काठमाडौं। सरकारले भन्सार छुट दिएको सामाग्री सहुलियत दरमा बिक्री भए/नभएको अनुगमन गर्ने भएको छ।
सरकारले राजपत्रमा सूचना निकाल्दै अनुगमनको जिम्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दिएको हो।
सरकारले आर्थिक ऐन २०७७ मा स्वास्थ्य सम्बन्धी विभिन्न सामाग्रीमा छुटको घोषणा गरेको थियो। सो छुट बमोजिम सामाग्री बिक्री भए/नभएको अध्ययन गरिने भएको हो।
कोरोनाको महामारी बढेसँगै सरकारले आर्थिक ऐन २०७७ मार्फत स्वास्थ्य सामाग्रीमा छुट दिएको थियो। ऐनको दफा १८ को उपदफा १ बमोजिम भन्सारको ९ शीर्षक तथा उपशीर्षकमा छुटको घोषणा गरेको थियो। जसमा अक्सिजन सिलिन्डर, आइसीयू मोनिटर, ब्लड ग्यास एनालाइजर, अक्सिजन रेगुलेटर, आइसीयु बेड, अक्सिजन फ्लोलोमिटर लगायत छन्।
यी सामाग्रीमा छुट नदिइ बिक्री वितरण गर्ने गरेको पाइएमा कानुन बमोजिम कारबाही हुनेछ।