जनता मृत्युवरण गरिरहँदा प्रधानमन्त्रीको ध्यान उद्घाटनमा, सम्मेलन केन्द्र उद्घाटन गर्दै

उन्नत सापकोटा/बिजमाण्डू
२०७८ बैशाख २९ गते १६:४१ | May 12, 2021
जनता मृत्युवरण गरिरहँदा प्रधानमन्त्रीको ध्यान उद्घाटनमा, सम्मेलन केन्द्र उद्घाटन गर्दै

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना संक्रमणमा परेका जनता अक्सिजन नपाएर मृत्युवरण गरिरहेका छन्। संचालनमा रहेका अस्पताल भरिभराउ होइन अक्सिजन नभएर विरामीले मृत्युवरण गर्ने अवस्था आएको भन्दै डाक्टर बलिन्द्रधारा आशु खसाल्दै छन्।

संकटका बेलामा डाक्टर र नर्सले आफ्नो जीवन दाउमा लगाएर विरामीको उपचार गरिरहेका छन्। तर यो राष्ट्रिय संकटका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने उद्घाटनकै ध्याउन्न छन्। महामारी सुरु भएपछि धराहरा उद्घाटन गरेका ‌ओलीले भर्खरै निर्माण सकिएको गोदावरी सनराइज (सम्मेलन केन्द्र) उद्घाटन गर्दैछन्। ओलीकै चाहनामा महामारीका समयमा यो सम्मेलन केन्द्र उद्घाटन गर्न लागिएको हो।

'महामारीले देशै आक्रान्त परेकोले हामीले उद्घाटन केही पछि सारौ भनेका थियौ। तर प्रधानमन्त्री कार्यालयबाट शुक्रबार उद्घाटन गर्न निर्देशन आयो,' शहरी विकास मन्त्रालयका एक अधिकारीले बिजमाण्डूसँग भने, 'यो महामारीमा केही पछि सारौ भन्दा पनि कुनै सुनुवाई भएन। यस्तो संवेदनहीन सरकार प्रमुख देखेका थिएनौ।'

ओली भौतिक रुपमै उपस्थित भएर यो भवन उद्घाटन गर्दैछन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार पूर्व निर्धारित कार्यक्रम भएकाले प्रधानमन्त्री ओली सहभागी हुनेछन्। 'प्रधानमन्त्री रहने/नरहने भन्ने पनि होला। यदि उहाँनै हुनुभयो भने पहिलेनै तय भएको कार्यक्रम हो। उहाँ जानुहुन्छ,' स्रोतले भन्यो। 

प्रधानमन्त्रीले उद्घाटन गर्नुअघि गत वैशाख २४ गते सहरी विकास मन्त्री प्रभु साहले सम्मेलन केन्द्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेका थिए।  बिहीबारसम्म सम्मेलन केन्द्रको आवश्यक सरसफाइ तथा स्काफ फोल्डिङ उघार्ने काम मात्रै बाँकी रहेको मन्त्रालयले जनाएको छ। 

पछिल्लोपटक प्रधानमन्त्री ओलीले चितवनमा राम मन्दिरसहितको अयोध्याधाम, धरहरा, १६५ रणनीतिक सडकलगायतका आयोजनाहरुको उद्घाटन र शिलान्यास गरेका थिए।

कस्तो छ हल?     

सरकारले २०७६ असोजमा गोदावरी सभाहल निर्माणको ठेक्का केसी-समानान्तर जेभीलाई दिएको थियो। कोरोना महामारीको प्रभावले समयमै सम्पन्न हुन नसकेको सभाहल अन्तत वैशाख मसान्तमा उद्घाटन हुन लागको हो। 

सहरी विकास तथा भवन निर्माण विभागकाअनुसार कोरोना महामारीका साथै हरिसिद्धि-गोदावरी सडक विस्तारमा देखिएको अवरोधका कारण समयमै सभाहल निर्माण हुन नसकेको जनाएको छ।

सरकारले कोरोनाकालसहित अन्य कारणले सभाहल निर्माणमा असर परेको भन्दै ६ महिना म्याद थपेर चैत २०७७ सम्म निर्माण गर्ने योजना बनाएको थियो। 

ठेकेदार कम्पनीले दुई सिफ्टमा दुई सय ८० देखि तीन सय जना कामदारलाई धेरै समूहमा बाँडेर सभाहल निर्माणको काम गराएको थियो। 

२०७७ कात्तिकमै प्रधानमन्त्री केपी शर्मा ओलीसहित तत्कालीन सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले सभाहल निर्माणको निरीक्षण गर्दै सरकार गठनको तीन वर्षे अवधि अर्थात् गत फागुन ३ गते सभाहल उद्घाटन गर्ने गरी काम सक्न निर्देशन दिएका थिए। निर्देशनअनुसार फागुनमा काम नसकिएपछि चैतमसान्तमा सभाहल निर्माण सक्ने नयाँ डेडलाइन ठेकेदारलाई सरकारले दियो। 

ठूलो क्षमतासहितको अन्तर्राष्ट्रियस्तरको सभाहल नहुँदा सरकारले आयोजना गर्ने सभा-सम्मेलनहरु राष्ट्रिय सभा गृहलगायतका स्थानहरुमा गर्नुपर्ने बाध्यता रहँदै आएको छ। 

नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संघीय संसदका बैठकहरु सञ्चालन गर्दै आएकाले ठूलो क्षमताका सभाहलको अभाव खड्किँदै आएको छ। 

कुल ४३ रोपनीमा निर्माण भइरहेको यस परियोजनाको ११ रोपनीभन्दा बढीमा क्षेत्रफलमा सभाहल, तीन रोपनीमा भित्री सडक, १३ रोपनीमा पार्किङस्थल र १६ रोपनीमा खुला स्पेससँगै बगैंचासहितको हरित क्षेत्र निर्माण भइरहेको छ।

सरकारले सभाहल निर्माणका लागि भ्याटसहित ६५ करोड रुपैयाँमा केसी-समानान्तर जेभीलाई ठेक्का दिएको थियो।