नाम अनलाइन कारोबार प्रणाली: व्यवहारमा अधिकांश कागजी, कृष्ण गिरिको लेख 

बिजमाण्डू
२०७८ असार २८ गते ०९:०० | Jul 12, 2021
नाम अनलाइन कारोबार प्रणाली: व्यवहारमा अधिकांश कागजी, कृष्ण गिरिको लेख 


Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २०७५ कात्तिक २० ग ते भव्य कार्यक्रम गरेर नेपालमा पहिलोपटक अनलाइन कारोबार प्रणालीको शुरुवात गर्‍यो। सुरुवाती अवस्थामा विभिन्न कमजोरी, प्रणालीगत समस्या तथा प्रयोगकर्ताहरुमा न्यून उत्साहका कारणले अनलाइन प्रणालीमा सहभागिता संख्या न्यून रहे पनि कोभिड–१९ महामारीका कारण भएको पहिलो र दोश्रो लकडाउनका बीच पुँजी बजारको कारोबार यथावत अवस्थामै सञ्चालित हुने परिस्थिति तयार भयो।

यसबीच कारोबार प्रणाली टीएमएसमा पनि पटक पटक सुधार र सर्भरको हार्डवेयरतर्फ अपग्रेडका कार्यहरु सम्पन्न भएपछि शुरुमा देखिएका अनेकन किसिमका कमजोरी तथा समस्याहरु सुधार भएर कारोबार प्रणाली शुरुवाती अवस्थाको भन्दा सहज पनि हुँदै गएको छ। 

यता अनलाइन कारोबार प्रणालीबाट कारोबार सहज बन्दै गर्दा दैनिक कारोबार गर्ने लगानीकर्ताहरुको संख्या बढ्दै गएको छ। 

बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्यामा भएको वृद्धिसँगै नेप्से परिसूचक पनि क्रमिक रूपमा बढ्दै गएको छ। यसमा केही टाठाबाठा लगानीकर्ताले अनलाइन कारोबार प्रणालीमा उपलब्ध विभिन्न सुविधाहरुलाई आफ्नो ढंगबाट प्रयोग गर्दै जाँदा बजारमा रहेका अन्य नयाँ तथा पुराना लगानीकर्ताहरुलाई अनलाइन कारोबार प्रणालीप्रति थप चासो वृद्धि भएको छ। साथै कारोबार सञ्चालन तथा कारोबार प्रणालीलाई नियमन गर्ने नियम कानुनहरुको पनि खोजी हुन थालेको छ। 

खासमा नेपाल स्टक एक्सचेन्जले आफू अन्तर्गत कारोबार सञ्चालन गर्न गराउनका निम्ति धितोपत्र कारोबार सञ्चालन विनियमावली-२०७५ बनाइ लागू गरेको छ। नेप्सेमा सूचीकृत धितोपत्रहरुको कारोबार नेप्सेको प्रणालीभित्र के कसरी गर्ने/गराउने र कुन दायराभित्र रहेर गर्ने/गराउने हो, त्यसको सम्पूर्ण विवरण धितोपत्र कारोबार विनियमावलीमा समेट्नु पर्ने हुन्छ। यस्तै धितोपत्रको कारोबार गर्दा दिइएको परिधिभन्दा बाहिर गएर अवाञ्छित ढंगबाट कारोबार गर्नेहरुलाई के कारबाही गर्ने हो? त्यसको बारेमा पनि आवश्यक व्यवस्थाहरुलाई समेटेको हुनुपर्छ। यस्तै कारोबार गर्ने गराउने क्रममा के कस्तो प्रविधिको प्रयोग हुने हो त्यो प्रविधिभित्र रहेका विभिन्न सुविधा तथा सीमाहरुलाई पनि यो विनियमावलीले समेट्नुपर्ने हुन्छ। 

हालको व्यवस्थाहरु
नेपाल धितोपत्र ऐनको दफा ११७ ले दिइएको अधिकारलाई प्रयोग गर्दै धितोपत्र बोर्डबाट स्वीकृति लिएर नेपाल स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्र कारोबार सञ्चालन विनियमावली-२०७५ बनाइ लागू गरेको छ। 

