बागमती प्रदेशको सवारी कर नागरिक एपबाटै तिर्न मिल्ने, ८० वटा नयाँ सेवा थप गरिँदै

बिजमाण्डू
२०७८ बैशाख २६ गते १२:४८ | May 9, 2021
बागमती प्रदेशको सवारी कर नागरिक एपबाटै तिर्न मिल्ने, ८० वटा नयाँ सेवा थप गरिँदै

Tata
GBIME
Nepal Life

 

काठमाडौं। बागमती प्रदेशको सवारी साधन कर नागरिक एपबाटै तिर्न मिल्ने गरी सरकारले तयारी गरिरहेको छ। 

शनिबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अलिले ६ महिना भित्र अधिकांश सरकारी भुक्तानी नागरिक एपबाट सुरु गर्ने तयारी भइरहेको जानकारी दिए।

नागरिक एपले उक्त अवधिभित्र थप ८० वटा नयाँ सेवा सञ्चालनको लक्ष्य लिएको छ। सरकारले तीन चरणमा नागरिक एप विकास र विस्तार गर्दै लाने योजना बनाएको छ।

यातायातको करसँगै खानेपानी, चौमासिक, अर्धवार्षिक एवम् वार्षिक कर भुक्तानी पनि नागरिक एपमा समावेश गर्ने तयारी सरकारको छ। 
नागरिक एपमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयलाई समावेश गर्ने बताइएको छ।

शनिबारसम्म ६ लाख २५ हजारले नागरिक एप डाउनलोड गरेका छन् भने दुई लाखभन्दा बढीले आफ्नो खाता भेरिफाइ गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। 

सरकारले वैशाख १९ गते चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा नागरिक एपको फुल भर्सन सार्वजनिक गरेको थियो। गत माघ २ गते नागरिक एपको बेटा भर्सन सार्वजनिक भएको थियो।

नागरिक एपबाट प्यान कार्ड, प्रहरी रिपोर्ट, मालपोत, शैक्षिक प्रमाणपत्र, नागरिकता, पासपोर्ट एवं मतदाता कार्डसहितका विवरण समावेश गरिएको छ।  

आव २०७५/७६ को नीति तथा कार्यक्रमले नागरिक एपको परिकल्पना गरेको थियो। नागरिक एपमा रहेको क्यूआर कोड प्रयोग गरी अनलाइनबाट बैंक खाता, लोक सेवा फारम भर्न, सिम कार्ड खरिदका साथै पहिचान आवश्यक पर्ने सबै स्थानमा उपयोगी हुने मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गत साता नै नागरिक एपबाट नेपाल बैंकमा खाता खोलेका थिए।