १२ जना प्रेरणादायी महिलालाई सम्मान

Tata
GBIME
Nepal Life

काठमाडौं। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले १२ जना “प्रेरणादायी र साहसी महिला” लाई सम्मान गरेको छ।

आफ्नो वार्षिक कार्यक्रम येलो रोज डे मनाउँदै जोन्टा क्लब अफ काठमाडौंले विभिन्न परिस्थितिका बाबजुद समाजमा आफ्नो परिचय स्थापित गर्न सफल १२ जना महिलाहरुको योगदान र उपलब्धीलाई सम्मान गरेको हो।

कार्यक्रममा प्रिन्सेस हेलेन शाह इन्सपिरेशनल उमन अफ द इयर पुरस्कार मानव तथा महिला तस्करीविरुद्ध लड्ने एसएसपी किरण बज्राचार्यलाई दिइयो।

यसैगरी ब्लाइन्ड रक्सकी संस्थापक सृष्टी केसीलाई अमर राना गेम चेन्जर अवार्ड प्रदान गरिएको थियो। कोभिड हिरोहरुका लागि स्थापना गरिएको रत्नादेवी अवार्ड लिली थापामार्फत एकल महिला समूह 'वुमन फर ह्युमन राइट'लाई प्रदान दिइएको थियो।

यसैगरी कोभिडको समयमा विशेषगरी नवजात शिशु र सुत्केरी महिलाहरुलाई खाना औषधी जस्ता आधारभूत सामाग्री उपलब्ध गराएकी आयुष्मा राणा याकथुम्बाले पनि रत्नादेवी अवार्ड प्राप्त गरिन्।

यसैगरी ज्योति स्कलरशिप अवार्ड सुप्रिमा पौडेल र मेलिशा घिमिरेले प्राप्त गरे।

यस्तै इन्द्रकला स्कलरशिप अवार्ड सस्कृति फुयाल र रेजा थापालाई प्रदान गरियो।

कार्यक्रममा नबिल बैंकले प्रेरणादायक महिलाहरुको शीर्षक अन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न सहयोग पुर्‍याउने ४ जना महिलाहरुलाई ३५ हजार रुपैयाँ समेत दिएको छ।

यी महिलाहरुले परम्परागत रूपमा पुरुष प्रधान क्षेत्रहरुमा काम गरिरहेका छन्। ४ जना महिलाहरुमा कालीकोटमा छाउपडी प्रथाविरुद्ध अभियान चलाएकी १५ वर्षकी शकुन्तलाकुमारी बुढा, नेपालकै पहिलो महिला प्लम्बर सुमित्रा श्रेष्ठ, असनको अन्नपूर्ण मन्दिरकी पहिलो महिला पुजारी सहनशीला शर्मा र काउन्टर इन्सर्जरी एण्ड जंगल वारफेयर ट्रेनिङ गर्ने पहिलो महिला आर्मी राधिका थापालाई नबिल बैंकले ३५ हजार नगदका साथ सम्मान गरेको हो।

जोन्टा क्लब अफ काठमाडौंले महिलाका लागि युवा साक्षरता, बालविवाह अन्त्यका लागि वकालत तथा महिला अधिकारहरुका बारेमा जागरुकता, केटीहरुका लागि आत्म–रक्षा तालिम, जेलका महिला कैदीहरुका लागि शैक्षिक सामाग्री तथा सीप विकास प्रशिक्षण दिँदै आएको छ।

यसैगरी १६ दिने महिला हिंसाविरुद्धका गतिविधि, सरसफाई परियोजना तथा शौचालय निर्माण, केटी र महिलाहरुका लागि शैक्षिक संस्थामा पुग्नका लागि सहज बनाउन साइकल वितरणसमेत गरेको संस्थाले जानकारी दिएको छ।