यसक्रममा यो विनियमावलीमा खरिदबिक्री कार्य तथा खरिदबिक्रीका लागि प्रयोग हुने कारोबार प्रणालीका बारेमा परिभाषा अन्तर्गत व्याख्या गर्ने कोसिस गरिएको छ। जसमा कारोबार प्रणालीलाई नै दुई पटक परिभाषित गरिएको छ, यद्यपि दुवै परिभाषाको अन्तर्य उस्तै नै रहेको देखिन्छ। 

यसबाहेक धितोपत्रको कारोबारका लागि परिच्छेद २ मा धितोपत्र कारोबार सम्बन्धी व्यवस्थाहरु राखिएको छ। 

यसअन्तर्गत कारोबार प्रणाली, धितोपत्रको कारोबार, कारोबार इकाई, कारोबार प्रणालीमा पहुँच, आदेश लिने व्यवस्था, अग्रिम रकम लिन पाउने व्यवस्था, कारोबार सञ्चालन तथा कारोबार अवधि, कारोबार गर्ने क्रममा हुने मूल्य परिवर्तनको सीमा, न्यूनतम मूल्य परिवर्तन, धरौटी राख्ने व्यवस्था, ब्लक कारोबारको व्यवस्था, सर्किट ब्रेकर, बैंक खाताको सञ्चालन लगायतका विषयमा व्यवस्था गरिएको छ। 

त्यसैगरी परिच्छेद ३ मा धितोपत्र कारोबार सदस्य अर्थात धितोपत्र दलालहरुलाई कारवाही सम्बन्धी व्यवस्था गरेको छ भने परिच्छेद ४ मा कारोबार सदस्य तथा तिनका ग्राहकहरुको कारोबारको सुपरिवेक्षण सम्बन्धी व्यवस्था गरेको छ। 

जसमा कारोबार सदस्यहरुले गर्न नहुने कामको बारमेमा उल्लेख गरिएको छ। यसका साथै सुपरिवेक्षण सम्बन्धी व्यवस्था गरेको छ। 

यस्तै परिच्छेद ५ मा राफसाफ कोष सञ्चालन तथा व्यवस्थापन व्यवस्थाहरु गरिएको छ। परिच्छेद ६ मा अक्सन कारोबार सञ्चालन सम्बन्धी व्यवस्थाहरु गरिएको छ। परिच्छेद ७ मा विविध अन्तर्गत विनियमावली कार्यान्वयनका लागि कार्यविधि बनाउन सक्ने व्यवस्था, कारोबार प्रणालीमा सुचारु हुनुपर्ने सम्बन्धी व्यवस्था, विवाद समाधान तथा विनियमावली लागू गर्ने क्रममा विभिन्न आदेश दिन पाउने व्यवस्था उल्लेख गरिएको छ। 

कारोबार प्रणाली र विनियमावली
विनियमावलीमा कारोबार प्रणालीको बारेमा उल्लेख गर्दै गर्दा कारोबार प्रणालीमा हुने विभिन्न उप-प्रणालीहरु, ती प्रणालीमा हुनुपर्ने संरचनाहरुको बारेमा भने यो विनियमावलीले केही पनि बताएको छैन। 

हाल सञ्चालनमा रहेको कारोबार प्रणालीमा भएको म्याचिङ इन्जिन, नेप्सेले चलाउने नट्स, ब्रोकर र लगानीकर्ताले सञ्चालन गर्ने टीएमएस प्रणालीहरुको बारेमा यो विनियमावलीमा स्पष्ट रुपमा कारोबार प्रणाली भित्रको उपप्रणालीको संरचनाको बारेमा कहीँकतै उल्लेख गरिएको भेटिँदैन। 

विनियमावलीको विनियम ३ को १ मा स्वचालित विद्युतीय कारोबार प्रणाली स्थापना गर्ने भन्ने बाहेक त्यो स्वचालित विद्युतीय कारोबार प्रणाली के कस्तो रहनेछ, यसमा कसको भूमिका के कति रहनेछ भन्ने बारेमा थप केही पनि बताइएको छैन। विनियम ३ को २ मा भने कारोबार म्याचिङको बारेमा उल्लेख गरिएको छ। 

