वागमती प्रदेशमा दर्ता भएका सवारीको ब्लुबुक नवीकरण अब अनलाइनबाटै, यसरी गर्नुस् नवीकरण

उन्नत सापकोटा/बिजमाण्डू
२०७८ साउन ८ गते १५:०४ | Jul 23, 2021
वागमती प्रदेशमा दर्ता भएका सवारीको ब्लुबुक नवीकरण अब अनलाइनबाटै, यसरी गर्नुस् नवीकरण

Tata
GBIME
Nepal Life

काठमाडौं। वागमती प्रदेशमा दर्ता भएका सवारी साधनको वार्षिक नवीकरणका लागि यातायात व्यवस्था कार्यालय पुग्नैपर्ने झन्झट अब  हटेको छ।

सरकारले अनलाइन प्रणाली सुरु गरेपछि सवारी साधनको वार्षिक कर (ब्लुबुक नवीकरण) डिजिटल माध्यमबाट गर्न पाइने भएको हो। यो सेवा हेटौंडामा शुक्रबार उद्घाटनसँगै सञ्चालनमा ल्याइएको हो।

वागमती प्रदेश अन्तर्गतका ६ वटा यातायात सेवासम्बन्धी कार्यालयहरु अनलाइन भुक्तानीको प्रणालीमा जोडिएका छन्। प्रदेश मातहत रहेका यातायात व्यवस्था सेवा कार्यालय भक्तपुर,  सानो भर्‍याङ, हेटौंडा, भरतपुरसँगै साना ठूला सवारी ललितपुर र मोटरसाइकल काठमाडौंमा यातायात कर, जरिवाना र नवीकरण शुल्क अब अनलाइनबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको छ। 

वागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा पनि यातायात क्षेत्रलाई सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, व्यवस्थित एवं विश्वसनीय बनाउन सम्पूर्ण सवारी साधनहरुको विवरणहरु डिजिटलाइजेसन गर्ने योजना अघि सारेको थियो। 

प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र बाहेकका सेवाहरुलाई पनि अनलाइन प्रणालीमा आबद्ध गरी विद्युतीय माध्यमबाट राजस्व भुक्तानी गर्ने व्यवस्थाका लागि विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८ जारी गरेको छ।

संघीय राजधानी भएकाले काठमाडौंमा गुड्ने सवारी संख्या मुलुकमै सर्वाधिक छ। र, यातायात व्यवस्था कार्यालयहरूमा पनि सेवाग्राहीको चाप थेगिनसक्नु हुने गरेको छ। अनलाइन प्रणाली प्रयोगमा आएपछि भने सेवाग्राहीले यातायात व्यवस्था कार्यालयहरुमा भीड गर्नु पर्ने छैन। 

वागमती प्रदेशले सुरु गरेको यो सेवा 'नागरिक एप' भन्दा फरक हो। तर उक्त एपबाट पनि यो सिस्टम प्रयोग गर्न सकिने यातायात व्यवस्था कार्यालय वागमतीले जनाएको छ। वागमतीले सुरु गरेको यो अनलाइन प्रणाली प्रयोगकर्तालाई कति सहज हुन्छ र कार्यालयको कामलाई कति उपयोगी बनाउँछ भन्ने केही सातापछि नै देखिने छ।

सफलमा दरिनेबित्तिकै यो प्रणाली मुलुकका अन्य प्रदेशका लागि पनि प्रयोगमा आउनेछ। नागरिक एपमा गरिएको परिकल्पनाअनुसार भने बिस्तारै यो प्रणाली सबै प्रदेशका लागि जोडिने छ। यातायात व्यवस्था विभागको तथ्यांक अनुसार देशभर दर्ता भएका सवारीको संख्या करिब ३७ लाख छ। जसमा ३२ लाख चालु अवस्थामा छन्। देशभरमै सर्वाधिक सवारी गुड्नेमा भने काठमाडौं उपत्यका हो। 

यहाँ वागमतीबाहेक पनि दर्ता रहेका सवारी उल्लेख्य संख्यामा छन्। वार्षिक नवीकरण गराउन सम्बद्ध प्रदेश र कार्यालय पुग्नैपर्ने झन्झट हटाउँदै राजस्व असुली बढाउन अनलाइन प्रणाली बिस्तारै सबै प्रदेशका लागि लागु हुने विभागले जनाएको छ।    

कसरी तिर्ने अनलाइनबाटै सवारी साधनको कर?
सवारीधनीले सुरुमा https://tmis.bagamati.gov.np/ वेबसाइटमा जानुपर्छ। त्यहाँ सवारीधनी लगइन पोर्टल देख्न सकिन्छ। नयाँ प्रयोगकर्ताहरुले नयाँ दर्ता आइकनमा क्लिक गर्नुपर्छ। 

