डोल्मा फन्ड टूएक्स च्यालेन्जमा योग्य, महिलालाई आर्थिक रूपमा सबल बनाउन लगानी गर्ने

बिजमाण्डू
२०७८ साउन १२ गते १२:०१ | Jul 27, 2021
डोल्मा फन्ड टूएक्स च्यालेन्जमा योग्य, महिलालाई आर्थिक रूपमा सबल बनाउन लगानी गर्ने

Tata
GBIME
Nepal Life

 

काठमाडौं। डोल्मा इम्प्याक्ट फन्ड पहिलोले लैंगिक समानतालाई प्राथमिकता दिएकोमा डोल्मा इम्प्याक्ट फन्ड दोस्रोले 'टु एक्स च्यालेन्ज' अभियान घोषणा गरेको छ। 

टु एक्स च्यालेन्ज २० वटा आर्थिक विकास संस्था र बहुपक्षीय विकास बैंकले संयुक्त रूपमा १५ अर्ब अमेरिकी डलर (१७ खर्ब ८४ अर्ब रुपैयाँ) विकासशील राष्ट्रहरुका महिलाहरुलाई नेतृत्वका अवसर, गुणस्तरीय रोजगारी, वित्तीय तथा उद्यमका साथै अन्य वस्तु तथा सेवाको पहुँच विस्तारमा परिचालन गरिने बताइएको छ। जसले महिलाहरुको आर्थिक सहभागिता र पहुँच विस्तारमा भूमिका खेल्ने डोल्मा इम्प्याक्ट फन्डले जनाएको छ।

डोल्मा दोस्रोले नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवा र प्रविधिको क्षेत्रमा लगानी गर्दै आएको छ। उक्त फन्डले विगतदेखि नै कुनै कम्पनीको जम्मा भएको आम्दानी पाँच लाख अमेरिकी डलर (झण्डै ६ करोड रुपैयाँ) भन्दा बढी र निर्माण हुने चरणमा रहेका नवीकरणीय ऊर्जा परियोजना वा पीपीए स्वीकृत भएका परियोजनामा लगानी गर्दै आएको छ। डोल्माले १० लाखदेखि ६० लाख अमेरिकी डलर प्रति कारोबारको बीचमा लगानी गर्दै आएको छ।    

लगानीसम्बन्धी म्यान्डेट पूरा गर्ने कम्पनीहरुलाई डोल्मा दोस्रोले ती कम्पनीहरुको विकास प्रभावलाई थप बढाउन नेपाली महिलाहरुलाई जेन्डर लेन्स लगानी गर्दै आर्थिक रूपमा सशक्त बनाउने उद्देश्य लिएको छ।

जेन्डर लेन्स लगानीका लागि डोल्माले चार वटा मापदण्ड तयार गरेको छ। कुनै पनि कम्पनीमा ५१ प्रतिशत महिलाहरुको सेयर स्वामित्व रहनुका साथै महिलाहरु नै संस्थापक हुनुपर्ने, २०-३० प्रतिशत महिलाहरु उच्च व्यवस्थापनमा वा ३० प्रतिशत महिला बोर्डमा हुनुपर्ने, ३०-५० प्रतिशत महिला कर्मचारी हुनुपर्ने वा कम्पनीले उत्पादन गर्ने वस्तु वा सेवाबाट महिलाहरुले लाभ पाउने मापदण्ड डोल्मा फन्डले तोकेको छ।
        
'महिलाका लागि रोजगारी डोल्माका लागि सधै प्राथमिकताको विषय हो। हाम्रो व्यवस्थापन टिममा पनि ३३ प्रतिशत र समग्र कर्मचारीमध्ये ४१ प्रतिशत महिला हुनुहुन्छ। हाम्रा पोर्टफोलियो कम्पनीहरुले ११ सय महिलालाई रोजगारी दिइरहनु भएको छ,' डोल्मा फन्ड व्यवस्थापनका प्रमुख कार्यकारी अधिकृत टिम गोचरले भने।

डोल्मामा इन्टरप्रेनियुल डेभलपमेन्ट बैंक (एफएमओ), सीडीसी ग्रुप,  स्वीडेनको स्वेड फन्ड र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले लगानी गर्दै आएका छन्। 

'हामीलाई गर्व छ कि डोल्मा इम्प्याक्ट फन्ड दोस्रोले आफ्नो लगानीलाई जेन्ड लेन्स लागू गरेको छ। यसको लगानी नेपालमा उदाउँदो प्रविधि क्षेत्र र अत्यावश्यक स्वास्थ्य सेवा एवम् रोजगारी सिर्जनामा उपयोग हुनेछ,' एफएमओका प्राइभेट इक्विटी निर्देशक जाप रेइन्किङले भने।