५१% बजेट घट्दा बजार अनुगमनका लागि रकम अपुग, थप बजेट दिन अर्थले गर्‍यो अस्विकार

बिजमाण्डू
२०७७ चैत्र ३० गते १९:५७ | Apr 12, 2021
५१% बजेट घट्दा बजार अनुगमनका लागि रकम अपुग, थप बजेट दिन अर्थले गर्‍यो अस्विकार


Tata
GBIME
Nepal Life

काठमाडौं । अघिल्लाे आर्थिक वर्षकाे भन्दा चालु आवमा झन्डै ५१ प्रतिशतले कम बजेट दिँदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्दै आएकाे बजार अनुगमन प्रभावित हुने भएकाे छ । 

विभागले गत आवमा बजार अनुगमनका लागि कुल एक करोड १० लाख रुपैयाँ बजेट पाएकाे थियो । तर चालु आवमा अर्थ मन्त्रालयले कोभिडका कारण बजार प्रभावित भएकाे भन्दै अनुगमन शीर्षकमा खर्च गर्नका लागि ४४ लाख रुपैयाँ मात्रै छुट्याइदिएकाे छ । यसरी पोहोरकाे तुलनामा ५६ लाख रुपैयाँ कम मात्र बजेट पाएपछि बजार अनुगमनका लागि रकम अपुग हुने बताएकाे छ ।

विभागका प्रवक्ता शिवराज सेढाईका अनुसार चालु आर्थिक वर्षका लागि पाएकाे रकममध्ये विभागसँग बजार अनुगमनमा खर्च गर्न अब १४ लाख रुपैयाँ मात्र बाँकी छ । आवको नौ महिनामा ३० लाख रुपैयाँ खर्च भइसकेकाे छ । यसैले विभागले तालुक  मन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग यसका लागि थप बजेट निकासाकाे माग गरेकाे थियो । तर अर्थले थप रकम दिन अस्विकार गरेकाे सेढाईले बताए । 

'हामीले उपभोक्ता हित संरक्षणका लागि गर्ने कामहरुका लागि बजेट कम भएको मन्त्रालयलाई जानकारी गराएका थियौं । तर मन्त्रालयले थप बजेट नबढाउने भन्दै अनुरोध पत्र फिर्ता गरिदिएको छ,' उनले भने । कम बजेटका कारण अनुगमन पूर्णरूपमा र चुस्त गरी गर्न नसकेकाे उनको भनाइ छ ।

कम बजेटले कर्मचारीलाई दिइने भत्ता र अनुगमनका क्रममा प्रयोग गरिने सवारी साधन बिग्रिएर मर्मत समेत हुन नसकेकाे विभागले जनाएको छ । साथै न्यून बजेटबाट व्यवस्थापन गर्नुपर्ने भएपछि व्यवसायीहरुका लागि उपभोक्ता हित जागरुकता कार्यक्रमहरु समेत गरेकाे छैन ।

दैनिक बजार अनुगमनमा खटिने टोलीका लागि भत्तामा मात्र महिनाकाे चार लाख रुपैयाँभन्दा बढी खर्च हुने विभागकाे भनाइ छ । यस अनुसार विभागसँग अब बाँकी रहेकाे १४ लाखले तीन महिनाकाे भत्ता खर्च मात्र पुग्ने विभागले जनाएको छ । 

कोभिडका कारण बजारमा कालोबजारी तथा अस्वभाविक मूल्यवृद्धि,  म्याद नाघेका खाद्यान्न बढी मात्रामा भेटिन थालेपछि विभागले अनुगमन टोली परिचालन बढाएकाे थियो । बजेटको ठूलो हिस्सा लकडाउनपछि र चाडपर्वको समयमा खर्च भएकाले यतिबेला रकम कम भएको विभागकाे भनाइ छ । 

बजेट अभावका कारण दैनिक बजार अनुगमन टोलीको संख्या पनि पाँचबाट घटेर गत पुसदेखि तीन वटामा झरेकाे बताइएकाे छ । दैनिक  बजार अनुगमन भए पनि यसलाई बजेट पर्याप्त नहुँदा प्रभावकारी बनाउन नसकेकाे विभागकाे जिकिर छ । पहिले स्वस्फूर्त रूपमा बजार अनुगमन गर्दै आएको विभागले पछिल्लो समय भने उपभोक्ताको गुनासो  र सूचनाका आधारमा मात्रै अनुगमन गरिरहेको छ ।