रोकिएन वान एक्स बेटबाट हुने अवैध सट्टेबाजी, मोबाइल वालेट प्रयोगबाटै हुँदैछ गैरकानूनी काम

उन्नत सापकोटा/बिजमाण्डू
२०७८ जेठ २९ गते १०:०२ | Jun 12, 2021
रोकिएन वान एक्स बेटबाट हुने अवैध सट्टेबाजी, मोबाइल वालेट प्रयोगबाटै हुँदैछ गैरकानूनी काम


काठमाडौं। गए राति युरो कपको पहिलो खेलमा इटालीले टर्कीलाई ३-० गोलले हरायो। संसारभरका फुटबल प्रेमीले खेलको जति खेलको मजा लिए, त्यति नै चासो बाजी थाप्नेहरु बीच पनि रह्यो।

Tata
GBIME
Nepal Life

कति गोल हुन्छ, हारजितको अन्तर र विजेता टिमका बारेमा बाजी राख्नेहरु आज पैसा आए/गएको हिसाब गर्न आफ्नो डिजिटल वालेट चेक गरिरहेका छन्। फुटबल होस् वा क्रिकेट ठुला खेलहरु जुनसुकै होस्, बाजी अनलाइन माध्यमबाट हुने क्रम संसारभर बढिरहेको छ। नेपालमा कानुनतः पैसाको बाजी खेल्न पाइँदैन तर अनधिकृत बाटोबाट बाजी खेल्नेहरुले छाडेका छैनन्। 

व्यक्ति-व्यक्तिबीच हारजितका बाजी सामान्य मानिएला तर जुवाजन्य यो लतमा परेकाहरु अनलाइनबाट बाजी खेल्छन्। डिजिटल वालेटबाट पैसा आदानप्रदान गर्छन्। केही वर्षयता विभिन्न खेल गतिविधिहरुमा 'वान एक्स बेट' प्लाटफर्ममार्फत् करोडौंको सट्टेबाजी भइरहेको छ। युवा पुस्तालाई लक्षित गर्दै विभिन्न युट्युब च्यानल तथा अन्य माध्यमहरुबाट कहलिएका सेलिब्रेटीहरुले समेत प्रचार गरेपछि यसको प्रयोग झनै बढेको हो।

यो क्रम नरोकिएपछि आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको विज्ञापन बोर्डले डिजिटल प्लाटफर्ममार्फत् जुवामा लगानी भइरहेको सम्बन्धी विज्ञापन तत्काल रोक्न निर्देशन दिएको थियो। 

यो कार्य विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा (१) को खण्ड (ख) को व्यवस्था विपरीत भएको भन्दै तत्काल नरोके कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाउने चेतावनीसहित बोर्डले विज्ञप्ति जारी गरेको थियो।

विभिन्न समयमा प्रहरी प्रशासन, नियमनकारी निकाय साथै भुक्तानी सेवा प्रदायकहरुले साइप्रसको बेटिङ प्लाटफम वान एक्स बेटबाट भइरहेको गैरकानूनी धन्दामा सहभागी नहुन निर्देशन दिएपनि यसको प्रयोग भने बढ्दै गएको छ। 

कसरी भइरहेको छ बेटिङ?
वान एक्स् बेटमा प्रयोगकर्ताहरुले सबै विवरणहरुसहित आफ्नो पहिचान खुल्ने आइडी कार्ड, राष्ट्रिय परिचयपत्र वा सवारीचालक अनुमतिपत्र अपलोड गरेपछि खाता तयार हुन्छ। पहिचान खुल्ने कागजात नै अपलोड हुने भएकाले यसको दुरुपयोग नहोला भन्न सकिन्न।  

सबै विवरण दिएपछि मात्रै वान एक्स बेटले प्रयोगकर्ताहरुलाई मोबाइल वालेटमार्फत् पैसा लोड वा विड्र गर्न अनुमति दिन्छ। नेपालबाट मुख्यगरी 'खल्ती' मोबाइल वालेटबाट वान एक्स बेटका एजेन्टसम्म पैसा पुग्ने र ती एजेन्टहरुले प्रयोगकर्ताहरुले सट्टेबाजीमा जितेको रकम पनि सोही वालेटमा ट्रान्सफर गर्दिने २६ वर्षीय एक प्रयोगकर्ताले बिजमाण्डूलाई जानकारी दिए।  

