कोभिड जोखिम कम गर्न कालिमाटी तरकारी बजारमा खुद्रा कारोबार बिहीबारदेखि बन्द

बिजमाण्डू
२०७८ बैशाख २८ गते १२:३९ | May 11, 2021
कोभिड जोखिम कम गर्न कालिमाटी तरकारी बजारमा खुद्रा कारोबार बिहीबारदेखि बन्द

Tata
GBIME
Nepal Life

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कोभिड-१९  को जोखिम न्युनीकरणका लागि तरकारीको खुद्रा कारोबार बन्द गर्ने भएको छ।

ग्राहकको भीड बढेपछि लकडाउनको समयसम्म खुद्रा बजार र किसान बजार बन्द गर्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले बताए। किसान बजार मंगलबारदेखि बन्द भएको छ भने खुद्रा कारोबार बिहीबारदेखि बन्द हुनेछ।

मंगलबार जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्दै खुद्रा कारोबार बन्द गरेको हो। 'हामीले निषेधाज्ञामा राती १ बजेदेखि विहान ९ बजेसम्म बजार खुला गर्ने निर्णय गरेका थियौं,' उनले बिजमाण्डूसँग भने, 'त्यहाँ धेरै भीडभाड भएपछि खुद्रा कारोबार रोक्ने निर्णय गरेका हौं।'

व्यवसायीहरुले थोक बजारमा तरकारीको प्याकेजिङ गरेर मात्र बिक्री वितरणको व्यवस्था गरिएको समितिले जनाएको छ। समितिले थोक पसलहरुमा पनि दुई जना मात्रै बसेर कारोबार गर्न पाइने नियम बनाएको छ। 

 समितिका अनुसार बजार परिसर भित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्ण बन्देज गरिएको छ। ठूला किसानले पनि स्वास्थ्य सुरक्षा अपनाएर अक्सन र होल्डिङ यार्डमा बसेर कारोबार गर्न सक्ने समितिले जनाएको छ। समिति भित्र तरकारी ल्याउन भने बन्देज लगाइएको छैन।