सेयर बजारमा फेरि नयाँ रेकर्ड, सूचक २९ अंकले बढेर पुग्यो ३०७९ विन्दुमा, कारोबार सवा १५ अर्बको

बिजमाण्डू
२०७८ साउन १२ गते १५:३७ | Jul 27, 2021
सेयर बजारमा फेरि नयाँ रेकर्ड, सूचक २९ अंकले बढेर पुग्यो ३०७९ विन्दुमा, कारोबार सवा १५ अर्बको


Tata
GBIME
Nepal Life

काठमाडौं। मंगलबार सेयर बजारमा फेरि नयाँ रेकर्ड बनेको छ। आज २९९९ अंकदेखि ३०८६ अंकसम्मको उतारचढावबीच बजारले अन्तत ३०७९ विन्दुको नयाँ रेकर्ड बनाएको हो।

सूचकसंगै कारोबार रकम पनि आज बढेको छ। आइतबार र सोमबार सवा १४ अर्ब रुपैयाँ रहेको कारोबार रकम मंगलबार भने सवा १५ अर्ब रुपैयाँ पुगेको हो। 

बजार सूचक र कारोबार रकम दुवैलाई उचाल्नमा उत्पादन, जीवन बीमा र जलविद्युत समूहमा आएको उछाल महत्त्वपूर्ण रह्यो। 

नियमित कारोबारको सुरुआती समयमा घटेर २९९९ अंकसम्म झरेको कारोबार सूचक नेप्से केही समयपछि सम्हालिँदै एक समय ३०८६ अंकसम्म पुगेको थियो। तर बजार बन्द हुँदा भने यो ३०७९ विन्दुमा पुगेर अडिएको हो।

बजार बन्द हुँदाको सूचक मात्र नभएर एकै दिनको उतारचढावमा कायम भएको ३०८६ विन्दु पनि अहिलेसम्मकै उच्च हो। यसअघि कारोबार अवधिको उच्चतम सूचक ३०६५ थियो।

यसअघि डेढ महिनाअघि जेठ ३१ मा ३०२५ विन्दुको उच्‍च अंकको रेकर्ड बनेको थियो। त्यो गत आइतबार ३०५८ अंकमा पुगेर तोडिएको थियो। आइतबार बनेको रेकर्ड दुईदिनमै तोडिएको छ। यससँगै राष्ट्र बैंकको सोमबारको निर्देशनले सेयर बजार प्रभावित हुने आम अनुमानविपरित सेयर बजारले भने फराकिलो अंकको छलाङ मारेको छ। 

जलविद्युतले उचाल्यो बजार

मंगलबारको सेयर बजारको उछालमा जलविद्युत समूह निर्णायक देखियो। १० प्रतिशत हाराहारी मूल्य बढेर सर्किट ब्रेकर लागेका १४ कम्पनीमध्ये ११ वटा जलविद्युत कम्पनी नै रहेका छन्। बाँकी तीनवटा फाइनान्स कम्पनी रहेका छन्।

खानिखोला, युनाइटेड मोदी, नेपाल हाइड्रो डेभलपर, जोशी र घलेम्दी हाइड्रोको मूल्य १० प्रतिशतले बढेको छ। मल्टिपर्पोज, जानकी र पोखरा फाइनान्सको सेयर मूल्य पनि १० प्रतिशत हाराहारी नै बढेको हो।

सर्वाधिक मूल्य घट्नेको सूचीमा भने लघुवित्त कम्पनीहरु अग्रस्थानमा छन्। सपोर्ट, उन्नती सुरक्षा, जनउत्थान, स्वाभिमान र समता लघुवित्तको सेयर मूल्य तीनदेखि पाँच प्रतिशतसम्म घटेको छ।

एनआइसी एसिया बैंकको सर्वाधिक रकम (करिब ५० करोड रुपैयाँ) को सेयर कारोबार भएको छ। यसपछि अपि पावरको ४८ करोड, युनाइटेड मोदी हाइड्रोपावरको ३६ करोड, सानिमा माइ हाइड्रोको ३५ करोड र नेशनल हाइड्रोपावरको ३४ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आज कुल २२५ कम्पनीको सेयर किनबेच भएकोमा ११० कम्पनीको सेयरमा लगानी गर्नेले कमाएका छन् भने ६ वटा कम्पनीको मूल्य स्थिर रहँदा बाँकी ६७ कम्पनीका लगानीकर्ताले गुमाए।

अधिकांस उपसमूह हरियो हुँदा उत्पादन समूह ३०५ अं‌कले बढेको छ। जीवन बीमा समूह २६० अंक, हाइड्रोपावर १२० अंक र फाइनान्स समूह ७१ अंकले बढेका छन्।

सर्वाधिक घट्ने समूहमा भने लघुवित्त समूह ११६ अंकले घटेको छ। होटल तथा पर्टन १८ र बैंकिङ समूह ३ अंकले घटेको छ।