लुम्बिनी गुरुयोजना तीन वर्षमा सक्ने दाबी, बजेट अभावले काम भएन, ओलीको प्रतिबद्धताले काम गरेन

बिजमाण्डू
२०७७ चैत्र ८ गते १७:३४ | Mar 21, 2021
लुम्बिनी गुरुयोजना तीन वर्षमा सक्ने दाबी, बजेट अभावले काम भएन, ओलीको प्रतिबद्धताले काम गरेन

Tata
GBIME
Nepal Life

बुटवल।  गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा सञ्चालनमा रहेको गुरुयोजनाको काम ८० प्रतिशतभन्दा बढी भएको विकास कोषले जनाएको छ। 

गुरुयोजनाको थप काम सम्पन्न गर्न आवश्यक बजेट उपलब्ध हुनसके लुम्बिनी विकास कोषले आगामी तीन वर्षभित्र गुरुयोजना सम्पन्न गर्ने दाबी गरेको छ। 

आफ्नो पहिलो प्रधानमन्त्रित्व कालमा २०७२ मा प्रधानमन्त्री केपी शर्मा ओलीले ४ वर्षमा लुम्बिनी गुरुयोजना सक्ने उद्घोष गरेका थिए। तर, बजेट अभावले सम्पन्न भएन। 

२०७४ मा प्रधानमन्त्री भएपछि ओलीले फेरि तीन वर्षमा गुरुयोजना सक्ने र त्यसका लागि बजेट अभाव हुन नदिने बताएका थिए। तर, ओलीले बजेट सुनिश्चितताको घोषणा गरे पनि काम भने अगाडि बढेको छैन। 

कोषका पदाधिकारीहरु भने अबको तीन वर्षभित्र गुरुयोजना सम्पन्न हुनेमा विश्वस्त देखिएका छन्। गरुयोजना सम्पन्न गर्न अझै करिब ७ अर्ब रुपैयाँ खर्च आवश्यक रहेको कोषका सुचना अधिकारी राजन बस्नेतले जानकारी दिए।

संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उथान्तले २३ अप्रिल सन् १९६७ मा लुम्बिनीको भ्रमण  गरेका थिए। भ्रमणका क्रममा उथान्तले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न गुरुयोजना बनाई विकास गर्ने प्रस्ताव तत्कालीन राजा महेन्द्रसमक्ष राखेका थिए। 

सन् १९७० नेपालसहित अन्य विभिन्न १४ देशका राजदूत सम्मलित बैठकले उच्चस्तरीय सल्लाहकार समिति गठन गरेको थियो। समितिको निर्णय अनुसार लुम्बिनीको गुरुयोजना जापानिज आर्किटेक्ट केन्जो टांगेले निर्माण गरेका हुन्। 

सन् १९७८ मा टांगेले लुम्बिनीको बृहत्तर गुरुयोजना तयार पारेका थिए र संयुक्त राष्ट्रसंघको पहलमा तयार गरिएको गुरुयोजना १७ वर्षमा सम्पन्न गर्ने भनिएको भए पनि ४ दशक पार गर्दा पनि निर्माण हुन भने सकेको छैन।

गुरुयोजनाले राष्ट्रिय/अन्तर्राष्ट्रिय बौद्ध संस्कृतिका जीवन्त परम्परा झल्काउने, लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक, पूरातात्त्विक र धार्मिक महत्त्वको संरक्षण गरी अन्तर्राष्ट्रिय मापदण्डको पवित्र तीर्थस्थलको रूपमा संरक्षण र सम्बर्द्धन गर्ने लक्ष्य राखेको कोषका सुचना अधिकारी बस्नेत बताउँछन्। 

गुरुयोजनाले एक हजार १ सय ५५ बिघा क्षेत्रफल जमिन ओगटेको छ।