रोजगारी प्रणालीमा कोभिड महामारीले ल्याएको परिवर्तन, कार्यक्षमता बढाउन हाइब्रिड मोडलमा जाँदै

बिजमाण्डू
२०७८ बैशाख १७ गते १७:१८ | Apr 30, 2021
रोजगारी प्रणालीमा कोभिड महामारीले ल्याएको परिवर्तन, कार्यक्षमता बढाउन हाइब्रिड मोडलमा जाँदै

Tata
GBIME
Nepal Life

कोभिड महामारीले विश्वभर नै हाम्रो रोजगारीको प्रवृतिमा परिवर्तन मात्र ल्याएको छैन यसले विश्वको अबको रोजगारीको प्रकृतिबारे पुनर्विचार गर्नको लागि बृहद दवाव समेत सिर्जना गरिदिएको छ।

विगत १४ महिनादेखि विश्वमा लकडाउनको अवस्था सिर्जना भयो। बिभिन्न देशहरु क्रमैसँग विकराल संकटसँग जुधिरहेका छन्। यसबाट ठूलो समूहलाई घरबाटै काम अर्थात वर्क फ्रम होमको अनुभव दिलाएको छ। ब्यक्तिगत भेटघाट र बिजनेस ट्राभलको संभावना लगभग शून्य अवस्थामा पुगेको बेला आएको यो अवधारणा हाल विश्वभर नै न्यू नर्मलका रुपमा चलिरहेको छ। कतिपय देशहरुमा फेरि कार्यस्थलहरु खुला भएपनि कर्मचारी तथा कामदारहरु पुरानै अवस्थामा काममा फर्किन सक्ने समय आइसकेको हो त? भन्ने बहस समेत सुरु भएको छ।

जेमी डिमनले वाल स्ट्रिटका चिफहरुलाई अब कर्मचारीलाई कार्यालयमै उपस्थित भएर काम गराउनुपर्ने सन्देश दिएका छन्। जेपी मोर्गान चेज एण्ड कम्पनी अमेरिकाको केन्द्रीय कार्यालयबाट उनी सबै कर्मचारीलाई अफिस फर्किन भटाभट म्यासेज पठाइरहेका छन्। जेपी मोर्गान चेज एण्ड कम्पनी अमेरिकाको पहिलो बैंक बन्यो जसले कर्मचारीलाई आगामी दुई महिनाभित्र कार्यालयमै उपस्थति भएर काम गर्न निर्देशन दिइसकेको छ।

टप डिसिजन मेकिङ बडीको नेतृत्व गरिरहेका सिइओ डिमन भन्छन्-‘आगामी जुलाई महिनाभित्र अमेरिका बेस्ड सबै कर्मचारीले कार्यालयमै फर्किएर काम गर्नुपर्ने छ।’ डिमन गत वर्षको जुनदेखि नै कार्यालयमा फर्किएका हुन्। तर बैंकको रियल स्टेट  सेक्टरको पर्फर्मेन्स निकै खस्किएपछि लामो समयसम्म वर्क फ्रम होम संचालन गर्दा आर्थिक सामाजिक क्षति निकै बढेको अनुभूति गरे। 

डिमोनकै समकक्षी गोल्डम्यान साच ग्रुपका सडेभिड सोलोमन पनि वर्क फ्रम होम अवधारणालाई जतिसक्दो छिटो सच्याएर कार्यालयमै फर्किनुपर्ने बताउँछन्।रुदिन म्यानेजमेन्ट कम्पनीका सिइओ बिल रुडिन पनि जेपी मोर्गान र डिमनयो निर्णयको समाचार अन्य सबै सिइओहरुका लागि सकारात्मकम सन्देश भएको बताउँछन्।

यसले कर्मचारीहरलाई पूर्ववत रुपमा काममा फर्किने योजना बनाउन सकारात्मक सहयोग गर्ने उनको भनाई छ। सामाजिक दूरी कायम राख्नुपर्ने मापदण्ड अपनाइरहनुपर्ने अवस्थासम्म आधा आधा गरी कर्मचारीलाई रोटेसनमा अफिस बोलाउने जेपी मोर्गानको तयारी छ।

