दर्जन कम्पनीको मूल्य १० प्रतिशतले बढ्दा पनि सेयर बजारमा ‘शून्य’ अंकको वृद्धि, पाँच अर्बको किनबेच

बिजमाण्डू
२०७८ बैशाख २९ गते १५:१८ | May 12, 2021


काठमाडौं। बुधबार सेयर बजारमा एक दर्जन कम्पनीको सेयर मूल्य करिब १०/१० प्रतिशतले बढे पनि नेप्से सूचक भने 'शून्य' अंकले बढेको छ।अर्थात ०.५६ अंकले बढेको सूचक हिजोकै बिन्दु २६७३ बिन्दुमा रोकिएको छ।

Tata
GBIME
Nepal Life

सुरुवाती समय १२ अंकसम्म बढेको बजार त्यसपछि भने लगातार ओरालो लाग्दै करिब १० अंकसम्म घटेको थियो। केही समयपछि बजार फेरि उकालो लागे पनि २/३ अंकभन्दा बढी बढ्न सकेन। २ बजेपछि फेरि रातो भएको बजार अन्तिम १० मिनेटमा ८ अंकले बढेपछि हरियो भएर बन्द भएको छ। तर बजारको वृद्धि भने १ अंक पनि हुन नसकेको हो।

बुधबार नारायणी डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल तराई, आँखुखोला जलविद्युत, एनआरएन इनफ्रास्ट्रक्चर बैंक, विशालबजार कम्पनी, रुरु जलविद्युत, समता घरेलु लघुवित्त, खानीखोला हाइड्रोपावर, युनियन हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, युनिलिभर नेपाल र जोशी हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। साल्ट ट्रेडिङ, सानिमा जलरल इन्स्योरेन्स, सुर्योदय लघुवित्त र किसान लघुवित्तको सेयर मूल्य १/२ प्रतिशतले घटेको छ।

७ वटा उपसमूह हरियो र ६ वटा उपसमूह रातो भएको बजारमा उत्पादन समूह सर्वाधिक १०० अंकले बढेको छ। जलविद्युत र निर्जीवन बीमा समूह समान ३१ अंकले बढ्दा अन्य कुनै पनि समूहमा ठूलो अंकको वृद्धि हुन सकेन।

सर्वाधिक घट्ने समूहमा भने जीवन बीमा समूह ६६ अंकले घट्दा व्यापार समूह ४१, अन्य समूह १९ र लघुवित्त समूह १७ अंकले घटेका छन्।

पुनर्बीमा कम्पनीको सर्वाधिक ३५ करोड रुपैयाँको सेयर किनबेच हुँदा एचआइडिसिएलको २६ करोड, अपी पावरको करिब १५ करोड, शिवम् सिमेन्टको १४ करोड र एनसीसी बैंकको १३ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

२१५ कम्पनीको एक करोड ४९ लाख कित्ता सेयर पाँच अर्ब ३२ करोड रुपैयाँमा किनबेच भएका छन्। ९ कम्पनीको मूल्य स्थिर रहेकोमा ८६ कम्पनीको मूल्य बढेको छ भने ८९ कम्पनीको सेयर मूल्य घटेको छ।