सौराहाको बनवास रिसोर्ट सांसद उमेश श्रेष्ठले किने, रिसोर्ट ५ महिनाभित्र संचालनमा आउने

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७७ फागुन २४ गते १५:२६ | Mar 8, 2021
सौराहाको बनवास रिसोर्ट सांसद उमेश श्रेष्ठले किने, रिसोर्ट ५ महिनाभित्र संचालनमा आउने

Tata
GBIME
Nepal Life

काठमाडौं। सौराहामा निर्माणाधीन रिसोर्ट बनवास कांग्रेसका सांसद एवं व्यवसायी उमेश श्रेष्ठले किनेका छन्।

ठूलो लगानीमा निर्माण भएको रिसोर्ट सौराहाका व्यवसायी वासु ढुंगानाको एकल लगानी थियो। तर लगानी बढ्दै गएपछि ढुंगानाले श्रेष्ठलाई किन्न प्रस्ताव गरेका थिए। स्रोतका अनुसार रिसोर्टको ५० प्रतिशत हिस्सा किन्न सहमति भइसकेको र केही समयभित्रै सम्झौंता हुनेछ। जग्गा बाहेक नै यो रिसोर्ट बनाउँदा २० करोडभन्दा बढी लगानी हुने देखिएको छ।

रिसोर्टको नाममा तीन बिघा जग्गा छ। ढुंगानाले रिसोर्ट बिक्रीका लागि श्रेष्ठसँग छलफल भए पनि सहमति भने भइनसकेको दाबी गरे। ‘रिसोर्ट बिक्रीका बारेमा उमेश श्रेष्ठसँग छलफल भएको सत्य हो। तर बिक्रीका लागि सहमति भने भइसकेको छैन्,’ उनले बिजमाण्डूसँग भने। हाइ इण्ड टुरिस्टलाई लक्षित गर्दै निर्माण भएको यो रिसोर्ट पाँच महिनाभित्रै संचालनमा ल्याउने लक्ष्य राखिएको ढुंगानाले बताए।

कस्तो छ होटल?

तीन बिघा जग्गामा सौराहाको मौलिकतालाई कायम राख्दै रिसोर्ट निर्माण गरिएको छ। थारु संस्कृति झल्कने गरि रिसोर्ट निर्माण गरिएको बताउँदै ढुंगानाले थारुको परम्परागत घरको शैली पछ्याएको जिकिर गरे।

पहिलो चरणमा ३४ वटा कोठा संचालनमा ल्याइने उनले बताउँदै १८ वटा भिल्ला हुने जानकारी दिए।'चितवनको समृद्ध संस्कृति भनेको थारु संस्कृति हो। हामीले थारु संस्कृतिलाई नै झल्काउने कोसिस गरेका छौं,' उनले बिजमाण्डूसँग भने। पर्यावरणमैत्री रिसोर्टको बीचमा मानव निर्मित पोखरी तयार गरिएको छ।

'हामीले रिसोर्टभित्रै ताल निर्माण गरेका छौं। यहाँ स्थानीय जातको बोटबिरुवा रोपिसकेका छौं। 'वनको जस्तै अनुभूति' दिने यी बोटबिरुवा हुर्किसकेर फल फल्न थालिसकेको छ। कतिपय दुर्लभ चराचुरुङ्गी चारोकै लागि यहाँ बस्न थालिसकेका छन्,' ढुंगानाले भने। चराचुरुङ्गीका लागि रिसोर्टमा निर्मित तालमा स्थानीय प्रजातीका माछा राखिएको उनले जानकारी दिए। रिसोर्टभित्र रोपिएको फलफूल जनावर र चराचुरुङ्गीका लागि रहेको उनले जानकारी दिए।

'चितवनको पर्यटनको केन्द्रविन्दु भनेकै चितवन राष्ट्रिय निकुञ्ज हो। वाइल्डलाइफ र थारु संस्कृतिको अनुभव लिन चाहने पर्यटकलाई मध्यनजर गर्दै यो अवधारणा केन्द्रित रिसोर्ट संचालनमा ल्याउन लागेका हौं। प्रोपर्टीबाटै वाइल्ड लाइफलाई रेस्पेक्ट गरेर दृश्यावलोकन गर्न सकिने अवधारणामा केन्द्रित छौं,’ उनले भने।

यो रिसोर्ट पाँच वर्ष अघि निर्माण सुरु भएको हो। निर्माण सुरु भएपछि विभिन्न समस्या आएर सम्पन्न हुन ढिला भएको बताउँदै अब तोकिएकै समयमा निर्माण सकेर संचालनमा आउने दाबी गरे।