‘हामी के मा विश्वास गर्छौं भने सँगै रहेर एक अर्कासँग मिलेर काम गर्नु नै हाम्रो संस्कृति, क्लाइन्ट, ब्यापार र टिमका लागि नै महत्वपूर्ण छ। र म केमा विश्वस्त छु भने हाम्रो कम्पनीलाई उत्कृष्ट बनाउन हामी मिलेर सकारात्मक अनुभव लिँदै काम गर्नेछौ।’

बैंकको नतिजा राम्रो बनाउनका लागि १०० मध्ये ६० जनाले कार्यालयमै आएर काम गर्ने र बाँकीले हाइब्रिड मोडेल अनुसार घरबाटै काम गर्ने ब्यबस्था मिलाउन एक महिनाअघि नै डिमनले योजना बनाएका थिए।

न्यूयोर्कमा हाल कार्यालयमै जाने कर्मचारीको संख्या विस्तारै बढिरहेको छ। क्यासल सिस्टमको डेटा अनुसार अप्रिल २१ तारिखसम्म जम्मा १५.८ प्रतिशत कर्मचारी मात्र कार्यालय गएर काम गरिरहेका छन्।

धेरै कार्यालयहरुले हाइब्रिड होम अफिस प्रणालीलाई अंगीकार गर्न सुरु गरिसकेका छन्। यसबाट कर्मचारीहरुले सहज तरिकाले घरबाटै काम गर्न पाउँछन्। कतिपयले साताको चारदिन मात्र काम गर्ने तालिका बनाएका छन्। साताको चारदिन काम गर्ने अभ्यास महामारीको समयमा सफल पनि देखिएको छ। यसरी काम गर्ने दुई तिहाई कर्मचारीको कार्य सम्पादन क्षमतामा वृद्धि भएको बताइएको छ। 

यसैगरी कतिपय कम्पनीहरुले कोभिडको महामारीमा कामलाई  अघि बढाउन अटोमेशनमा जान समेत सुरु गरिसकेका छन्। एकताका रोबोटहरुलाई मानव कामदारको शत्रुका रुपमा हेरिन्थ्यो। तर आज त्यही रोबोट नै कोरोना भाइरसको संक्रमण फैलिन नदिन मानिसहरु बीचको अन्तरक्रियालाई घटाउन सहयोगी भैरहेको छ।

आगामी दिनमा विश्वभर नै कामको प्रकृतिमा परिवर्तन लेयाउन रोबोटहरु प्रमुख निर्णायक बन्न सक्ने देखिएको छ। विश्वभर कोरोना भाइरसको खोप लगाउने कार्य सम्पन्न भैसकेपछि धेरै कामदाहरु कार्यालय फर्किएलान् र यसले फेरि पुरानै अवस्थाको भिडभाड युक्त वातावरण सिर्जना हुन जान्छ। भिडभाड युक्त यातायातका साधनहरु, तथा  खाने ठाउँमा बढ्ने भिडले फेरि कोभिड संक्रमणको जोखिमको अवस्था नआउनला भन्न सकिन्न।

अनि खोपको अभियान सकिएपनि कोभिडको जोखिम कहिलेसम्म अन्त्य भैसक्छ त भन्ने प्रश्नको जवाफ पनि कसैसँग छैन। यस्तो अवस्थामा कामका दौरान मानिसको सट्टा रोबोटको प्रयोगले मानव कामदारहरुलाई नै संक्रमणको जोखिम कम हुन जान्छ । त्यसैले भविष्यमा कार्यस्थलमा अटोमेसन र रोबोटको प्रयोग सहयोगी साबित हुने देखिन्छ। हाल बिभिन्न कम्पनीहरुले साताको चारदिन मात्र काम गर्नेबारे परीक्षण सुरु गरिसकेका छन्।

जिप रिक्रुटर्सका अनुसार विगत तीन वर्ष यता  साताको चारदिन काम गर्ने प्रवृति तीन गुनाले बढिसकेको छ। यसैगरी अमेरिकामा सन् २०२० को चौथो त्रैमासमा रोबोटहरुको अर्डर अघिल्लो वर्षभन्दा ६४ प्रतिशले बढेको देखिन्छ।

फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गका अनुसार फेसबुक कम्पनीका आधा कर्मचारीहरुले सन् २०३० सम्ममा घरबाटै काम गर्न सक्ने वातावरण बनिसक्ने छ।  

कामदारहरुको लागि  सहज वातावरण निर्माण तथा कार्य सम्पादन समयमा कोभिड महामारीले आएको यो परिवर्तनले विश्वको श्रम बजारमा धेरै ठूलो अर्थ राख्दछ। किनभने यसले विश्व बजारको सम्पत्ति, प्राविधिको हिस्सा, यातायात प्रणाली तथा मानिसको ब्यक्तिगत सफलता र हितसँग सम्बन्ध राखेको हुन्छ।

वर्क फ्रम होम अवधारणाले कर्पोरेट ब्यालेन्ससिटमा सुधार ल्याउने क्षमता राख्दछ किनभने यस अवधारणा अनुसार अफिस स्पेस कम भए पुग्छ। त्यस्तै कर्मचारीले पनि जुनसुकै सहज स्थानमा बसेर काम गर्न सक्छन्। अर्थात शहरमै बस्नुपर्ने वा परिवारबाट अलग भएर बस्नुपर्ने  अवस्थाको पनि अन्त्य हुन जान्छ। यसबाट कामकै लागि गाउँबाट शहर पस्ने ठूलो  जमातले गाउँमै वा दुर्गम स्थानमै बसेर पनि काम गर्न सक्ने अवस्था बन्न पुग्छ। यसले शहरको कोलाहल र जनघनत्व पनि कम गर्न मद्दत पुग्छ भने आर्थिक रुपमा पनि कर्मचारीलाई कम दबाब सिर्जना हुन जान्छ। 

त्यस्तै यस अवधारणामा घर र कार्यालय बीचको यातायातको लागि छुट्याइएको समय र पैसाको पनि बचत हुन्छ। यसबाट कर्मचारीले आरामसँग आफ्नै घरमा बसेर काम गर्न पाउँछन्। एउटा अध्ययनले के देखाएको छ भने घरमै बसेर काम गर्नु भनेको वास्तवमा कर्मचारीको वर्किङ डे लम्बिनु पनि हो। अर्थात कर्मचारी जब आफ्नो समय र सहजता अनुसार काम गर्न थाल्छ त्यसले उसको कामप्रतिको लगाव र जाँगर बढेको एकअनुसन्धानले देखाएको छ।

केहीले भने हाइब्रिड वर्किङ मोडललाई दुबै पक्षका लागि हानीकारक भएको पनि तर्क गरिरहेका छन्।

वर्क फ्रम होम अवधारणालाई गोल्डम्यान साचका सिइओ डेभिड सोलोमन न्यू नर्मल मान्न तयार छैनन्। उनी यसलाई असहज भन्दै बदल्नुपर्ने भनिरहका छन्। तर फेसबुकका सिइओ जुकरबर्ग भने यसलाई नै दीर्घकालीन विकल्प भएको दावी गर्छन्। उनले त आफ्ना धेरै कर्मचारीहरुको लागि यो नै कार्यक्षमता बढाउने दीर्घकालीन विकल्प हो भनिरहेका छन्।

यदि चाँडै नै विश्वको श्रम बजारमा कार्यालयहरु चाँडै नै पूर्ण रुपमा खुल्ने अवस्था आएमा पनि कोरोना महामारी पूर्वकै अवस्थामा कर्मचारीहरुलाई फर्किन संभव देखिँदैन। यस्तो अवस्थामा ठूलो मात्रामा अटोमेशनमा जानुको विकल्प छैन। यदि कोभिड संकट दीर्घकाल लम्बिने अवस्था रहिरह्यो भने कर्मचारीहरुले पूर्ववत दैनिकीमा फर्किनु भन्दा फरक र न्यू नर्मलका रुपमा अहिले अपनाइरहेका अवधारणालाई त्यागीहाल्न सक्ने अवस्था पनि रहँदैन। हालको अवस्थामा बिश्वभरकै लागि वर्क फ्रम होम अवधारणाको परीक्षण भने जारी नै राख्नुको अर्को विकल्प छैन। (ब्लुमबर्गबाट)