पर्यावरण र पर्यटनलाई सँगै लाने अभियानमा बोर्ड, वन क्षेत्रलाई रोजगारी र उद्यमसँग जोड्ने

बिजमाण्डू
२०७७ चैत्र १९ गते १४:३६ | Apr 1, 2021


काठमाडौं। दिगो पर्यटन विकासका लागि 'पर्या-पर्यटन' प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र वन तथा भुसंरक्षण विभागले संयुक्त छलफल गरेको छ।

Tata
GBIME
Nepal Life

देशको प्राकृतिक सम्पदा पर्यटनका लागि महत्वपूर्ण निधी भएको भन्दै यसलाई पनि पर्यटन सँग जोडेर दीर्घकालीन रुपमा विकास गर्दै लैजानुपर्ने छलफलमा सरोकारवालाहरुले बताएका छन्। 

यस क्षेत्रमा पर्याप्त काम हुन नसकेकोले पर्यटन बोर्डले प्रवर्द्धनात्मक कार्यक्रम गर्न लागेको हो।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले भने,' मुलुकको वन क्षेत्र पर्यापर्यटनको लागि महत्वपूर्ण आधार भएपनि यसको समुचित प्रयोग हुन सकिरहेको छैन। वनले आर्थिक उपार्जन तथा रोजगारी सिर्जनाका थुप्रै काम गर्न सक्छ । यसको उपयोग गर्दै पर्यापर्टन अगाडि बढाउन आवश्यक छ।'

बोर्डले सन १९९९ देखि नै दिगो पर्यटनका क्षेत्रमा विभिन्न काम गर्दै आईरहेको बोर्डले पर्यापर्यटन युनिटको अवधारणा सातै प्रदेशमा लैजानु पर्ने वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बताए। 

यसका लागि वन तथा भूसंरक्षण विभाग,बोर्ड,विभिन्न सामुदायिक वन उपभोक्ता महासंघ तथा निजी क्षेत्रधको सहकार्य आवश्यक भएको उनको भनाई छ। 

वन तथा भूसंरक्षण विभाग अन्तर्गत सामुदायिक वन अध्ययन केन्द्रका सहायक वन अधिकृत विष्णु ज्ञवालीले वनसँग मिलेर पर्यटनका थुप्रै गतिविधि गर्न सकिने जानकारी दिंदै विभागले बोर्ड तथा अन्य सरोकारवालासँग समन्वय गरेर अघि बढ्न चाहेको बताएका छन्। 

वनसँग सम्बन्धित कतिपय नीति नियमहरु कठिन भएपनि त्यसलाई सहज बनाउँदै वनलाई आर्थिक विकास,रोजगारी सिर्जना र उद्यमशीलतासँग जोडने गरी काम हुँदै आएको उनले बताए। 

कार्यक्रममा पर्यटन व्यवसायी मेघ आले,डीबी चौधरी, ठाकुर देवकोटा, केशव प्रसाद दाहाल लगायतले स्थानीय तहमा काम गर्दा तीन तहका कानून बाझिने तथा नितीगत झण्झटले काम गर्न असजिलो भएको भन्दै सहजीकरणको माग गरे। 

पर्यापटनको विकासको लागि प्राकृतिक सम्पदाहरुको संरक्षणमा राज्यले ध्यान दिन आवश्यक रहेको छलफलका सहभागी व्यवसायीहरुले बताए। 

कार्यक्रममा प्रदेश स्तरमा गठन भएका वन उद्यम तथा पर्यापर्यटन सञ्जालहरू दीगो पर्यटन सञ्जालका सदस्य तथा विज्ञहरूको समेत सहभागिता रहेको थियो ।