केही वर्षअघिसम्म वान एक्स् बेटमा हुने कारोबारहरुमा नेपालका अन्य भुक्तानी सेवा प्रदायकहरु पनि रहेकोमा ती कम्पनीहरुले अवैध सट्टेबाजी नियन्त्रण गर्न कदम चालेपछि वान एक्स बेटले आफ्नो सूचीबाट हटाइएको थियो। तर, खल्तीले समेत अवैध कारोबार नगर्न प्रयोगकर्ताहरुलाई बारम्बार सचेत गराए पनि नियन्त्रणमा भने आउन सकेको छैन।

न्यूनतम दुई हजार रुपैयाँ वान एक्स बेटको खातामा पुगेपछि मोबाइल वालेटबाट पैसा झिक्न मिल्ने ती प्रयोगकर्ताले बताए। 

'जित्ने टिम (स्योर सट) मा बाजी लगाएपछि आफूले लगानी गरेको भन्दा केही बढी पैसा आउने लोभ कै कारण वान एक्स बेटमा लागिपरेको छु,' प्रयोगकर्ताले भने। 

पैसा लोड गरेपछि प्रयोगकर्ताहरुले लाइभ स्पोर्टस् इभेन्टमा बेट गर्ने गर्छन्। थोरै पैसा पनि हुन्डी गरेर बेटिङ सुरु गर्न सकिने भएकाले धेरै व्यक्तिहरुको आम्दानीको स्रोत नै वान एक्स बेट बन्न पुगेको देखिन्छ। 

थोरै पैसा सट्टेबाजीमा लगाएर पनि धेरै कमाउने लोभका कारण वान एक्स बेटको प्रयोग बढिरहेको छ।

अहिले जारी फिफा विश्वकप २०२२ को क्वालिफायर्स र युरो कपका खेलहरुलाई लक्षित गर्दै वान एक्स बेटले प्रयोगकर्ता लोभ्याउन विभिन्न अफर ल्याइरहेको स्रोतले बताएको छ। 

सम्झौता नै गरेर एजेन्टलाई जागिर!
वान एक्स बेटले नेपालीसँग भाषा, सम्पर्क र कारोबारका लागि नेपालीभाषीलाई नै एजेन्ट नियुक्त गर्ने गरेको छ। ती एजेन्टलाई प्रयोगकर्ताको खातामा पैसा डिपोजिट गराउनेदेखि विड्र गर्न लिखित सम्झौता नै गरेर वान एक्स बेटले काममा लगाउने एक प्रयोगकर्ताले जानकारी दिए। वान एक्स बेटले ती एजेन्टहरुलाई मोटो रकम कमिसनसमेत दिने गरेको छ। 

हरेक पटक कारोबार गर्दा फरक फरक एजेन्ट प्रयोगकर्ताको सम्पर्कमा आउने भएकाले सयौंको संख्यामा वान एक्स बेटले नेपालमा आफ्नो एजेन्ट तयार पारेको देखिन्छ। धेरै संख्यामा रहेका एजेन्टहरु सल्बलाउने भएकाले मोबाइल वालेटहरुलाई पनि ती एजेन्टको कारोबार पहिल्याउन समस्या हुने गरेको बताइएको छ। 

वान एक्स बेटले एजेन्टहरुकै मोबाइल वालेटमा पैसा जम्मा गर्न हरेक पटक सूचना दिने गर्छ। वान एक्स बेटले एजेन्टहरुले पैसा डिपोजिट नगरे वा पैसा नपठाए ठाडै आफ्नो इमेलमा सम्पर्क गर्ने सुविधा पनि दिएको ती प्रयोगकर्ताले बताए।

नेपाल प्रहरीले पनि पटकपटक अनलाइनबाट हुने यस्ता अवैध कारोबार रोक्न कारवाही प्रक्रिया चाल्दै आएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रवक्ता एसपी गंगा पन्तले सट्टेबाजी अपराध भएकाले यस्ता कार्य नरोकिए कारवाही प्रक्रिया अघि बढाउने जानकारी दिइन। 

नेपाल प्रहरीले यसअघि विभिन्न भुक्तानी सेवा प्रदायकहरुलाई पत्राचार गर्दै अवैध कारोबार नियन्त्रण गर्न भनेपछि धेरै सेवा प्रदायकले वान एक्स बेटलगायतका अवैध प्लाटफमबाट आफ्नो उपस्थिति हटाएका थिए।