अक्सिजन प्लान्ट स्थापना गर्न बैंकर्स संघको पहल, सीएसआरको पैसा खर्चेर प्लान्ट लगाउन छलफल

बिजमाण्डू
२०७८ बैशाख २९ गते १२:४६ | May 12, 2021
अक्सिजन प्लान्ट स्थापना गर्न बैंकर्स संघको पहल, सीएसआरको पैसा खर्चेर प्लान्ट लगाउन छलफल

Tata
GBIME
Nepal Life

काठमाडौं। अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि बैंकर्स संघले त्यसमा सघाउन पहल थालेका छन्। बाणिज्य बैंकहरुको छाता संगठनले अक्सिजन प्लान्ट खोल्ने बारे पहल थालेको हो।

संघका अध्यक्ष भुवन दहाल, उपाध्यक्ष अनिल उपाध्याय र प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले यस बारेमा विज्ञहरुसँग छलफल गरेका छन्।

नेशनल एकेडेमी अफ मेडिकल साइन्स (न्याम्स) का उपकुलपति प्राडा डीएन शाहसँग छलफल गरेका छन्। शाहले केही दिनमा प्लान्ट कसरी स्थापना गर्ने, चाँडो स्थापना गर्न के गर्ने बारे बिस्तारमा संघलाई जानकारी गराउने बताएका छन्।

बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत (सीएसआर) प्लान्ट स्थापनाको पहल थालेका हुन्। राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले गत आर्थिक बर्षको नाफाको एक प्रतिशत यो कार्यक्रम अन्तर्गत खर्च गर्नु पर्छ। एक अर्ब नाफा गरेको बैंकले एक करोड छुट्याउनु पर्छ। यही रकमबाट प्लान्ट स्थापना गर्न सकिन्छ कि भनेर पहल थालेका हुन्।

'प्लान्ट स्थापना गर्न खासै ठूलो पैसा लाग्ने रहेनछ। २/३ करोड भए पुग्ने रहेछ' संघका अध्यक्ष दहालले भने, 'तर स्थापना गर्न समय लाग्ने रहेछ। ३/४ महिना नै लाग्ने रहेछ। अहिले स्थापनाका लागि काम सुरु गरेपनि त्यो तत्कालको महामारीलाई काम नलाग्ने रहेछ।'

उनले यसबाहेक अहिलेको महामारीमा के गर्न सकिन्छ भनेर छलफल भइरहेको समेत जानकारी दिए। संघले यसअघि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट अस्पताल खोल्न अध्ययन गरेको थियो।