अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला चेम्बरको व्यापार मेला, पाँच महिला उद्यमी भए सम्मानित

बिजमाण्डू
२०७७ फागुन २४ गते २२:०६ | Mar 8, 2021
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला चेम्बरको व्यापार मेला, पाँच महिला उद्यमी भए सम्मानित


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल महिला चेम्बरले होटल र्‍याडिसनमा व्यापार मेला गरेको छ।

सो मेलाको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे। कार्यक्रममा उपराष्ट्रपति पुनले सामाजिक राजनीतिक रुपान्तरणमा महिलाहरूको महत्वपूर्ण भूमिका रहे पनि त्यो भूमिकाको बास्तविक सम्मान हुन नसकेको बताए। उनले महिलाहरूद्वारा सञ्चालित उद्यमहरूको प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताए। कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले महिलाहरूद्वारा सञ्चालित फर्म तथा व्यावसायिक प्रतिष्ठानहरूलाई करमा विशेष छुट दिन आग्रह गरे।

कृषि तथा जलविद्युत क्षेत्रमा जस्तै महिला सञ्चालित उद्यम व्यवसायहरूलाई बैंकहरूले ब्याजदर घटाउने गरी सरकारले नीति ल्याउनुपर्ने अध्यक्ष श्रेष्ठले बताए। सरकारले महिलाद्वारा सञ्चालित व्यवसायलाई १५ लाखसम्म बिनाधितो ऋण दिने नीति लिए पनि विभिन्न झन्झट ब्योहोर्नुपरेको उनले बताए। नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले राजनीतिक आर्थिक अधिकार पाए पनि कार्यान्वयन फितलो हुँदा महिलाहरू लाभान्वित हुन नसकेको बताइन्।

कार्यक्रममा नेपालका लागि युरोपियन डेलिगेसनका प्रमुख नोना डेप्रेज, श्रीलंकाका राजदूत हिमाली सुभासिनी अरुना तिलका र अस्ट्रेलियन राजदूत फेलिसिटी जेनिभल्क पनि उपस्थित थिए।  व्यापार मेला बुधबारसम्म चल्नेछ।

व्यवसायी सम्मानित
१११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला चेम्बरले पाँचजना महिला व्यवसायीहरूलाई सम्मान गरेको छ। आईटी एन्ड इन्नोभेसन अवार्डबाट अदिति गोयल सम्मानित भएकी छिन्।

यस्तै बिजनेस मोटिभेटर अवार्डबाट राधालक्ष्मी श्रेष्ठ सम्मानित भएकी छिन्। एग्रो आन्टरप्रेनर अवार्ड झापाको कन्काई महिला ग्रुपले प्राप्त गरेको छ। यस्तै महिला उद्यमी अवार्ड रेखा चौधरी शर्माले प्राप्त गरिन्।