नयाँ दर्तामा पूरा नाम, मोबाइल नम्बर र जन्म मिति अनिवार्य इन्ट्री गरेर अगाडी बढ्नुपर्छ। टोकन नम्बर मोबाइल एसएमएसमा आउँछ। अनि पासवर्ड सेट गर्ने। पुन: आफूले राखेको फोन नम्बर र पासवर्ड हालेर लगइन गर्नुपर्ने हुन्छ। 

प्रणालीले सुरक्षा कारण देखाउँदै तपाईंलाई पुन नयाँ 'स्ट्रङ' पासवर्ड हाल्न अनुरोध गर्न सक्छ। त्यसपछि टीएमआइएसको ड्यासबोर्ड खोलिन्छ।

जहाँ तपाईंले 'मेरो सवारीहरु' मा आफ्नो सवारी साधनको सबै विवरण भर्नुपर्छ। सवारी दर्ता अञ्चलमा भएको छ वा प्रादेशिक नाममा त्यो छान्नुपर्छ। त्यसपछि प्रदेश छान्ने (अहिलेलाई वागमती प्रदेशमा मात्रै लागू भएको छ), सवारी साधन दर्ता भएको यातायात कार्यालय, गाडीको किसिम, लट, सवारी साधनको सिम्बोल र सवारीको नम्बर इन्ट्री गर्नुपर्ने हुन्छ। 

यी विवरणहरुले मात्रै तपाईंको सवारी साधनको सबै जानकारी प्रणालीमा नहुने भएकाले सुरुमा ब्लूबुकको आधारमा सोधिएका सबै जानकारी सवारीधनीले इन्ट्री गराउनुपर्ने हुन्छ। 

जस्तै, सवारी साधनको मोडल, निर्माता कम्पनी, इन्धनको किसिम, इन्जिन नम्बर, च्यासिस नम्बर, सिलिण्डर संख्या, गाडीको किसिम इत्यादि इन्ट्री गर्नुपर्ने हुन्छ। 

त्यसपछि ड्यासबोर्डमा 'कर तिर्नुपर्ने' भन्ने अप्सन छनोट गर्नुपर्नेछ। सवारीसाधनको वार्षिक कर बुझाउनु अघि बीमा अनिवार्य भएकाले बीमा पनि गर्नुपर्ने हुन्छ। प्रणालीमा बीमा भएका सवारीसाधनको मात्रै कर भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको छ। 

त्यसैगरी, उक्त अप्सन छानेपछि सवारीधनीले अहिलेसम्म तिर्नुपर्ने रकमको सबै विवरण देखिनेछ।

प्रारम्भिक चरणमा कर तिर्नका लागि कनेक्ट आइपीएसबाट मात्रै भुक्तानी गर्न मिल्ने बताइएको छ। अबको दुई साता भित्रमा देशमा सञ्चालित इसेवालगायत अरु विद्युतीय भुक्तानीका माध्यमहरु पनि जोडिने मन्त्रालयले जानकारी दिएको छ। 

आफूलाई पायक पर्ने यातायात कार्यालय छनोट गरेर भुक्तानी गर्न मन्त्रालयले जनाएको छ। अहिलेलाई अनलाइनबाट कर तिरेको सम्बन्धित कार्यालयमा एक महिना भित्र ब्लुबुकमा छाप लगाउन जानुपर्ने भएकाले पायक पर्ने कार्यालय छान्न मन्त्रालयले अनुरोध गरेको छ।  

भुक्तानी गरेपछि सवारीधनीले रसिद डाउनलोड गर्न सकिन्छ। उक्त पीडीएफ रसिदमा सवारी कर तिरेको सबै विवरणसहित क्यूआर कोड हुनेछ।

मन्त्रालयले ट्राफिक प्रहरीहरुले सवारी जाँचका क्रममा सवारी कर तिरेको नतिरेको पहिचान गर्न छुट्टै सफ्टवेयर विकास गरेको छ। जसका कारण अब ट्राफिक प्रहरीले ब्लूबुक हेर्नुभन्दा पीडीएफमा रहेको क्यूआर कोड स्क्यान गरेर सवारी साधनको करलगायत सबै विवरण हेर्न सक्ने छन्।

त्यसैगरी, मन्त्रालयले भेटघाट व्यवस्थापन प्रणालीको वेबपोर्टल https://visittmo.bagamati.gov.np मार्फत इ-टोकन सेवा पनि सुरु गरेको छ। भेटघाट प्रणालीको प्रयोगले यातायात कार्यालयहरुको सेवा प्रविधिमैत्री हुनाको साथै कोभिड-१९ लगायतका संक्रामक रोगको जोखिम र यातायात कार्यालयहरुमा हुने भिडभाड र सेवाग्राहीको चापलाई व्यवस्थित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास मन्त्रालयले लिएको छ।