अब गाउँ गाउँमा मालपोत कार्यालयको पनि घुम्ती सेवा, पाइलट प्रोजेक्टका रूपमा पाँचथरबाट सुरु हुँदै

बिजमाण्डू
२०७७ चैत्र २१ गते १३:४१ | Apr 3, 2021
अब गाउँ गाउँमा मालपोत कार्यालयको पनि घुम्ती सेवा, पाइलट प्रोजेक्टका रूपमा पाँचथरबाट सुरु हुँदै

Tata
GBIME
Nepal Life

काठमाडौं। कार्यालयमा पुगेर सेवा लिन नसक्ने दूरदराजका सेवाग्राहीलाई लक्षित गरि मालपोत सेवा विभागले घुम्ती सेवा सुरु गर्ने तयारी गरेको छ।

पहिले पहिले यस्ता घुम्ती सेवा सुरु गरिएको भए पनि माओवादी द्वन्द्वपछि निरन्तरता पाउन सकेका थिएनन्। घुम्ती सेवालाई तत्कालिन सरकारको लोकप्रियताको बचाउका रूपमा लिने गरिए पनि तरिका सर्वसाधारणका लागि उपयोगी मानिएको थियो। मुलुक संघीय शासन प्रणालीमा गएपछि स्थानीय तहका केन्द्र पुग्न सर्वसाधारणलाई सबै ठाउँ सहज छैन। कतिपय मोटरबाटो नपुगेका बस्तीबाट जिल्ला प्रशासन र मालपोतका सेवा लिन आउन गाउँलेको सास्ती घटेको छैन। 

यस्तोमा सरकारी सेवाको एकीकृत घुम्ती प्रणाली उपयोगी हुने देखिएपछि मालपोतबाट पहल सुरु भएको हो। अनलाइन प्रणाली लागु भएपछि पहिलोपटक पाँचथरबाट घुम्ती सेवा सुरु गर्न लागिएको मालपोत कार्यालय पाँचथरका प्रमुख बाबुराम पोखरेलले बिजमाण्डूलाई बताए। राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको जिल्ला भएकाले पाँचथरको अनुभव मुलुकका अन्य जिल्लाका लागि पनि उपयोगी सिकाइ हुने विभागको अपेक्षा रहेको उनले खुलाए। 

'पाँचथरमा हामी मालपोत कार्यालय, सम्बन्धित स्थानीय तह र जिल्ला प्रशासन कार्यालय पाँचथरको सहकार्यमा आगामी सोमबारदेखि घुम्ती सेवा सुरु गर्दैछौं,' उनले भने। ७ वटा गाउँपालिका रहेको पाँचथरमा आगामी असार मसान्तसम्म घुम्ती सेवा सञ्चालन गर्ने योजनासहित तालिकानै प्रकाशित गरिएको जानकारी उनले दिए।

जेष्ठ नागरिक, असक्त, अपांगता भएका र महिला लगायतका सेवाग्राहीलाई लक्षित गरी हरेक स्थानीय तहमा ७/७ दिनको घुम्ती सेवा सुरु गर्न लागिएको पोखरेलले बताए। 'पहाडी जिल्ला र दुर्गम ठाउँ भएकाले सेवाग्राही मालपोत कार्यालयसम्म पुगेर सेवा लिन नसक्ने अवस्था छ,’ उनले भने, ‘ती ठाउँमा गएर हामीले जग्गा प्रशासनसँग सम्बन्धित लगभग सबै काम गर्छौ।’

घुम्ती सेवाबाट पनि अंशबण्डा, बकसपत्र, राजीनामा, दृष्टिबन्धकी, भोगबन्धकी, नामसारी, दाखिला खारेज जस्ता सेवा दिएर स्थानीयस्तरमै धनीपुर्जा बाँड्ने योजना छ। त्यस्तै घुम्ती टोलीले संसोधन, प्रतिलिपी, कम्प्युटर प्रणालीमा जग्गाधनीको फोटो राख्ने, ‍औठा छाप, दस्तखत लगायतका विवरण राखेर जग्गाधनीको विवरण अद्यावधिक गर्ने र नयाँ धनीपुर्जा वितरणको काम गर्नेछ।

यसरी विवरण अद्यावधिक गर्दा भोलिका दिनमा अनलाइन प्रणालीमा नयाँ विवरण उपलब्ध हुने र जग्गा प्रशासनको काम गर्न थप सहज हुने पोखरेलको विश्वास छ।

कुन स्थानीय तहमा कहिले जाँदैछ टोली? 
मालपोत कार्यालय पाँचथरले चैत २३ देखि २९ गतेसम्म तुम्वेवा गाउँपालिका, २०७८ बैशाख ३ देखि ८ गतेसम्म मिक्लाजुङ गाउँपालिका र बैशाख २५ देखि ३१ गतेसम्म फाल्गुनन्द गाउँपालिकामा घुम्ती सेवा सञ्चालन गर्नेछ।
त्यस्तै जेठ ८ देखि १४ गतेसम्म फालेलुङ गाउँपालिका, जेठ २२ देखि २८ गतेसम्म कुम्मायक गाउँपालिका, असार ५ देखि ११ गतेसम्म याङबरक गाउँपालिका र असार १९ देखि २५ गतेसम्म हिलिहाङ गाउँपालिकामा घुम्ती सेवा सञ्चालन गर्ने कार्यतालिका छ।

विभागबाट प्राविधिक सहयोग
मालपोत कार्यालयमा प्रयोग हुने नेटवर्क इन्ट्रानेट हो। इन्टरनेट भन्दा सुरक्षित हुने भएकाले बैंक वित्तीय संस्थादेखि महत्वपूर्ण डेटा राख्ने सरकारी कार्यालयमा इन्ट्रानेटनै प्रयोग हुँदै आएको छ। तर इन्टरनेट नै नहुने दूरदरजका गाउँमा इन्ट्रानेटबाट सेवा दिन सम्भव छैन।

यसका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्राविधिकहरुले भर्चुअल प्राइवेट नेटवर्क (भीपीएन) विकास गरेर सामान्य इन्टरनेटबाट पनि मालपोतको अनलाइन प्रणाली सञ्चालन गर्न सक्ने व्यवस्था मिलाइदिएको पोखरेलले बताए।

वर्षौदेखि रोकिएका घरजग्गा किनबेच हुने
मालपोत कार्यालयको ४ जना कर्मचारीको टोली बनाएर गाउँ गाउँमा पठाउँदै छ। यसबाट वर्षौदेखि कारोबारमा आउन नसकेका घरजग्गा कारोबारमा आउने र थप राजस्व समेत प्राप्त पोखरेलको दाबी छ।
हरेक गाउँपालिकामा छुट्टाछुट्टै टोली पठाउने र कर्मचारीलाई अतिरिक्त भत्ताको व्यवस्था गरिदै छ। यसबाट कर्मचारीहरुलाई रिफ्रेसमेन्ट पनि हुने र भत्ता पनि हुने भएपछि कार्यालयको काममा पनि यसले सकारात्मक प्रभाव पार्ने उनले बताए।