काठमाडौं। एप्पलले सन् २०२१ को दोस्रो त्रैमास (एप्रिल-जुन) मा नाफा बढाएको छ। अमेरिकी टेक जाइन्ट एप्पलको नाफा २१ अर्ब ७० करोड अमेरिकी डलर (२५ खर्ब ७९ अर्ब रुपैयाँ) पुगेको बताइएको छ। एप्पलले आइफोन बिक्रीबाट मुख्य नाफा बटुलेको कम्पनीले जनाएको छ।
एक वर्षअघिको यही समयको तुलना गर्दा एप्पलको आम्दानी ३६ प्रतिशतले बढेको छ। एप्पलको आम्दानी बढेर ८१ अर्ब ४० करोड अमेरिकी डलर (९६ खर्ब ७५ अर्ब रुपैयाँ) पुगेको कम्पनीले जनाएको छ।
'पछिल्लो त्रैमास हामीले हाम्रा अमेरिका र विश्वभर रहेका ग्राहकहरुको सेन्स अफ अप्टिमिजम बढेको अनुभूति गरेका छौं। यसले हामीलाई अझ राम्रो भविष्य तर्फ डोहोर्याउँदैछ,' एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले भर्चुअल कम्फ्रेन्समा भने।
कुकले विश्वका धेरै देशहरुले लकडाउन खुकुलो बनाउँदै लगेकाले उपभोक्ताहरुको खर्च गर्ने क्षमता बढेको बताए। जसका कारण एप्पलका उत्पादनहरुको बिक्रीमा पनि सुधार आएको उनको भनाइ छ। उपभोक्ताहरु एप्पलको फाइभजी वायरलेस नेटवर्कका नयाँ डिभाइसहरुमा केन्द्रित हुन थालेको बताए। एप्पलको आइफोन १२ ले फाइभजी स्पीड सपोर्ट गर्छ।
आइफोनबाट हुने आम्दानी ५० प्रतिशतसम्म पुगेको बताइएको छ। साथै, एप्पलका अन्य सेवाहरु विद्युतीय भुक्तानी, म्युजिक, टेलिभिजन र गेमिङ स्ट्रिमङबाट पनि आम्दानी उकालो लाग्दै गएको बुझिएको छ। (एजेन्सीको सहयोगमा)