नेपाली स्कुल जुन विदेशीलाई पढ्न नेपाल ल्याउने सोचले खोलियो, पूर्वाधारमै साढे दुई अर्ब लगानी






काठमाडौं। डा. खगेन्द्रप्रसाद ओझाको देशमै अन्तर्राष्ट्रियस्तरको विद्यालयको खोलिनुपर्छ भन्ने परिकल्पनाको नतिजा हो- भक्तपुर, सूर्यविनायक-६ गुन्डुको 'काठमाडौं वर्ल्ड स्कुल'। 

महँगा भारतीय आवासीय विद्यालयहरूमा वर्षेनी सयौंको संख्यामा नेपाली विद्यार्थी जाने क्रम बाक्लिएपछि सम्भ्रान्त परिवारका सन्तानलाई माध्यमिक तहसम्मको अध्ययनका लागि सोही स्तरको पढाइ तथा आवासीय सुविधा सहितको विकल्प दिने सोचले ओझाले यस स्कुलको योजना अघि बढाएका थिए।

तीन वर्षअघिबाट संचालनमा आएको यो विद्यालय ५४ रोपनीमा छ। मूल गेटबाट पस्नेबित्तिकै देखिन्छ - यसको भव्यता कुनै तारे होटल या रिसोर्टको भन्दा कम छैन। पछाडि १८० डिग्रीमा रहेको सरकारी वन र सामुन्नेको खुला हरियालीले वास्तवमै यो स्कुल 'पर्फेक्ट लोकेशन' मा भएको अनुभूत गराउँछ। २ लाख ६५ हजार वर्गफिट हाराहारी बिल्टअप एरिया ओगटेका संरचनाहरु निर्माणका बाबजुद लगभग ७० प्रतिशत ओपन स्पेस र ग्रिनरी छ। स्कुलको डिजाइन अत्यत्न कुशल आर्किटेक्टले गरेको हो भन्ने अनुमान सहजै गर्न सकिन्छ। नेपालका चर्चित सिनियर आर्किटेक्ट अरुणदेव पन्तको डिजाइन शिल्प र सौन्दर्य यहाँ देख्न सकिन्छ। 

भौतिक पूर्वाधार आधुनिक र सुविधासम्पन्न मात्र होइन, हरेक संरचनाभित्र-बाहिरका स्पेसहरु अत्यन्त वैज्ञानिक हिसाबले डिजाइन गरिएको छ। यहाँसम्म कि कक्षा कोठासमेत त्यसमा राखिने विद्यार्थीको संख्या र प्रतिविद्यार्थी न्यूनतम क्षेत्रफलको अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको आकारमा बनाइएको छ। प्रकोपको भवितव्यलाई समेत उपेक्षा नगरी विद्यार्थी र स्टाफहरु विपदमा आरामले बाहिर निस्कन सक्नेगरी हरेक भवनका करिडोर र एक्जिटहरु फराकिलो बनाइएको छ। स्कुलमा प्रशस्त आधुनिक ल्याबहरु, लाइब्रेरी इत्यादिका साथै दुई फुटसल, बास्केटबल कोर्ट, रुफटप स्विमिङ पुल लगायतका खेलकुद पूर्वाधार पनि छन्।  

संक्षेपमा भन्न सकिन्छ- यो स्कुललाई पूर्वाधारका दृष्टिले साँच्चिकै अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि कुनै कसर छोडिएको छैन। 

'अबको १० वर्षसम्म पनि यहाँ यत्तिको स्कुल आउने सम्भावना छैन। इन्टरनेशनल स्ट्यान्डर्डमा स्कुलको बेन्चमार्क काठमाडौं वर्ल्ड स्कुल बन्न सकोस् भन्ने सोचले यसलाई संचालनमा ल्याइएको हो,' ओझा गर्वसाथ भन्छन्।

सबै संरचना नबन्दै साढे दुई अर्ब लगानी
अहिले काठमाडौं वर्ल्डको संचालक समिति अध्यक्षसमेत रहेका ओझा एक्लैले सुरु गरेको यो स्कुल स्थापना प्रक्रियामा २०७४ सालमा आएर व्यवसायी अरुणकुमार चौधरी तथा उनको व्यवसायिक समूह सीजी होल्डिङ्स पनि जोडियो। ओझा र चौधरी नै हाल यसका प्रमुख लगानीकर्ता हुन्। 

काठमाडौं वर्ल्ड स्कुलका व्यवस्थापन समिति अध्यक्ष ई. मिथलेश कुमार झाका अनुसार, स्कुलमा यी दुईको करिब ८० प्रतिशत हिस्सा छ, त्यसमा पनि सीजी होल्डिङ्सको बहुमत सेयर छ। बाँकी २० प्रतिशत अन्य सेयरधनीहरुको छ।

स्कुलमा सेयरहोल्डरहरुको मात्र (चुक्ता) पुँजी ९९ करोड लगानी भएको बताइएको छ। यसमध्ये ८८ करोड रुपैयाँ सेयर लगतमा आइसकेको छ, बाँकी आउन बाँकी देखिन्छ। स्कुलमा बैंकले पनि एक अर्ब ३५ करोड हाराहारी कर्जा लगानी गरेको छ। यसमा ब्याज खर्च छुट्टै छ। समग्रमा अहिलेसम्म यस स्कुलमा साढे दुई अर्ब रुपैयाँमाथि लगानी भइसकेको झाले बताए। 

'स्कुलमा अन्य पूर्वाधारहरु पनि बनाउनुपर्ने भएकाले अब बैंकको ऋण बढाउने भन्दा सेयरहोल्डरबाटै थप पुँजी हालौं, यसबाट स्कुललाई दिगो पनि बनाउन सकिन्छ भन्ने हामीले सोचिरहेका छौं,' ओझा भन्छन्, 'सेयर पुँजी डेढ अर्ब (१५० करोड रुपैयाँ) पुर्‍याउन सकिए स्कुल सस्टेनेबल हुन्थ्यो।'

उनी अगाडि थप्छन्, 'लगानीकर्ताहरुको सोच यसबाट लाभांसको अपेक्षा नभएर संचालन खर्च धान्नेगरी आत्मनिर्भर होस् र नमुना स्कुलका रूपमा यसले ख्याति कमाओस् भन्ने मात्र छ।'

केशरबहादुर खुलाल (बायाँ) र  ई. मिथलेश कुमार झा (दायाँ)

यसरी जन्मियो नमुना विद्यालय
स्कुल तहकै शिक्षाका लागि सानो उमेरदेखि नै आफ्ना सन्तानहरुलाई भारत र अन्य मुलुकसम्म पुर्‍याउने अभिभावकहरुलाई नेपालमै पूर्णरुपमा 'इन्टरनेशनल स्ट्यान्डर्ड' को आवासीय विद्यालयको विकल्प दिने अभिप्रायले काठमाडौं वर्ल्ड स्कुल जन्मिएको डा. ओझा बताउँछन्। 

भारत जाने सम्भ्रान्त परिवारका विद्यार्थीलाई यहीँ रोक्ने मात्र होइन, अन्य मुलुकका विद्यार्थीलाई समेत विद्यालय तहको पढाइका आकर्षित गर्ने लक्ष्य यस स्कुलका संचालकहरुको छ।

करिब दुई वर्षको परिकल्पनापछि २०७० सालमा स्कुलका लागि उपयुक्त स्थान र जग्गा खोज्न सुरु गरिएको थियो। त्यसअघि स्कुल स्थापना गर्ने टिम जुटाउन पनि ओझालाई सकस परेको थियो।

'स्कुलको अवधारणा सेयर गर्दा सबैले राम्रो भन्थे तर पैसा झिक्न भने कोही तयार हुँदैनथे,' ओझा सम्झन्छन्, 'बैंकबाट ऋण लिनका लागि पनि संचालक समितिमा कम्तिमा सातजना देखाउन कतिपय साथीहरुलाई जबरजस्ती नाम मात्रका लागि भए पनि साझेदार बनाएँ। आफैं जमानत बसेर उनीहरुको नाममा सहकारी वा बैंक जेजेबाट ऋण पाउँछ त्यसबाटै लिँदै परियोजना सुरु गरेँ।'

