लगातार दोस्रो दिन पनि दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम समेत वृद्धि, कता जाँदैछ सेयर बजार?

बिजमाण्डू
२०७८ बैशाख २८ गते १५:३० | May 11, 2021


काठमाडौं। लगातार दोस्रो दिन पनि सेयर बजार मापक सूचक नेप्सेमा दोहोरो अंकको वृद्धि देखिएको छ। 

Tata
GBIME
Nepal Life

सोमबार २७ अंकले बढेको नेप्से सूचक मंगलबार पनि समान २७ अंकलेनै बढेको हो। यो संगै नेप्से २६७३ बिन्दुमा उक्लिएको छ।

सूचकसँगै कारोबार रकममा पनि मंगलबार सुधार देखिएको छ। सोमबार सवा चार अर्ब रुपैयाँको मात्रै कारोबार भएकोमा मंगलबार भने पौने ६ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ।

बढ्दो बजारमा कारोबार रकम पनि बढ्नु सकारात्मक भएको बजार विश्लेषकहरुले बताएका छन्। ओली सरकार काम चलाउमा परिणत भएको र वैकल्पिक सरकार बन्ने सम्भावना कम रहेकोले देश निर्वाचनमा जाने सम्भावना बढेकोले पनि सेयर बजारमा सकारात्मक प्रभाव परेको विश्लेषकहरुको भनाई छ।

कोभिड संक्रमण बढ्दै जाँदा बैंक ब्याजदर घट्ने र लगानीका क्षेत्रमा फेरी संकुचन हुने हुँदा सेयर बजार सकारात्मक दिशामै अघि बढ्ने नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारे बताए।

ब्याजदर कम र लाभांस बढी भएपछि लगानीकर्तालाई यो भन्दा बढी केहि नचाहिने उनले बताए।

मंगलबार बोटलर्स नेपाल तराई, रुरु जलविद्युत, युनाइटेड मोदी हाइड्रोपावर, गुह्वेश्वरी मर्चेन्ट बैंक  र समता घरेलु लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। उता बिशाल बजार कम्पनीको सेयर मूल्य भने लगातार चौथो दिन पनि १० प्रतिशतलेनै घटेको छ।

सबै उपसमूह हरियो भएको बजारमा सबैभन्दा धेरै जीवन बीमा समूह २६७ अंक, व्यापार समूह २२१ अंक र निर्जीवन बीमा समूह १७६ अंकले बढेका छन्।

नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक ७६ करोड रुपैयाँको सेयर कारोबार भएको छ। अपि पावरको २० करोड, शिवम सिमेन्ट, र एचआइडिसिएलको १६/१६ करोड रुपैयाँको सेयर किनबेच हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर बैंकको १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

२२० कम्पनीको एक करोड ८ लाख कित्ता सेयर पाँच अर्ब ८१ करोड रुपैयाँमा किनबेच भएका छन्। १८ कम्पनीको मूल्य स्थिर र २१ कम्पनीको मूल्य घट्दा बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ।