गोर्खा इको प्यानलबाट छुट्टियो दुवाल समूह, ४० करोडमा नयाँ उद्योग ल्याउँदै, दुई सातामा उत्पादन

बिजमाण्डू
२०७८ साउन १२ गते १५:०८ | Jul 27, 2021
गोर्खा इको प्यानलबाट छुट्टियो दुवाल समूह, ४० करोडमा नयाँ उद्योग ल्याउँदै, दुई सातामा उत्पादन


Tata
GBIME
Nepal Life

काठमाडौं। छोटो समयमै नेपालमा 'प्यानल बोर्ड' लाई वैकल्पिक निर्माण सामग्रीका रुपमा परिचित गराएको गोर्खा इको प्यानल प्रालिमा साझेदारहरुबीच फाटो आएको छ।

यससँगै, गोर्खा इको प्यानलका संस्थापक तथा मुख्य लगानीकर्ता ई. कृष्णभक्त दुवाल ६ वर्षअघि आफैंले स्थापना गरेको कम्पनीबाट बाहिरिएका छन्। दुवालसँगै ई. सुबोध त्रिपाठीले पनि गोर्खा इको प्यानल छाडेका छन्। 

'कम्पनी संचालन, कर्पोरेट कल्चर लगायतका विषयमा मतभेद भएपछि अरु साझेदारहरुलाई छोडेर आफैं कम्पनीबाट बाहिरिने निर्णय गरेको हुँ,' दुवालले भने। 

गोर्खा इको प्यानल छोडेका दुवाल र त्रिपाठीले संयुक्त रुपमा 'इको प्यानल नेपाल प्रालि' नामको अर्को कम्पनीसमेत दर्ता गरिसकेका छन्। यस कम्पनीले पनि प्यानल नै उत्पादन गर्ने गरी भक्तपुरमा उद्योग स्थापनाको काम गरिरहेको दुवालले जानकारी दिए। 'उद्योग सेटअपको काम लगभग सकिन लागेको छ । अबको दुई हप्तामा प्यानलको व्यवसायिक उत्पादन नै सुरु गर्ने योजना छ,' उनले भने। 

यो उद्योगको उपकरण खरिदमा मात्र १० करोड रुपैयाँ लगानी भएको बताइएको छ। यसका लागि आवश्यक उपकरण कम्पनीले सोझै चीनबाट मगाएको हो।

इको प्यानल उत्पादनलाई आवश्यक सबै उपकरणहरु चीनबाट आइसकेको र एक हप्ताभित्रमा जडान सकेर परीक्षण उत्पादन सुरु गर्ने तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) समेत रहेका दुवालले बताए। 

कम्पनीले दुई किसिमका प्यानल उत्पादन गर्ने जनाएको छ। आठ र नौ फिट लम्बाइ भएका प्यानल उत्पादन हुनेछ। उत्पादन हुने दुईवटा प्यानलमध्ये नेपाल इको प्यानलको मूल्य दुई सय रुपैयाँदेखि चार सय रुपैयाँ पर्ने बताइएको छ। 

कम्पनीले उत्पादन गर्ने अर्को एरेटेट इको प्यानल भने भारतीय प्यानलसँग प्रतिस्पर्धा गर्नेगरी २० प्रतिशत सस्तोमा बिक्री गरिने दुवालले जानकारी दिए।

पोखरामा ३० करोड लगानीमा आउँदैछ अर्को उद्योग

इको प्यानल नेपालबाहेक दुवालले पोखरामा पनि अर्को उद्योग संचालनमा ल्याउन लागेका छन्। 'पोखरा इको रेड ब्रिक्स प्रालि' नाममा संचालनमा आउन लागेको उक्त कम्पनीले चिनियाँ स्वचालित प्रविधिबाट इँटा उत्पादन गर्ने बताइएको छ।

इँटा उद्योग राख्नका लागि ७५ रोपनी जग्गासमेत खरिद गरिसकेको दुवालले जानकारी दिए। जग्गासहित सुरुआती लगानी ३० करोड रहेको यस कम्पनीमा ६ जनाको लगानी रहेको छ। दुवाल र त्रिपाठी यसमा मुख्य लगानीकर्ता हुन् भने अन्य चार लगानीकर्ता पोखराकै रहेका छन्।

दुवालका अनुसार, इँटा उद्योगका लागि चाहिने उपकरणहरु ल्याउनका लागि चिनियाँ आपूर्तिकर्तासँग सम्झौता नै भइसकेको छ। 'इँटा ९.५ इन्च लम्बाई, ४.५ इन्च चौडाई र २.५ इन्च मोटाइको हुनेगरी कस्टुमाइज्ड मेशिन उत्पादन गर्न लगाइएको छ,' दुवालले भने, 'उद्योगको क्षमता वर्षमा डेढ करोड एकाइ इँटा उत्पादन हुनेछ ।'

पोखरा इको रेड ब्रिक्सको उद्योग साइटमा काम हुँदै।

उत्पादन प्रक्रियाका अधिकांश काम मेशिनले नै गर्ने उक्त उद्योगमा इँटा पोल्नका लागि जर्मन प्रविधिको भट्टी 'हफम्यान किल्न' प्रविधि प्रयोग गर्न लागिएको छ। यस प्रविधिबाट ९५% इँटा एक नम्बरको उत्पादन हुने बताइएको छ। 

'हफम्यान किल्न' ४० वर्षअघि भक्तपुरको जगाती र ललितपुरको हरिसिद्धिमा स्थापना गरिएको इँटा तथा टायल उद्योगहरुमा जडान गरिएकै प्रविधि हो । तर त्याे अहिले धुँवारहित हुनेगरी आधुनिक प्रविधिमा परिस्कृत भएको छ। 

हफम्यान किल्न निर्माण गर्नका लागि इटालियन कन्सल्ट्यान्टसँग कुराकानी भएरहेको दुवालले बताए। यस उद्योगबाट यही वर्षको चैतसम्ममा उत्पादन थाल्ने लक्ष्य संचालकहरुको छ। यसबाट उत्पादित चिनियाँ सबै इँटा आकारमा एकनासको र चिल्लो सतह मिलेको हुने बताइएको छ। इँटा बन्डलमा बाँधेर उपभोक्तासम्म पुर्‍याइने र यसबाट टुटफुट भएर क्षति पुग्ने सम्भावना न्युन हुने भनाइ दुवालको छ।

दुई उद्योगमा गरी अहिले दुवाल र त्रिपाठी लगायत समूहको ४० करोड रुपैयाँ लगानी हुनेछ। दुवै उद्योगले वातावरणमैत्री प्रविधिबाट निर्माण सामग्री उत्पादन गर्ने उनले बताए।