स्कुल खोल्ने ठाउँ छनोटका लागि पनि निकै समय लगाएर उपत्यकाभित्रका अधिकांश स्थान हेरेपछि अहिले स्कुल रहेको गुन्डु सबैभन्दा उपयुक्त देखेर जग्गा खोज्न थालेका थिए ओझाले। जग्गा फेला परेपछि पनि उक्त क्षेत्रका सांसद तथा तत्कालिन उद्योगमन्त्री महेश बस्नेतसँग भेटेर स्कुलबारेको योजना सुनाएपछि स्थानीय र अन्यबाट कुनै पनि किसिमको व्यवधान नहुने प्रतिबद्धता पाएपछि मात्र जग्गा खरिद गरेर परियोजना अघि बढाएको ओझा बताउँछन् ।

स्कुलको डिजाइन तथा निर्माणको जिम्मा नेपालका चर्चित सिनियर आर्किटेक्ट अरुणदेव पन्तको कम्पनी डिजाइन सेललाई दिए ओझाले। २०७१ सालमा जग्गा किनेर २०७२ मा यसको डिजाइनको काम थालिएको थियो। सोही वर्ष वैशाखमा भूकम्प गएपछि यसको निर्माण केही समय पछि धकेलियो।

डिजाइनको काम सुरु गर्नुअघि स्कुललाई वास्तवमै अन्तर्राष्ट्रिय स्तरको बनाउन ओझाले पन्त लगायतको टिमलाई सिंगापुरमा रहेका उत्कृष्ट अन्तर्राष्ट्रिय स्कुलहरुको अवलोकन गर्न लगे। त्यहाँ उनीहरुले अष्ट्रेलियन इन्टरनेशनल स्कुल, क्यानेडियन इन्टरनेशनल स्कुल, जेम्स वर्ल्ड स्कुल, युनाइटेड वर्ल्ड कलेज लगायतका शिक्षण संस्थाको भौतिक संरचना, कक्षा कोठाको आकार-प्रकार, शिक्षण विधि लगायतको दुई हप्ता लगाएर अध्ययन गरे।

यसपछि होस्टल (विद्यालय आवास) का लागि पनि भारतको बैंग्लोर र दिल्लीका राम्रा विद्यालयहरुका होस्टलको स्थलगत अध्ययन गरिएको थियो। सिंगापुर र भारतका उत्कृष्ट स्कुलहरुको स्थलगत अध्ययनपछि बल्ल काठमाडौं वर्ल्ड स्कुलको डिजाइन गर्न थालेको आर्किटेक्ट पन्त बताउँछन् । 

ओझाले स्कुलका लागि २०७१ सालमा जग्गा किन्दा त्यतिबेला रोपनीको ६० लाख रुपैयाँका दरले करिब साढे ३२ करोड रुपैयाँ लगानी जग्गामै मात्र परेको थियो। परियोजना पूरा गर्न ओझा आंशिक रूपमा आर्थिक समस्याबाट जुधिरहेकै बखत अरुण चौधरी यसमा लगानी गर्न इच्छुक देखिएका थिए। चौधरी आएपछि भने स्कुलका धेरै काम चाँडै सम्पन्न गरेर संचालनमा ल्याउन सजिलो भएको र वित्तीयरुपमा अहिलेसम्म कुनै पनि समस्या नभएको ओझा बताउँछन्।

संचालनको दोस्रो वर्षमै उद्देश्य भेट्ने संकेत
२०७५ सालबाट संचालनमा आएको काठमाडौं वर्ल्ड स्कुलमा पहिलो वर्षमै २५८ जना विद्यार्थी भर्ना भएका थिए। दोस्रो वर्षमा अष्ट्रेलिया र अमेरिकामा रहेका अभिभावकहरुका समेत दर्जन हाराहारी विद्यार्थी यस स्कुलमा होस्टल सुविधासहित लिएर भर्ना भएको बताइएको छ। सोहीबखत भारतका नामुद स्कुलमध्येका जीडी गोयन्का, सेन्ट पल, दून स्कुल लगायतमा पढिरहेका केही नेपाली विद्यार्थीसमेत फर्किएर काठमाडौं वर्ल्डमा आएका छन्।  