विनियम ४ मा धितोपत्र कारोबारको बारेमा फेरि पनि पुरानै ढाँचामा अघिल्लो पटकको वाइड एरिया नेटवर्कमा आधारित कारोबार प्रणालीको झैं धितोपत्रको कारोबार प्रत्येक सदस्यहरुले कारोबार प्रणालीबाट मात्रै कारोबार गर्नुपर्ने उल्लेख गरिएको छ। तर यसमा प्रत्येक सदस्य भनेर परिभाषामा कहिँ पनि व्याख्या गरिएको छैन। 

माथि परिभाषामा कारोबार सदस्यलाई परिभाषित गरिएको छ, जसअन्तर्गत कारोबार सदस्य भनेको नेप्सेको सदस्यता प्राप्त धितोपत्र दलाल, बजार निर्माता वा व्यापारी हो भनेर भनिएको छ। र, नेप्सेले यस्ता सदस्यहरुलाई कारोबार प्रणालीमा आवश्यक पहुँच दिने र सुविधा दिने बताइएको छ। यसमा धितोपत्र दलाल व्यवसायी अन्तर्गतका लगानीकर्ताहरुलाई कारोबार प्रणालीमा कसरी पहुँच दिने भन्नेबारेमा कहिँ पनि उल्लेख गरिएको पाइदैन। 

विनियम ७ मा आदेश लिनुपर्ने व्यवस्था अझै राखिएको छ र यसरी आदेश लिनको लागि ३ वटा विधिहरु उल्लेख गरिएको छ। विनियम ७ को १ ले अनलाइन कारोबार प्रणालीका साथै प्रविधिले यतिविधि फड्को मारिसक्दा पनि कागजी ढाँचामै आदेश लिने परिकल्पना गरिएको छ। र, अझै विनियम ९ मा यसरी प्राप्त गरेको आदेशलाई पहिले प्राप्त गरेको आधारमा प्रणालीमा प्रविष्ट गर्नुपर्ने भनेर भनिएको छ। 

तर लगानीकर्ताले कसको आदेश पहिले आयो र कसको आदेश पछि आएको हो र कारोबार प्रणालीमा त्यही अनुसार प्रविष्ट भएको हो कि होइन कसरी थाहा पाउने? नेप्सेले कसरी थाहा पाउने? नियामकले कसरी थाहा पाउने? तसर्थ उपलब्ध प्रविधिहरुको प्रयोग अझ त्यसमा पनि चाहेको बखत नियामक तथा बजार सञ्चालकहरुले अडिट तथा सुपरिवेक्षण नै गर्न मिल्ने तरिकाबाट अटोमेटेड अर्डर बुक अनलाइनबाटै लिन सकिने बारे परिकल्पना पनि गरिएको छैन। 

सान्त्वना स्वरुप अर्डरहरु लिँदा अहिले उपलब्ध फोन, इमेल, टेलिफोन जस्ता विद्युतीय माध्यमबाट लिन सकिने भनिएको छ। फेरि पनि समस्या भनेको कसको अर्डर पहिले प्रणालीमा हाल्ने र कसको अर्डर पछाडि हाल्ने? कसको पहिले आएको हो वा कसको पछि आएको हो भन्ने कुराको बारेमा थप केही पनि प्रष्ट हुन सकेको छैन। 

आदेश लिँदा अनलाइन कारोबार प्रणालीबाटै लगानीकर्ताले आदेश दिने उल्लेख त गरिएको छ तर लगानीकर्ता त्यो अनलाइन कारोबार प्रणालीसम्म कसरी पुग्न सक्छ भन्ने बाटो भने कहीँ पनि उल्लेख गरेको देखिँदैन। यद्यपि विनियम १० मा लगानीकर्ता र धितोपत्र दलालबीच कारोबार सम्झौता गर्नुपर्ने भनेर सम्झौताका विषयहरु उल्लेख गरेता पनि अनलाइन कारोबारको प्रयोगको विषय भने त्यसमा पछि उल्लेख गरेको पाइँदैन। 

विनियम ११ मा कारोबार सञ्चालनका लागि विभिन्न समय तोकेर बजार सञ्चालन गरिने भनिएको छ। प्रारम्भिक कारोबारको साथै अन्तिम कारोबारको उल्लेखित समय परिवर्तन भइसकेको भएतापनि नेप्से तथा नेपाल धितोपत्र बोर्डको वेबसाइटमा राखिएको विनियमावली कहीँ पनि सो परिवर्तनबारे उल्लेख गरिएको पाईँदैन। 

विनियम १२ मा रहेको मूल्य परिवर्तनको सीमाले त बजारमा ठूलै हलचल ल्याएको छ। विनियम १२ को १ ले प्रारम्भिक कारोबार सत्रमा मूल्य अघिल्लो दिनको बन्द मूल्यको अधिकतम ५ प्रतिशत सीमा भित्र रही कारोबार गर्ने कुरा गर्दछ। यसमा हालै नेपाल धितोपत्र बोर्डले दिएको निर्देशन अनुसार परिवर्तन सीमा ५ बाट २ प्रतिशतमा झारिएको छ। 

यद्यपि कारोबार प्रणालीमा यो लागू हुने क्रममा रहेको छ। विनियम १२ को २ मा निरन्तर सत्रमा अधिकतम २ प्रतिशतको सीमा भित्र रहेर आदेश प्रविष्ट गर्न सकिने उल्लेख छ। तर हाल अनलाइन कारोबार प्रणालीमा उपलब्ध लिमिट अर्डर र मार्केट अर्डरलाई न त विनियम १२ भित्र कहीँ व्याख्या गरिएको छ न त विनियम ९ मा आदेश प्रविष्ट गर्नुपर्ने भन्दै गर्दा त्यहाँ नै उल्लेख गरिएको छ। 

यस्तै अनलाइन कारोबार प्रणालीमा लिमिट अर्डर हाल्दा अर्डर भ्यालिडेसन अन्तर्गत एओएन, फिल अर किल, आइओसि, गुड टिल डेट, गुड टिल क्यान्सिल र डे जस्ता विधिहरु उल्लेख गरिएको छ। तर हाल सञ्चालनमा रहेको कारोबार विनियमावलीको कुनै पनि परिच्छेद र कुनै विनियमभित्र यस्ता कुराहरु समेटेर स्पष्ट व्याख्या गर्नुका साथै नियमनको दायरामा पारिएको छैन। 

विनियममा कहीँ कतै पनि मार्केट आदेश र लिमिट आदेश भिन्नै हो भनेर नछुट्याएको अवस्थामा पनि अनलाइन कारोबार प्रणालीमा भने आदेश प्रविष्टिको सीमा (लिमिट) र मार्केटलाई फरक फरक रहने व्यवस्था गरिएको छ, जसलाई हाल उपलब्ध कुनै पनि नियम वा विनियमले नियमन गर्दैन।

विनियम १६ मा उल्लेखित ब्लक कारोबार सम्बन्धी व्यवस्थालाई टीएमएसभित्रै बेग्लै विण्डो राखेर कारोबार गराउने कुरा विनियम १६ को ४ मा उल्लेख गरिएको छ। तर नेप्सेको अनलाइन कारोबार प्रणाली २०७७ को कार्तिक २० मा २ वर्ष पुगेर आइसक्दा पनि ब्लक कारोबारको विण्डो अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। 

विनियम १७ मा सर्किट ब्रेकरको कुरा गरिएको छ। सर्किट ब्रेकर नेप्से परिसूचकमा तोकिएको सीमा पुगेपछि लगाइन्छ। हाल उपलब्ध कारोबार सञ्चालन विनियमावलीमा अझै पनि ३, ४ र ५ प्रतिशतले नेप्से परिसूचकमा उतारचढाव आउँदा सर्किट ब्रेकर लाग्ने उल्लेख छ। जबकी हाल सञ्चालनमा रहको सर्किट ब्रेकर भने ४, ५ र ६ प्रतिशतमा लाग्ने गर्दछ। यसलाई समायोजन गरेर अपडेट गर्ने कार्य कहीँबाट भएको छैन। 

त्यसैगरी कम्पनीको हकमा समेत सर्किट लाग्ने व्यवस्था रहेको छ। विनियम १७ को २ मा सूचीकृत कुनै पनि कम्पनीको प्रारम्भिक सत्रमा कायम भएको मूल्यमा थप १० प्रतिशत घटबढ हुँदा सर्किट लाग्ने व्यवस्था रहेको छ तर चलनचल्तीमा भने अघिल्लो दिनको बन्द मूल्यको आधारमा १० प्रतिशत घटबढमा सर्किट लाग्ने व्यवस्था छ। तर यस सम्बन्धी लिखित दस्तावेज भने कहिँ पनि भेटिँदैन। जबकी विनियमको अनुसार हुने हो भने सूचीकृत कम्पनीको हकमा सर्किट ब्रेकर १५ प्रतिशतमा हुनुपर्ने देखिन्छ।

परिच्छेद ३ मा धितोपत्र दलाल तथा अन्य कारोबार सदस्यहरुलाई कारबाही सम्बन्धी व्यवस्था छ। विनियम २२ ले नेप्सेले परिच्छेद ४ को विनियम २४ अनुसारको कार्यहरु गरेको अवस्थाहरुमा दलाल व्यवसायीहरुलाई कारोबार गर्न नपाउने गरी निलम्बन सम्म गर्न सक्ने व्यवस्था रहेको छ। तर सोही प्रकृति मध्येका कुनै पनि कार्यहरु लगानीकर्ता स्वयं एक्लै वा अरुसँग मिलेर वा समूह बनाई बजारमा गर्न नहुने अवाञ्छनीय कार्य गरेको खण्डमा कारबाही गर्न सक्ने व्यवस्था यसमा गरेको देखिँदैन। 

यसैगरी परिच्छेद ६ मा अक्सन कारोबार सञ्चालन सम्बन्धी व्यवस्थाहरु गरेको छ। तर हालसम्म विनियमावली अनुसारको अक्सन मार्केट सञ्चालनका लागि केही अध्ययनहरुको सिवाय थप तयारीहरु केही पनि भएको देखिँदैन। अक्सन मार्केट सञ्चालनमा आएको खण्डमा यसले क्लोज आउन पर्ने समस्याहरुलाई हल गर्नुका साथै अफ डिल गरेर समेत कारोबार अवधिपछि सेयर खरिदबिक्री गर्न चाहनेहरुलाई सहज बनाउँदछ। 

अन्त्यमा, 
यसरी हेर्दा हाल सञ्चालनमा रहेको कारोबार सञ्चालन विनियमावली, २०७५ ले अनलाइन कारोबार प्रणालीलाई आंशिक रुपमा मात्रै समेट्न सकेको छ। यसलाई पूर्ण रुपमा समेट्ने गरी परिमार्जन गर्नुपर्ने भएको देखिन्छ। 

अल अर नन्, प्रारम्भिक कारोबार सत्रको परिवर्तन, न्यूनतम मूल्य प्रविष्टिको सीमा, मार्केट अर्डर र लिमिट अर्डर तथा सो अन्तर्गतका अर्डर भ्यालिडिटीका नियमहरु, हाल प्रचलनमा रहको नेप्से परिसूचक तथा कम्पनीको सर्किट ब्रेकरको लिमिटहरु, बल्क डिल तथा ब्लक डिलहरु आदि केही बुँदागत रूपमा तत्कालै औंल्याउन सकिने विषयहरु हुन्, जसमा तत्काल नै विनियमावलीको माध्यमबाट नियमनको आवश्यकता छ।

यसका साथै आगामी दिनमा धितोपत्र दलाल व्यवसायीहरु आफैंले नै टीएमएसको व्यवस्थापन गर्नका लागि रहेको परिप्रेक्षमा त्यस्ता प्रणालीलाई समेत समेट्ने किसिमबाट नयाँ कारोबार सञ्चालन विनियमावलीलाई परिमार्जन तथा पुनःलेखन गर्नुपर्ने देखिन्छ। 

यसका साथै नेपाली पुँजी बजारमा आगामी दिनहरुमा प्रयोगमा आउन सक्ने अटोमेटेड ट्रेडिङ, अल्गो तथा हाइ फ्रिक्वेन्सि ट्रेडिङ जस्ता नयाँ नयाँ सुविधाहरुलाई समेत नियमन गर्नसक्ने ढंगबाट कारोबार सञ्चालन विनियमावली परिमार्जन गर्नुपर्ने अहिलेको आवश्यकता हो। 

यसरी समयानुकूल सुधार तथा परिमार्जनहरु गर्दै गएमा मात्रै हाम्रो कारोबार प्रणालीले सबै किसिमका लगानीकर्ताहरुलाई समेट्नुका साथै उनीहरु विश्वास हासिल गर्न सक्दछ।