सरकारको ‘ग्रीन सिग्नल’ कुर्दैछ टीआइएमा ५० अर्बको अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण योजना

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७८ साउन ११ गते १२:४२ | Jul 26, 2021
सरकारको ‘ग्रीन सिग्नल’ कुर्दैछ टीआइएमा ५० अर्बको अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण योजना


Tata
GBIME
Nepal Life

काठमाडौं। ५० अर्बको लागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ। प्रस्तावित डिजाइनलाई सरकारले स्वीकृति दिएर अगाडि बढाएमा काठमाडौंको विमानस्थल विश्वका अत्याधुनिक सुविधा सम्पन्न भन्दा कम हुने छैन।

नागरिक उड्डयन प्राधिकरणले उड्डयन पूर्वाधार विकास योजनाअन्तर्गत तयार डिजाइनअनुसार नयाँ टर्मिनल भवन अहिलेको भन्दा तीन गुणा ठूलो क्षेत्रफलमा बिस्तारित त हुने नै छ, ६ वटा बोर्डिङ ब्रिज, कमर्सियल स्पेस, बिजनेस लाउन्ज, ड्युटी फ्री सप लगायतको सुविधा रहनेछ।

'डिजाइन तयार भएर छलफलका क्रममा छ, मन्त्रिपरिषद्बाट स्वीकृत भएर आएपछि यो परियोजना औपचारिकरूपमा अघि बढ्छ,' प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने, 'हाम्रो योजनाअनुसार निर्माणको काम सन् २०२४ देखि सुरु हुन्छ।' मन्त्रिपरिषद्बाट स्वीकृत भएलगत्तै डिजाइन सार्वजनिक गरिने उनले बताए। 

नयाँ पूर्वाधारको योजनामा विमानस्थलको क्षमतालाई नै तीन गुणाले विस्तार गर्ने डिजाइन गरिएको छ। 'निर्माणका लागि अनुमानित लागत ५० अर्ब रुपैयाँ हुनेछ,' महानिर्देशक पोखरेलले भने, 'सरकारले योजना स्वीकृत गरेसँगै लगानीको स्रोत व्यवस्थापनका प्रक्रिया पनि अघि बढ्छ।' पछिल्ला वर्ष विमानस्थलमा पूर्वाधार बिस्तारमा काम नभएका होइनन तर यो नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्तावित टुक्रे योजनाहरु भन्दा वृहत् हुनेछ।

जसका लागि सरकारले लगानी जुटाउन पनि स्रोत खोज्नु पर्नेछ। विमानस्थल सुधार आयोजनामा दाता खोज्न सरकारलाई गाह्रो पर्ने विषय भने होइन। केपी ओलीको बहिर्गमनसँगै शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको दुई साता पनि पुगेको छैन। गठबन्धनबाट सरकार बनाएका प्रधानमन्त्री देउवाले अझैसम्म मन्त्रिपरिषद् बिस्तार गरिसकेका छैनन्।  सरकारको नेतृत्वसँगै देउवाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसहित १८ मन्त्रालय आफैंसँग राखेका छन्। 

त्यसैले छुट्टै विभागीय मन्त्री नआइ टीआइएको पूर्वाधार बिस्तारका लागि प्रस्तावित योजना अघि बढ्नेमा प्राधिकरण ढुक्क छैन। तैपनि मन्त्रिपरिषद्‍मा पठाएर पालो कुर्ने क्रम भने सुरु गरेको छ। ओली सरकारका तुलनामा सकारात्मक काम देखाउने अपेक्षा गरिएकाले नयाँ सरकारले 'ग्रीन सिग्नल' दिने सम्भावना उच्च रहेको प्राधिकरणका पदाधिकारी बताउँछन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हो। भैरहवाको गौतमबुद्ध र पोखरामा निर्माणाधीन विमानस्थलले काठमाडौंको चाप घटाउने अनुमान गरिए पनि ती दुवै पूर्णरूपमा तयार भएर सञ्चालन योग्य हुन समय लाग्ने देखिएका छन्। भैरहवामा अन्तर्राष्ट्रिय हवाई सेवाका लागि 'एयर रुट' अनुमति भारतसँग लिनुपर्छ, जसमा अझै कस्तो प्रक्रिया चलिरहेको छ भन्नेमा सरकारी अधिकारीहरु प्रष्ट छैनन्। पोखराको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय भनिएकाले त्यसमा ठुला र धेरै जहाज उडान-अवतरण हुन सक्छ/सक्दैन भन्ने प्रष्ट भइसकेको छैन।

केही वर्षमा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा आए पनि संघीय राजधानीको विमानस्थलको चाप नघट्ने अनुमान सरकारी अधिकारीहरुको छ। अन्तर्राष्ट्रिय र आन्तरिक हवाई सेवा दिइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सामान्य अवस्थामा वार्षिक सरदर ७२ लाख यात्रु आवागमन गर्ने गरेका छन्।