यसबाहेक उपत्यकाका उत्कृष्ट मानिआएका स्कुलबाट र विदेशी पनि केही विद्यार्थी यस विद्यालयमा आएका छन्। यसको दोस्रो इनटेकमै कोरियाली र चिनियाँ विद्यार्थी समेत भर्ना भएका थिए । त्यसले पनि काठमाडौं वर्ल्ड अन्तरराष्ट्रिय विद्यार्थीका लागि आकर्षक बन्न सक्ने संकेत देखाएको थियो।

अहिले चौथो ब्याच सुरु गर्ने तरखरमा रहेको यस विद्यालयमा साढे ६ सय हाराहारी विद्यार्थी रहेको यसका प्रिन्सिपल केशरबहादुर खुलालले बताए। जसमा १ देखि १० कक्षासम्म करिब दुई सय र प्लस टु (११ र १२ गरी) मा साढे चार सय हाराहारी विद्यार्थी छन्। स्कुल कुल १२९० विद्यार्थीका लागि डिजाइन गरिएको भए पनि यसको संरचनाले १५ सयलाई अध्यापन गराउन पुग्ने ओझाको भनाइ छ।

एउटा कक्षा कोठामा अधिकतम ३० जना विद्यार्थी क्षमता भए पनि २० जना हाराहारी मात्र राखेर पढाउने गरेको बताइएको छ। माध्यमिक तहमा स्कुलले  एउटा कक्षामा बढीमा ३५ जनासम्म राख्नेगरी कोठा डिजाइन गरेको छ।

क्षेत्रफलका हिसाबले काठमाडौं वर्ल्डभन्दा ठूला स्कुलहरु नेपालमा अरु पनि नभएका होइनन्। तैपनि अहिलेको 'प्रोगेसिभ एजुकेसन' का लागि चाहिने संरचनाको डिजाइन, सुविधा, पूर्वाधार इत्यादिमा भने यो अब्बल रहेको दाबी गरिएको छ। फाइन आर्टदेखि जिम, स्विमिङसम्मका लागि संरचना र शिक्षण विधि यसमा डिजाइन भएको छ। 

'भारतका राम्रा स्कुलकै गुणस्तरको पढाई, शुल्क ७५% सम्म सस्तो'
काठमाडौं वर्ल्ड स्कुलको शिक्षा र आवासीय सुविधाको गुणस्तर नेपाली विद्यार्थी पढ्न जाने भारतीय विद्यालयहरु जत्तिकै रहेको समेत दाबी खुलालले गरेका छन्। यसका बाबजुद शुल्क भने ती विद्यालयको भन्दा कम्तिमा ५० देखि ७५ प्रतिशतसम्म सस्तो रहेको उनको भनाइ छ। 

दिवा स्कुलका लागि मासिक शुल्क १ कक्षाको विद्यार्थीको ३८ हजार सात सय रुपैयाँ छ भने सोमाथि चार कक्षासम्मका लागि मासिक ४३ हजार सात सय रुपैयाँ रहेको बताइएको छ। पाँचदेखि १० कक्षासम्मका लागि यो ४४ हजार सात सय रुपैयाँ छ। 

'हाम्रो स्कुलमा १० कक्षासम्मको विद्यार्थीको शुल्क समग्रमा महिनाको ५० हजार रुपैयाँ हाराहारी पर्छ, यो यही स्तरका अरु स्कुलहरुसँग तुलना गर्ने हो भने एकदमै अफोर्डेबल हो,' खुलाल भन्छन्। यो होस्टलबाहेकको शुल्क हो, जसमा तीन छाक खाना, स्टेशनरी तथा टेक्स्ट बुक, सम्पूर्ण अतिरिक्त क्रियाकलाप लगायतको शुल्क पर्छ। होस्टल बस्नेले भने दिवा स्कुलको शुल्कमा थप २७ हजारदेखि ३२ हजारसम्म (कक्षाअनुसार) तिर्नुपर्ने हुन्छ। विद्यार्थी होस्टल स्टार होटेलजत्तिकै सुविधासम्पन्न भएको विद्यालय व्यवस्थापनको भनाइ छ।

