कोभिड बिरामी उद्धार गर्न हेलिकोप्टर कम्पनीमा सयौं फोन बज्छन्, तर अस्पतालको बेड नभएर रोकिन्छन्

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७८ बैशाख २९ गते १३:४१ | May 12, 2021
कोभिड बिरामी उद्धार गर्न हेलिकोप्टर कम्पनीमा सयौं फोन बज्छन्, तर अस्पतालको बेड नभएर रोकिन्छन्

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड-१९ संक्रमणले सिकिस्त बिरामीको उद्धारका लागि हेलिकोप्टर कम्पनीमा दिनहुँ सयौं फोन कल आउँछन्।

फोन गर्ने अधिकांशले कोभिडका कारण आफन्त सिकिस्त भएको र तत्कालै उद्धारका लागि अनुनय विनय गर्छन्। तर हेलिकोप्टर संचालक लाचार भएर जवाफ दिने गर्छन्- 'हाम्रो हेलिकोप्टर खाली छ तर, अस्पताल भरिएकोले उडान गर्न सकिदैन।'

नेपाल वायुसेवा संचालक संघका प्रवक्ता योगराज कँडेल अस्पतालमा बेड नभएर लाचार भएर उद्धार उडान गर्न नसकिने जवाफ दिनुपरेको बताए। 'मुलुकमा परेको विभिन्न विपत्तिमा हामीले उद्धार उडान गरेर धेरैलाई बचाएका थियौं। तर यो महामारीमा विपतमा परेका व्यक्ति बचाउन नसक्दा दु:ख लाग्छ,' उनले बिजमाण्डूसँग भने, 'तर हामीले केही गर्न सक्दैनौं।'

उनका अनुसार अहिले मागको २५ प्रतिशत मात्रै उद्धार उडान भइरहेको छ। 'यो यस्तो संकट रहेछ। कहिले हेलिकोप्टर पाइन्छ, पारामेडिकल टीम पाइन्न। कहिले अस्पताल पाइन्न,' कँडेलले भने, 'अस्पताल पाउँदा पाइलट संक्रमित भएर उडान गर्न सकिन्न।'

उनका अनुसार पारामेडिकल टोली कम भएर सेवा प्रभावित भएपछि संघले विस्तारका लागि पहल गरिरहेको छ। 'अहिले चार पाँच वटा मात्रै पारामेडिकल टोली छ। सबै अकुपाइ हुँदा समय पर्खिएर बस्नुपर्ने बेला छ,' उनले भने, 'त्यही भएर विस्तार गर्नुको विकल्प छैन्।' संघका अनुसार अहिले दैनिक १७ वटा उद्धार उडानको माग आइरहेको छ। उद्धार उडान गर्न त्यति सहज पनि छैन। 'स्वास्थ्य सुरक्षा प्रोटोकल अपनाएर उडान गर्नुपर्छ। उदाहरणका लागि धनगढी गर्नपर्‍यो भने एकदिन भरि नै लाग्छ,' कँडेलले भने।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तयार पारेको विवरण अनुसार मंगलबार एयर डाइनेष्टी, अल्टिच्युड, फिसटेल, कैलाश, मनाङ, माउन्टेन, प्रभु, श्री, सिम्रिक एयर लगायत नौवटा हेलिकोप्टर कम्पनीमार्फत ४५ वटा उडान-अवतरण भएको छ। जस मध्ये १२ वटा उडान कोभिड संक्रमितको उद्धारका लागि गरिएको विमानस्थलले जनाएको छ।

न्यूनतम भाडादर निर्धारण गर्न सिफारिस

कोभिड संक्रमित बिरामीका लागि एकैनासको भाडादर निर्धारण गर्न कँडेलको संयोजकत्वमा गठन गरिएको भाडादर निर्धारण समितिले न्यूनतम भाडादर सिफारिस गरिसकेको छ।

सबै वायुसेवा कम्पनीलाई अतिरिक्त शुल्क बाहेक न्यूनतम १२ सय अमेरिकी डलर लिन सिफारिस गरिएको उनले बताए। ‘हामीले भाडादर निर्धारणका लागि सिफारिस गरिएको छ। कम्पनी संचालक सहमत भएपछि यो भाडादर निर्धारण हुन्छ। यो कोभिड संक्रमित नेपाली बिरामीको हकमा लागू हुनेछ,’ कँडेलले भने।

यो उडानका लागि पारामेडिकल टोली, हस्पिटलले प्रयोग गर्ने स्वास्थ्य उपकरण, कर्मचारीका लागि आवश्यक पीपीइ सेट, जहाज डिसइन्फेक्ट गर्ने कर्मचारी, ग्राउण्ड स्टाफ, पाइलटको भत्ता लगायत अतिरिक्त खर्च लाग्ने उनले जानकारी दिए। उनका अनुसार एउटा उडान गर्दा नौ जना जनशक्ति परिचालित हुन्छन्। कम्पनीले अतिरिक्त खर्च बाहेक प्रति घण्टा १५ सय डलर भन्दा बढी नलिएको उनले दाबी गरे।

समितिले एएस ३५० सिरिजको हेलिकोप्टरले लिँदै आएको प्रति घण्टा १५ सय अमेरिकी डलर घटाएर १२ सय डलर र रविन्सन सिरिजले प्रति घण्टा लिँदै आएको एक हजार डलर को सट्टा नौ सय डलर निर्धारण गर्न सिफारिस गरेको छ। ‘यो अवस्थामा नाफाभन्दा पनि कस्ट टु कस्ट लिन प्रस्ताव गरिएको हो,' उनले भने। सरकारले तोकेको भन्दा कम भाडादर निर्धारण गर्दै कोभिड बिरामीलाई उद्धार उडान गर्दै आएको कैलाश हेलिकोप्टरका संचालक प्रतापजंग पाण्डेले बताए। उनका अनुसार १२ सय डलरमा सेवा दिइएको छ।

मनाङ एयरले सरकारले जारी गरेको प्रति घण्टा १५ सय डलरलाई आधार मानेर सेवा दिँदै आएको जनाएको छ। कम्पनीले कोभिड संक्रमित बिरामी उद्धार उडानमा अतिरीक्त खर्चबापत डेढ लाख रुपैयाँ लिँदै आएको बजार प्रमुख सेचन सुवेदीले बताए। ‘हामीले अहिले १५ सय अमेरिकी डलरभन्दा केही घटाएर सेवा दिएका छौं। यसमा अतिरिक्त खर्च डेढ लाख रुपैया जोडेका छौं,’ सुवेदीले भने।

बार्गेनिङ हटाउँ

उद्धार उडानमा हुँदै आएको बार्गेनिङ र नेगोसिएसन प्रणाली हटाएर एउटै शुल्क निर्धारण हुनुपर्ने कँडेल बताउँछन्।

‘यो अवस्थामा सबै कम्पनीको जहाजलाई एउटै बास्केटमा राखेर माग आए अनुसार आलोपालो गरेर परिचालन गर्न आवश्यक छ,' उनले भने, 'यस्तो बेलामा आत्तिएर धेरै ठाउँमा भाडा बुझ्न खोज्दा बिरामीको ज्यानै पनि जान्छ। त यही भएर एउटै कल सेन्टरमार्फत सेवा प्रवाह गर्नु उपयुक्त हुन्छ।'