क्षमता विस्तारपछि सम्राट सिमेन्टमा संचालकबीच विवाद, ३०% सेयर बेचेर बाहिरिए मुकुन्द तिमिल्सिना

बिजमाण्डू
२०७७ चैत्र ३१ गते १८:२२ | Apr 13, 2021
क्षमता विस्तारपछि सम्राट सिमेन्टमा संचालकबीच विवाद, ३०% सेयर बेचेर बाहिरिए मुकुन्द तिमिल्सिना


Tata
GBIME
Nepal Life

काठमाडौं। सम्राट सिमेन्टको ३० प्रतिशत सेयर चौधरी समूह(सिजी)ले किनेको छ। दाङको सतबरियामा रहेको यो उद्योगको मुकुन्द तिमिल्सिना र सुधीर तिमिल्सिनाको नामको सेयर सिजी समूहले किनेको हो। मुकुन्द उद्योगको अध्यक्ष थिए।

सेयर किनबेचको लागि दुबै पक्षबीच सम्झौता भइसकेको छ। सम्झौतापछि मुकुन्दले एक महिना अघि नै उद्योग छाडिसकेका छन्। स्रोतका अनुसार करिब साढे तीन अर्ब रुपैयाँमा यो सेयर विनोद चौधरीले किनेका हुन्।

किनबेचको सम्झौता भएपनि उद्योग विभागमा स्वामित्व हस्तान्तरणको काम भने बाँकी छ। ‘हाम्रो नाममा रहेको ३० प्रतिशत सेयर बेच्ने प्रारम्भिक सम्झौता गरिसकेका छौं। अरु कानुनी प्रक्रिया अनुसार हक हस्तान्तरण गर्न बाँकी छ,’ तिमिल्सिनाले बिजमाण्डूसँग भने, ‘केही समयभित्रै यो प्रक्रिया पूरा भएर विधिवतरूपमा हामी बाहिरिनेछौं।’

यो उद्योगले चार महिना अघि क्षमता विस्तार गरेर उत्पादन थालेको थियो। २०७१ वैशाख २३ गते उद्योग दर्ता भएर आर्थिक वर्ष २०७४/७५ बाट उत्पादन थालेको थियो। कम्पनीले सुरुमा ३ अर्ब ५१ करोड लगानी गरेको थियो।

अब यो उद्योगमा अनिल रुंगटा र सिजी समूहको मेजोरिटी सेयर हुनेछ। त्यो बाहेक स्थानीय वासुदेव पाण्डे, भोजराज पाण्डे र छुटेन लामाको केही प्रतिशत मात्रै सेयर रहनेछ।

रुंगटा र तिमिल्सिनाको झगडापछि सिजीको प्रवेश

क्षमता विस्तारपछि अनिल रुंगटा र मुकुन्द तिमिल्सिनाबीच मनमुटाव सुरु भयो। उद्योगको अध्यक्षमा तिमिल्सिना थिए। तर रुंगटाले अध्यक्षको दाबी गरे।

रुंगटा र तिमिल्सिनाबीचको झगडापछि उद्योगको बिक्रीमा समेत ठूलो प्रभाव पर्‍यो। स्थानीयलाई प्रयोग गरेर दुवै पक्षले उद्योगमा आफ्नो प्रभाव जमाउन खोजे। स्थानीय प्रयोग गरेर उद्योगमा प्रभाव जमाउन खोज्दा व्यवस्थापनदेखि सबै लथालिंग बन्यो।

त्यही बेलामा नेपाल गुणस्तर चिन्ह(एनएस) नलिइ काठमाडौंमा बिक्री भयो। एनएस नलिइ बिक्री गरेको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले उद्योगलाई कारवाही गर्‍यो। अहिले विभागले उद्योग संचालकसँग बयान लिइरहेको छ। स्रोतका अनुसार विभागमा बयानको क्रममा विवादका कारण एनएस नभई काठमाडौंमा बिक्री भएको एक संचालकले बताएका थिए। विवाद बढ्दै गएपछि रुंगटा र तिमिल्सिनाबीच सेयर बिक्री गर्ने सहमति भयो। सहमतिपछि रुंगटाले विनोद चौधरीलाई तिमिल्सिनाको सेयर किन्न अफर गरेका थिए।

यो प्रस्तावलाई चौधरीले स्वीकारे। सिमेन्ट उद्योगमा चौधरी प्यासोनेट छन्। सिमेन्टमा मार्जिन पनि धेरै छ। उनी नेपालको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक बन्ने लक्ष्यसहित सम्राटमा प्रवेश गरेका हुन्। चौधरी सिमेन्ट उद्योगमा प्रवेश गरेको ८ वर्ष भन्दा बढी भइसकेको छ।

उनको दुम्कीबासमा दैनिक १८ सय टनको ग्राइन्डिङ युनिट छ। यो युनिटको पनि क्षमता बढाएर दैनिक २९ सय टन बन्दैछ। यो उद्योगको क्षमता विस्तारका लागि सिजी सिमेन्टले २ अर्ब ३७ करोड ८० लाख रुपैयाँ ऋण समेत लिइसकेको छ। यो बाहेक पाल्पामा क्लिंकरसहितको दैनिक चार हजार टन क्षमताको सिमेन्ट उद्योग अक्टोबरमा संचालनमा आउँदैछ।

चौधरीको यो उद्योग पाल्पाको देउरालीमा छ। समूहका प्रवक्ता मधुसुदन पौडेलले सम्राट सिमेन्ट किनेपछि सिमेन्ट उद्योगमा सबैभन्दा ठूलो पोर्टफोलियो चौधरी समूहको हुने दाबी गरे। ‘पाल्पाको सिमेन्ट उद्योग, नवलपरासीको दुम्कीबास र सम्राट गरेर सबैभन्दा ठूलो सिमेन्ट उत्पादक सिजी बन्नेछ,’ उनले बिजमाण्डूसँग भने।

कस्तो छ उद्योग?

सम्राट सिमेन्टले चुनढुंगा खानी उत्खननका लागि सरकारसँग दाङकै बंगलामुखी गाउँपालिकामा नौ सय ५० रोपनी जग्गा लिजमा लिएको छ।

उद्योगमा खेर जाने हिट इनर्जीलाई आधुनिक प्रविधिमार्फत् विद्युत् निकालेर पुनः प्रयोग गर्न सकिने प्रविधि जडान गरिएको छ। जसका कारण उद्योगमा ७ मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ।

हाल कम्पनीलाई २२ मेगावाट विद्युत आवश्यक पर्छ। गजराज, बाज, बादशाह ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ। उद्योगले लिपुलेक, कालापानी, चिसापानी पारी, देउखुरी र अयोध्या ब्राण्डमा सिमेन्ट ल्याउन उद्योग विभागमा निवेदन दिएको छ।