यसले यही वर्षदेखि 'ए लेभल' पनि शुरु गरेको छ। यसपटक बढीमा ३० जना मात्र लिने गरी थालिएको ए लेभलको शुल्क वर्षको दुई लाख रुपैयाँ तोकेको छ। ११ र १२ कक्षामा पनि खाना-खाजा तथा बस शुल्कबाहेक साढे दुई लाख हाराहारीमा दुई वर्षकै पढाइ सकिने बताइएको छ।

हाल पाँच कक्षासम्म आईपीसी (इन्टरनेशलन प्राइमरी करिकुलम) पछ्याइरहेको काठमाडौं वर्ल्ड स्कुलले चाँडै नै आईभी शिक्षण विधि अपनाउने प्रक्रियामा छ। रोबोट सिकाइसँग सम्बन्धित 'एक्टिभ बोट' पनि स्कुलले लागु गरेको छ। यसबाहेक पनि अन्य अन्तर्राष्ट्रिय शिक्षण विधि तथा रणनीतिहरु अपनाउने योजनामा रहेको खुलालले सुनाए। 

उनका अनुसार, यस स्कुलले सिंगापुरको सल्भ एजुकेसन नामक संस्थासँग सम्बन्धन लिएर लाइसेन्स नै लिइ शिक्षण प्रविधि भित्र्याउन लागेको छ। यसले गेमिङ मोडबाट ल्याङ्वेज र म्याथम्याटिक्स सिकाउनमा मद्दत गर्नेछ। यस्तै, बेलायतको 'माइ आइ म्याथ' सफ्टवेयर पनि भित्र्याउने क्रममा रहेको बताएको छ, जसले प्रविधिमा आधारित भएर  विद्यार्थीलाई अन्तरक्रियात्मक तरिकाले म्याथम्याटिक्स सिकाउँछ। यी शिक्षण विधिहरु नेपालका कुनैपनि स्कुलहरुको हकमा नौलो हुने खुलाल बताउँछन्।

होस्टल भवन ।

प्रोग्रेसिभ एजुकेसनका लागि कक्षा कोठामा हुनुपर्ने सम्पूर्ण भौतिक सुविधाहरुको प्रबन्धका साथै स्कुलले शिक्षकहरुलाई पनि सोहीअनुरुप दक्ष बनाउन विदेशमा तालिम दिने गरेको बताइएको छ। स्कुलका फ्याकल्टीहरु सम्बन्धित विषयकै अध्ययन गरेका तथा विदेशबाटै तालिमप्राप्त रहेको खुलालको भनाइ छ। अन्य शिक्षकहरु पनि सोही अनुरुपमा लिने गरेको र त्यस्तो नपाएको खण्डमा पनि तालिमका लागि विद्यालय व्यवस्थापनले विदेश पठाएर ग्रुम गर्ने उनले बताए।

राजधानीको मध्य शहरबाट थोरै बाहिर शान्त ठाउँमा रहेको यो स्कुल पुग्न काठमाडौंको नयाँ बानेश्वरबाट सूर्यविनायकसम्म करिब साढे १० किलोमिटर ६ लेनको बाटो पार गर्नुपर्छ। त्यहाँबाट दक्षिणतर्फ दुई किमी २० फिटे पक्की सडक छिचोलेपछि पुगिन्छ काठमाडौं वर्ल्ड। बाटोको राम्रो सुविस्ता भएकाले नै काठमाडौंको कलंकी, बुढानिलकण्ठ, ललितपुरको गोदावारी र काभ्रेको धुलिखेलसम्मका विद्यार्थी आइरहेको खुलालले बताए। विद्यार्थी ओसारपसारका लागि स्कुलसँग ३० भन्दा बढी आफ्नै गाडी छन्।

खुलाल भन्छन्, उच्च आयवर्ग लक्षित काठमाडौं वर्ल्ड स्कुलबाट ग्र्याजुएट हुने विद्यार्थी असल संस्कारसहितका र विश्वव्यापी रुपमा 'सेलेबल' हुनेछन्। 

स्कुलको मास्टर डिजाइन डमी।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell