क्याथे प्यासिफिकले गर्‍यो डिजिटल हेल्थ पास परीक्षण उडान, यात्रुले बोक्नुपर्दैन कोभिड कागजात

बिजमाण्डू
२०७८ साउन १२ गते १५:२१ | Jul 27, 2021
क्याथे प्यासिफिकले गर्‍यो डिजिटल हेल्थ पास परीक्षण उडान, यात्रुले बोक्नुपर्दैन कोभिड कागजात


Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना संक्रमणको त्रासबीच पनि हवाई सेवा सञ्चालनमा छ। यात्रुले खोप कार्ड वा परीक्षणका कागजात देखाउनु पर्छ। यो नयाँ झमेला नै हो।

एउटा हवाई सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि कोभिड परीक्षण कागजात वा खोप कार्ड बोक्नु नपर्ने व्यवस्था गरेको छ। यसका लागि हङकङको जायन्ट वायुसेवा कम्पनी क्याथे प्यासिफिकले उडानमै परीक्षण गरेको हो। 

हालै डिजिटल हेल्थ पास एपसहित परीक्षण पूरा गरेकाले अबको यात्रा सुरक्षीत हुने उक्त कम्पनीले जनाएको छ। एक महिनाअघि क्याथेले हङकङ-सिंगापुर बीच दुई उडानमार्फत परीक्षण गरेको हो। 

उक्त एपमार्फत यात्रुको कोभिड परीक्षण र खोपको विवरण सहजै रेकर्ड गर्न सकिने भएका कारण अन्तर्राष्ट्रियतर्फका उडान थप जोखिमरहित हुने कम्पनीले जनाएको छ। अन्तर्राष्ट्रिय उडानमा कोभिड परीक्षण र खोप विवरण कायम गर्ने आफू पहिलो वायुसेवा रहेको कम्पनीको दाबी छ। कम्पनीले परीक्षणस्वरुप प्रत्यक्ष उडानमै यात्रुको आधिकारिक खोप विवरण लिएको थियो। 

हेल्थ पास एपका लागि यो उडानमा सहभागी यात्रुको व्यक्तिगत खोप विवरण र परीक्षण विवरण प्रयोग गरिएको कम्पनीले जनाएको छ। 
हङकङ-सिंगापुरको उक्त परीक्षण उडान जुलाई ६ मा सीएक्स ६९१ फ्लाइट नम्बरमार्फत गरिएको थियो। यो उडानमा हङकङ सरकारले आइएम स्मार्ट एप अन्तर्गतको भ्याक्सिन कोड प्रयोग गरिएको थियो।

कम्पनीले सिंगापुर-हङकङतर्फको दोस्रो उडान भने गत जुलाई १५ मा गरेको थियो। उडानमा सहभागी यात्रुबाट 'कमन पास' प्रयोग सहज रहेको प्रतिक्रिया आएको कम्पनीले जनाएको छ। सहभागी अधिकांश यात्रु कमन पास प्रयोग गर्न तयार थिए। यात्रुलाई स्वास्थ्य सम्बन्धी कागजपत्र बोक्नुपर्ने प्रावधानलाई हटाउने उद्देश्यले डिजिटल हेल्थ पासको प्रयोगलाई जोड दिइएको कम्पनीले जनाएको छ। 

परीक्षण उडान 'द कमन प्रोजेक्ट' र एयरपोर्ट अथोरिटी हङकङको सहकार्यमा गरिएको थियो। 'अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुलाई सहजै उडान सेवा दिने उद्देश्यले हामी प्रयासरत छौं। विभिन्न मुलुकमा उडान यात्रा गर्दा स्वास्थ्य प्रमाणपत्रको आवश्यक हुन्छ। कागपत्र बोक्नु भन्दा पनि डिजिटल हेल्थ पासमार्फत अन्तर्राष्ट्रिय उडान यात्रा सहज हुनका साथै यात्रुको आत्मबल बढ्नेछ,' कम्पनीका महाप्रबन्धक भिभियन लोले भने। 

यो परीक्षण उडानपछि कम्पनीको विभिन्न गन्तव्यमा हुँदै आएको उडान पुनः सुरु हुने उनले जानकारी दिए। 'अन्तर्राष्ट्रिय उड्डयन उद्योगमै पहिलोपटक कोभिड परीक्षण रिपोर्ट र भ्याक्सिनेसन रिपोर्टसहितको डिजिटल हेल्थ पास प्रयोगमा ल्याउन सफल भएका छौं। अहिलेको विश्वव्यापी आवश्यकता भनेकै सुरक्षित उडान संचालन गर्नु हो। नवीनतम प्रविधिको प्रयोगमार्फत यात्रुलाई यो सेवा सुरु गर्न लागेका हौं,' कम्पनीका कार्यकारी अध्यक्ष जेनिफर झु स्कटले भने।    

कोभिड सुरु भएको अवधिदेखि विगत १५ महिनादेखि खोज अध्ययनमा रहेको कम्पनीले 'द कमन प्रोजेक्ट' सँगको सहकार्यमा कमन पास एपको विकास गरेको जनाइएको छ।