व्यवसायीको दबाबपछि सुनको कोटा बढाउने सरकारको निर्णय, दैनिक २० किलो सुन आयात हुने

सरला सुवेदी/बिजमाण्डू
२०७७ चैत्र १९ गते १६:४१ | Apr 1, 2021
व्यवसायीको दबाबपछि सुनको कोटा बढाउने सरकारको निर्णय, दैनिक २० किलो सुन आयात हुने

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले सुन आयातको कोटा बढाएर कोभिड अघिकै अनुपातमा पुर्‍याएको छ। अब दैनिक २० किलो सुन आयात गर्न सकिने भएको छ।

पछिल्लो समय बजारमा १० केजी सुनले माग नधानेपछि व्यवसायीले आयात कोटा बढाउन आग्रह गर्दै आइरहेका थिए। उनीहरुले अर्थमन्त्रालय, बाणिज्य मन्त्रालयदेखि राष्ट्र बैंकसम्म पुगेर कोटा बढाउन लविङ गरेका थिए।

हालको लागि २० किलो सुन आयातका लागि मन्त्रालयबाट सिफारिस भएर राष्ट्र बैंकमा पठाएको वाणिज्य सचिव दिनेश भट्टराईले बताए। मन्त्रालयको सिफारिससँगै राष्ट्र बैंकले  सुन आयात तथा बिक्री वितरण सम्वन्धि कार्यविधि संशोधन गरिएको जनाउँदै सुन आयात दैनिक २० किलो कायम गरिएको जनाएको छ।

वैशाखपछि विवाहको सिजन सुरु हुने भएकाले माग अझै बढ्ने भन्दै ४० किलो पुर्‍याउन व्यवसायीले माग गरेका थिए।गत वर्ष कोभिडसँगै लकडाउन भएपछि विदेशी मुद्रा सञ्चितिमा दबाब पर्न नदिन सरकारले २० किलोको कोटालाई १० किलोमा झारेको थियो। तर, विदेशी मुद्रा सञ्चिति घट्नुको साटो अझ बढेर गयो। बिदेशी मुद्रा भित्रिने पर्यटन क्षेत्र प्रभावित भएपनि रेमिटेन्स आयमा कमी आएन। आयात पनि घट्यो। त्यसले गर्दा सञ्चितिमा सुधार भयो।

कोभिडकालमा सुन प्रति तोला एक लाख रुपैयाँभन्दा माथि पुगेको थियो। मूल्य महँगिदा बिक्रीका लागि आएका गरगहनाबाट व्यवसायीले गर्जौ टार्दै आएका थिए। गत मंसिरदेखि सुनचाँदी बजार चलायमान बन्दै जाँदा सुनको माग पनि बढ्दै आएको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सामान्यतया हाल बजारमा दैनिक २५ किलोसम्म सुन बिक्री हुँदै आएको छ। सिजनको समयमा ४० देखि ५० किलो सुनको बिक्री हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

केही समययता सुनको मूल्यमा गिरावट हुन थालेको छ। मूल्य घट्दै जाँदा सुनका गहना बनाउने सर्वसाधारणको संख्या बढन् थालेको छ। फिर्ता सुन आउन छाडेपछि एक महिनादेखि बजारमा अभाव भइरहेको महासंघले जनाएको छ। केही समय अघि अर्थमन्त्री विष्णु पौडेलले सम्बद्ध व्यवसायीहरूलाई सुन आपूर्ति बढाउन चाँडै नै निर्णय गर्ने जानकारी दिएका थिए।