नेपाली मुद्राको जानकारी दिन खतिवडाको पुस्तक सार्वजनिक, तीन खण्डमा इतिवृत्तान्त उल्लेख

बिजमाण्डू
२०७८ बैशाख २४ गते ११:४२ | May 7, 2021
नेपाली मुद्राको जानकारी दिन खतिवडाको पुस्तक सार्वजनिक, तीन खण्डमा इतिवृत्तान्त उल्लेख

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालका आधुनिक मुद्राहरूः एक समीक्षा नामक पुस्तक प्रकाशन भएको छ।

नेपाल राष्ट्र बैंकमा कार्यरत श्याम खतिवडाद्वारा लिखित पुस्तक राष्ट्र बैंकको ६६औं वार्षिकोत्सवका अवसरमा गभर्नर महाप्रसाद अधिकारीले विमोचन गरेका छन्। 

पुस्तकमा नेपालको मुद्रासम्बन्धी विभिन्न विषय समेटिएकाले पुस्तक संग्रहणीय भएको गभर्नर अधिकारीले बताए। पुस्तकमा ‘वस्तु विनिमय प्रथादेखि हालसम्मको मुद्राको बारेमा तथा आधुनिक मुद्राहरूको चित्रसहित' उल्लेख गरिएको छ। 

तीन खण्डमा विभाजित पुस्तकको पहिलो खण्डमा नेपाली मुद्राको इतिहासका विभिन्न कालखण्डको व्याख्या गरिएको छ। लिच्छविकालीन, मल्लकालीन, शाहकालीन मुद्राहरूको विकासक्रमसहित सिक्काको विकल्पमा कागजी नोटको खोजीको विषयलाई पनि उल्लेख गरिएको छ।

नेपाली मुद्राको प्रचलनमा नेपाल राष्ट्र बैंकको भूमिकाबारे समेत प्रकाश पारिएको छ। मुद्रा निष्कासनको प्रक्रियाबारे पनि यहाँ उल्लेख गरिएको छ। जालीनोटको कारोबारीबाट बच्न सकिने उपाय तथा सफा नोट नीति एवम् केन्द्रीय बैंकको भूमिका र यही खण्डमा हालसम्म निष्कासन भएका कागजी नोटहरूको सचित्र निष्कासन मिति, नोटको छपाइ भएको संख्या, नोटमा रहेका विभिन्न सम्पदा, वन्यजन्तु र मठ मन्दिर आदिको विवरण पनि छ। 

पुस्तकको दोस्रो खण्डमा नेपालका विभिन्न समयमा टकमरी भएका संस्मरणात्मक सिक्काहरूबारे विस्तृतमा उल्लेख छ। तेस्रो खण्डमा प्राविधिक विवरणबारे चर्चा गरिएको छ। पुस्तकमा हाल जीवित रहेका नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरहरूको मन्तव्य पनि समेटिएको छ।