बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक जारी, के होला माधव नेपालको माग?

बिजमाण्डू
२०७८ बैशाख ३० गते १०:४७ | May 13, 2021
बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक जारी, के होला माधव नेपालको माग?

Tata
GBIME
Nepal Life

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा शुरु भएको छ। बिहान ९ बजेका लागि बोलाइएको बैठक केहीबेर अघिबाट शुरु भएको हो।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल जारी छ। माधव नेपाल पक्षको मागलाई कसरी सम्बोधन गर्ने विषयको सम्पूर्ण अधिकार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिने गरी बैठक अघि बढ्ने बताइएको छ। वरिष्ठ नेता माधव नेपाल समूहले पार्टीलाई २०७५ जेठ २ अघिको संगठनात्मक प्रणालीमा फर्काउनुपर्ने माग गर्दै आफ्नो पक्षका सांसदले सामुहिक राजीनामा दिने धम्की दिँदै आएका छन्।

सोमवार प्रधानमन्त्रीले संसदमा विश्वासको मत गुमाएका थिए। योसँग संकटमा परेको आफ्नो पार्टीको सरकार जोगाउन के कस्ता उपाय अपनाउने भन्ने विषयमा छलफल केन्द्रित हुनेछ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएसँग राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय आज राति ९ बजे सकिँदैछ। अहिलेसम्म गठबन्धनको सरकार गठनका लागि कसैको दाबी परेको छैन।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि एमालेका नेपाल पक्ष र जनता समाजवादी पार्टीका नेताहरुलाई मनाउने प्रयास जारी राखे पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन।