निषेधाज्ञा खुकुलो भए पनि साल्ट ट्रेडिङको घुम्ती सेवा चल्दै, चक्रपथ बाहिरका स्थानमा धेरै माग

सरला सुवेदी/बिजमाण्डू
२०७८ असार ३१ गते ०९:४१ | Jul 15, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले दैनिक ३ वटा मोबाइल भ्यानमार्फत खाद्यान्न बिक्री गरिरहेको छ।

साल्ट ट्रेडिङले गत वैशाखमा निषेधाज्ञा लागु भएपछि सुरु गरिएको घुम्ती सेवालाई यति बेला पनि निरन्तरता दिएको छ। निषेधाज्ञा खुकुलो भएपछि पनि चक्रपथ बाहिरबाट खाद्यान्नको अर्डर आइरहेको साल्ट ट्रेडिङका बजार प्रबन्धक प्रज्वल प्रधानले बताए।

'यति बेला मुख्य भित्री शहरहरुभन्दा बाहिरबाट खाद्यान्नको माग आउन थालेको छ,' उनले भने। उनका अनुसार खाद्यान्नको दक्षिणकाली, कीर्तिपुर, ललितपुर, लामाटार, भक्तपुर, बुढानिलकण्ठ, बालाजु, ककनी लगायतका ठाउँहरुबाट धेरै माग आउने गरेको छ।

यस अघि चक्रपथ भित्रबाट खाद्यान्नको माग बढी हुने गरेको थियो। तर बजार खुल्न थालेपछि साल्टको बिक्री कक्ष र घुम्तीसेवामार्फत खाद्यान्नको बिक्री घटेको छ।

'बर्खाको समय भएकाले बाहिर जिल्लाहरुमा जान समस्या हुन्छ। तर काठमाडौं उपत्यकाभित्र आएका मागहरुलाई हामी मोबाइल भ्यानबाट खाद्यान्न आपूर्ति गरिरहेका छौं,' बजार प्रबन्धक प्रधानले बताए ।

यतिबेला दैनिक २ देखि ३ वटासम्म मोबाइल भ्यानले खाद्यान्न बिक्री वितरण गर्दै आएको छ। उक्त भ्यानबाट दैनिक साढे दुई लाख रुपैयाँसम्मको खाद्यान्न बिक्री हुँदै आएको उनले बताए।

निषेधाज्ञा अवधिभर घुम्तीसेवाले दैनिक ४ लाख रुपैयाँको खाद्यान्न बिक्री गर्दै आएको थियो। केही समयदेखि साल्ट ट्रेडिङको कालिमाटीको बिक्री कक्षबाट दैनिक ३ लाख रुपैयाँको खाद्यान्न बिक्री हुँदै आएको उनले जानकारी दिए।

बजार खुलेपनि साल्ट ट्रेडिङका बिक्री कक्षहरुमा भने खाद्यान्न खरिद गर्न उपभोक्ताको लाइन लाग्ने गरेका छन्।

'निषेधाज्ञाको अवधिभर खाद्यान्नमा २० प्रतिशत छुट पाइने भएकाले दैनिक ३ सय भन्दा बढी उपभोक्ताहरु खरिदका लागि आउँथे। अहिले पनि छुटको व्यवस्था नभए पनि विभिन्न ठाउँहरुबाट ग्यास तथा खाद्यान्न खरिद गर्न आउने गरेका छन्,' उनले भने।

बजारको भन्दा सस्तो मूल्यमा खाद्यान्न पाइने भएकाले उपभोक्ताहरु साल्ट ट्रेडिङको बिक्री कक्षप्रति आकर्षित भएका हुन्। बिक्री कक्षमा चिनीको मूल्य बाहिरको भन्दा प्रतिकेजी १५ रुपैयाँसम्म सस्तो रहेको छ। यतिबेला उपभोक्ताहरु धेरैजसोले चिनी किन्ने गरेको पनि उनले जानकारी दिए।

महामारीको समयमा उपभोक्तालाइ खाद्यान्न आपूर्ति सहज बनाउनका लागि घुम्ती सेवा सञ्चालन गर्दै आएको थियो।

यस अघि वाणिज्य मन्त्रालयले निषेधाज्ञा खुलेपछि घुम्ती सेवा बन्द गरेको थियो। अहिले पनि पूर्णरूपमा निषेधाज्ञा नहटेकोले सीडीओको सल्लाह अनुसार घुम्ती सेवालाई निरन्तरता दिइरहेको प्रधानले जानकारी दिए।