सिएनआइको मेक इन नेपाल अभियान सुरु, सुखी नेपाली, समृद्ध नेपाल नपरेकोमा ओलीको असन्तुष्टी

बिजमाण्डू
२०७७ फागुन २४ गते १९:१६ | Mar 8, 2021
सिएनआइको मेक इन नेपाल अभियान सुरु, सुखी नेपाली, समृद्ध नेपाल नपरेकोमा ओलीको असन्तुष्टी

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग परिसंघले स्वदेशी वस्तु तथा सेवा प्रवर्द्धनका लागि मेक इन नेपाल अभियान सुरु गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अभियान शुभारम्भ गरे।

कार्यक्रममा ओलीलेे सरकारले गर्नुपर्ने काम उद्योगी गरेकोमा प्रशंसा समेत गरे। 'यो अभियान नेपाली जनताको आवश्यकता नेपालबाटै उपलब्ध गराउने उद्देश्य हो। नेपाली सामानको गुणस्तरलाई उच्च बनाउँदै प्रयोग गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ,' उनले भने।

सुखी नेपाली समृद्ध नेपाल नारा नभएकोमा असन्तुष्टि

प्रधानमन्त्री ओलीले सरकारले लिएको सुखी नेपाली समृद्ध नेपाल नारा अभियानमा नपरेको भन्दै असन्तुष्टि पोखे। उनले भने- 'समृद्ध नेपाल भनियो तर सुखी नेपालीको नारा खै कता गयो? मानिसको सबैभन्दा धेरै महत्वपूर्ण कुरा सुख हो। यो कुरा किन राखिएन मैले कुरा बुझ्न सकिन।'

सरकारले पूर्वाधारको विकास गरेकाले परिसंघले अभियान सुरु गर्न सकेको दाबी गर्दै ओलीले देशको कुना काप्चासम्म सरकारले सडक पूर्वाधार विकास गरेकोले अभियान संचालन गर्न सहज भएको बताए।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले देशभरी नै औद्योगिक क्षेत्रको विकास गरेकोले उद्योगीलाई जग्गामा समस्या नहुने बताए। देशका विभिन्न स्थानमा २१ सय विघासम्मको क्षेत्रफलमा औद्योगिक क्षेत्रको विकास गर्ने तयारी सरकारले गरेको उनले बताए।

परिसंघका अध्यक्ष सतिश मोरले अब देशभित्रको उत्पादनलाई नै प्राथमिकता दिने बताए। उनले सधैं आयातित वस्तुको प्रयोगले नेपालको दिगो आर्थिक विकासमा टेवा नदिने भन्दै सबै पक्षले नेपालमा उत्पादित सामाग्रीको प्रयोगमा ध्यान दिनुपर्ने बताए। 

कार्यक्रममा अर्थशास्त्री डा. विश्व पौडेलले दिगो आर्थिक विकासको लागि आवश्यक आधार प्रस्तुत गरे। विगत १० वर्षमा देशको आर्थिक अवस्थामा निकै उतारचढाव आएको भन्दै यसलाई सन्तुलनमा राख्न आवश्यक भएको उनले बताए।

सीएनआइका पूर्व अध्यक्ष हरिभक्त शर्माले स्वदेशी उपयोगको आधार स्तम्भ प्रस्तुत गरे। उनले आफूले स्वदेशमै औषधि उत्पादन गरेको उदाहरण प्रस्तुत गर्दै स्वदेशी उत्पादनको गुणस्तरमा समेत ध्यान दिनुपर्ने बताए। अभियान देशभर चरणबद्ध रूपमा अघि बढाउने परिसंघले जनाएको छ। परिसंघले गैंडालाई आफ्नो अभियानको प्रतीक चिन्हका रूपमा अघि सारेको छ।