प्राधिकरणका अनुसार सन् २०१० का तुलनामा २०१८ मै यात्रु आवागमन दोब्बर पुगिसकेको थियो। हवाई यात्रु र विमान उडान-अवतरणको बढ्दो चाप धान्न पूर्वाधार बिस्तार जरुरी भइसकेको ठहर प्राधिकरणको हो।  

त्यसैले प्राधिकरणले पूर्वाधार बिस्तारको योजना अघि बढाएको हो। हालको टर्मिनल भवनको क्षेत्रफल ३३ हजार स्क्वायर मिटर छ। नयाँ पूर्वाधारले ओगट्ने क्षेत्रफल अझ बिस्तार हुनेछ। स्टिल स्ट्रक्चरमा निर्माण गरिने नयाँ टिर्मिनल भवन अत्याधुनिक सुविधायुक्त रहने पोखरेल बताउँछन्। 'नयाँ भवन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुनेछ,' उनले भने। नयाँ टर्मिनल भवन ६ वटा बोर्डिङ ब्रिज, कमर्सियल स्पेस, बिजनेस लाउन्ज, ड्युटी फ्री सप लगायतको  संरचनासहितको हुनेगरी बनाइएको डिजाइन छलफलको चरणमा रहेको उनले बताए।

विमानस्थलमा हुँदै आएको नियमीत उडान भने प्रभावित नहुने गरी अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको काम सुरु हुने उनको भनाइ छ। 'चालु आर्थिक वर्षदेखि प्राधिकरणले विमानस्थलको चेक-इन क्षेत्र बिस्तारको काम सुरु गर्ने योजना छ,' उनले भने, 'अहिलेको टर्मिनल भवन करिब करिब बुटिक विमानस्थलमा रुपान्तरण भइसकेको छ। एउटा क्यानोपी निर्माणको काम बाँकी छ। अब यो टर्मिनल बिल्डिङको क्षेत्र विस्तार गर्नेछौं। यसो गर्दा चेक इन, अराइभल, डिपार्चर, स्टेरायल लगायतका क्षेत्र बढ्छ।' 

प्राधिकरणका अनुसार नयाँ टर्मिनल भवन विमानस्थलको उत्तरपट्टी रहेको ७५ हजार स्क्वायर मिटर क्षेत्रफलमा निर्माण गरिनेछ। नयाँ टर्मिनल भवनको डिजाइन फ्रेन्च कम्पनी एडीपीआइले गरेको हो। यो कम्पनीले सन् २०१६ मै नयाँ विमानस्थलको डिजाइन तयार गरेर प्राधिकरणलाई बुझाएको थियो। निर्माण चरणमै लैजानेगरी प्राधिकरणका अधिकारीहरु बल्ल सक्रिय भएका हुन्। 

आयोजना निर्देशक मुराहरी भण्डारी हवाई सेवामा विमानको उडान-अवतरण र यात्रु चापलाई बर्सेनि हिसाब गरेर पूर्वाधारको उपयुक्त डिजाइन फाइनल हुने बताउँछन्। 'कम्पनीले पाँच वर्ष अगाडि नै नयाँ टर्मिनल बिल्डिङको डिजाइन बुझाएको थियो। कोभिड-१९ सुरु भएपछि एयर ट्राफिकको रिभ्यु फेरि गर्नु पर्नेछ,' उनले भने, 'कोभिड-१९ अगाडिको एयर ट्राफिकको अध्ययन अनुसार डिजाइन तयार पारेका थियौं। पहिला तयार गरिएका पूर्वाधारलाई फेरि रिभ्यु गर्ने क्रममा छौं।'     

प्राधिकरणले अहिले विमानस्थलअन्तर्गत एयरसाइडको काम गरिरहेको आयोजना निर्देशक भण्डारीले बताए। यसअघि दक्षिणतर्फ धावनमार्गको तीन सय मिटर विस्तार गरिसकेको प्राधिकरणले यतिखेर सेफ्टी एरिया, पार्किङ एरिया, ट्याक्सी-वे, ह्यांगर एरिया डेभलपमेन्टको काम अगाडि बढाइसकेको उनले जानकारी दिए।     

प्राधिकरणले विमानस्थल विस्तारका लागि उत्तर पट्टीको काम सुरु गरिसकेको छ भने दक्षिणतर्फ ट्याक्सी-वेलाई रनवेको अन्तिम बिन्दुसम्म तन्काएर रनवे क्षमता बढाउनका लागि टेण्डर प्रक्रिया अगाडि बढाएको उनले बताए।

यसैगरी विमानस्थलको पूर्वपट्टी विभिन्न वायुसेवा कम्पनीका लागि ह्यांगर बिस्तार र एप्रोन निर्माणका लागि  गर्नका लागि टेण्डर प्रक्रिया पनि अगाडि बढाएको उनले जानकारी दिए।