नयाँ सरकार गठनबारे देउवाले थाल्दै छलफल, बुढानिलकण्ठमा बोलाए विपक्षी दलको बैठक

बिजमाण्डू
२०७८ बैशाख २८ गते ०९:१९ | May 11, 2021
नयाँ सरकार गठनबारे देउवाले थाल्दै छलफल, बुढानिलकण्ठमा बोलाए विपक्षी दलको बैठक


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि पहल शुरु गरेका छन्। सभापति देउवाले आज विभिन्न दलका नेताहरुसँग आफ्नो निवास बुढानिलकण्ठमा छलफल गर्न लागेको कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए।

'सभापति देउवाले नयाँ सरकार गठनका लागि दलहरुसँग छलफल गर्न बैठक बोलाउनुभएको हो,' नेता लेखकले भने। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि देउवाले यसबारे छलफलका लागि बैठक डाकेका हुन्। बैठकमा कांग्रेसका शीर्ष नेता, माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरु सहभागी हुने लेखकले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार प्रतिनिधि सभामा विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो। बहुमत पुर्‍याउन ओलीलाई १३६ मत आवश्यक रहेकोमा उनले ९३ मतमात्र पाए।

ओलीले विश्वासको मत गुमाएलगत्तै सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीसमक्ष नयाँ सरकार गठन गर्न आह्वान गर्नका लागि आग्रह गरेका थिए।