सोल्टी होटलको सेयर बिक्रीपछि व्यवस्थापनबाट समेत बाहिरियो आइएचजी, अब आफ्नै व्यवस्थापनमा

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७८ बैशाख ३१ गते १२:१८ | May 14, 2021
सोल्टी होटलको सेयर बिक्रीपछि व्यवस्थापनबाट समेत बाहिरियो आइएचजी, अब आफ्नै व्यवस्थापनमा

Tata
GBIME
Nepal Life

काठमाडौं। साढे दुई दशक (२६ वर्ष) देखि पाँचतारे होटल सोल्टीको व्यवस्थापनको जिम्मेवारी सम्हालेको बेलायती कम्पनी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप (आइएचजी) बाहिरिएको छ।

सोल्टीको सेयर बिक्री गरेपछि आइएचजी व्यवस्थापनबाट पनि बाहिरिएको हो। आइएचजी समूहको सहायक कम्पनीका रूपमा रहेको हङकङ होलिडे इन्सले आफ्नो सेयर सोल्टी इन्टरप्राइजेजलाई बिक्री गरेको थियो।

पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवारको प्रमुख सेयर रहेको कम्पनीले ८४ लाख २५ हजारभन्दा धेरै कित्ता सेयर ४७ करोड २३ लाख ४५ हजारमा किनेको थियो। होटलका अध्यक्ष दिनेश विष्टले आइएचजीसँगको सम्झौता सकिएको र अब आफ्नै व्यवस्थापनमा होटल संचालन गर्ने बताए।

‘आफ्नै व्यवस्थापनमा होटल संचालनमा ल्याएपछि विदेशी व्यवस्थापकलाई दिँइँदै आइएको आम्दानी र नाफा बापतको रकम जोगिन्छ,’ उनले बिजमाण्डूसँग भने। आइएचजी बाहिरिएपछि ‘द सोल्टी काठमाडौं’को रूपमा ब्राण्डिङ सुरु भएको छ। होटलको टप म्यानेजमेन्टमा रहेका महाप्रबन्धक निखिल चन्द्रा बाहिरिएका छन्। उनको ठाउँमा आइएचजीमै काम गरेका दक्षिण भारतका विजय ननमरणलाई महाप्रबन्धकमा नियुक्ति गरिएको विष्टले बताए।

५४ वर्ष अघि स्थापना भएको यो होटलमा २५ वर्ष ओबेरोय र २७ वर्ष आइजीएचले व्यवस्थापन सम्हालेको थियो। ‘विदेशी व्यवस्थापनले हेरेकाले हामी अन्तर्राष्ट्रिय स्तरको भइसकेका छौं। सोल्टी आफैंमा स्ट्रङ ब्राण्ड भइसकेको छ,’ उनले भने, ‘विदेशी व्यवस्थापनले प्रविधि र ज्ञान हस्तान्तरण गरेर गएका छन्। हामी त्यसको भरपूर उपयोग गरेर होटललाई अगाडि बढाउँछौं।’

‘अब हामी अन्तर्राष्ट्रिय रूपमा जान्छौं’

'द सोल्टी काठमाडौं' ब्राण्ड राखेर व्यवस्थापन हेर्ने गरी अन्तर्राष्ट्रिय स्तरमा लैजाने योजना रहेको विष्टले सुनाए। ‘अन्तर्राष्ट्रिय स्तरको होटल व्यवस्थापनमा नेपाली आफैं सक्षम छौं। कतैबाट माग आए अब हामीले व्यवस्थापन समेत लिने गरी सेवा दिन खोजिरहेका छौं,’ उनले भने,’हामीले यति ठूलो जिम्मेवारी लिएका छौं। आफ्नो क्षमता देखाउनेछौं। अरु होटल पनि हामीलाई सेवा दिने अवसर आउनेछ।’

पछिल्लो समयमा स्थापना भएका तारे होटलमा अन्तर्राष्ट्रिय चेन ल्याउने प्रतिस्पर्धा नै चलेको छ। अन्तर्राष्ट्रिय स्तरको चेनको विकल्पमा सोल्टीले आफूलाई उभ्याउन खोजेको हो।

आफ्नै व्यवस्थापन अन्तर्गत माग बढेमा जनशक्ति थपेर सेवा दिने विष्टले बताए।

होटल रेनोभेट

सोल्टी होटलको हल, लबी, कोठा, सबै रेनोभेट गरी थप लक्जरियस बनाउने योजना रहेको उनले बताए। उनका अनुसार सन् २०२१ भित्रै होटलको लबी रेनोभेटको काम सम्पन्न गरिए लगत्तै रुम रेनोभेसनको काम सुरु गरिनेछ।

‘हामीले होटलको लबी, रुम, रुममा प्रयोग हुने एमिनीटीज रिभ्याम्प गर्नेछौं। नयाँ अत्याधुनिक प्रविधिको प्रयोग गरी अहिले दिइएको सेवालाई थप गुणस्तर बनाउनेछौं,’ विष्टले भने।

कम्पनी अन्तर्गत नेपालगंजमा पाँचतारे होटल सोल्टी वेष्टेण्ड प्रिमियर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवनमा होराइजन लाउन्ज, एलएसजी स्काइ सेफ ‘इनफ्लाइट क्याटरिङ’ संचालनमा छ। कोरोना संक्रमण सकिएपछि पोखरामा सोल्टी ब्राण्डमै पाँच तारे होटल निर्माण गर्ने योजना बनाएको छ।