ओलाले ४९९ मा इ-स्कुटर बुकिङ थाल्दा २४ घण्टाभित्र १ लाख बुकिङ, भारतमा इभी क्रान्ति सुरु भएकै हो?

बिजमाण्डू
२०७८ साउन १३ गते १३:३४ | Jul 28, 2021
ओलाले ४९९ मा इ-स्कुटर बुकिङ थाल्दा २४ घण्टाभित्र १ लाख बुकिङ, भारतमा इभी क्रान्ति सुरु भएकै हो?

Tata
GBIME
Nepal Life

भारतमा ओला क्याब नामको राइड हेलिङ प्लाटफर्मका संस्थापक तथा सीइओ भविश अग्रवालले जब ट्विटरमा ओला इलेक्ट्रिकले इलेक्ट्रिक स्कुटर ल्याउँदै गरेको भन्दै बुकिङ अफर गरे, त्यसले भारतीय अटो सेक्टरभर तरंग फैलियो । 

जुलाई २ मा उनले गरेको ट्विटमा ह्यासट्याग ज्वाइन द रिभोल्युसन थियो। र उनले लेखेका थिए- 'रेडि अर नट द रिभोल्युसन इज कमिङ!'
त्यस यता  उनले पटक पटक भारतमा विद्युतीय परिवहनको क्रान्ति सुरु भइसकेको भन्दै ट्विट गरे। ओला स्कुटरको बुकिङ खुलेको बारे फेरि उनले ट्विटमार्फत नै जानकारी दिँदै न्यनुतम मूल्यमा बुकिङ गर्न सक्ने बताए। 

भारतसँग  विद्युतीय सवारीको क्षेत्रमा विश्वकै लिडर बन्न सक्ने क्षमता भएको भन्दै उनले अब विश्वमा विद्युतीय सवारीको भविष्य भारत नै भएको  धारणा राखे। 

तथापि उनले सुरुवातमा कम्पनीले कुनै 'क्रेजी डिमान्ड' अनुमान नगरेको समेत स्पष्ट पारे। 
ओला इलेक्ट्रिकले आफ्नो इ स्कुटर न्यूनतम मूल्य  ४९९ भारुमा बुकिङ खोलेको थियो। कम्पनीका अनुसार बुकिङ खुलेको २४ घण्टाभित्र झण्डै १ लाख ओला स्कुटर बुकिङ भइसकेको थियो। 

ओलाले हालसम्म विद्युतीय स्कुटरको वास्तविक मूल्य सार्वजनिक  नगरे पनि विद्युतीय सवारीप्रति उपभोक्ताको झुकावलाई उक्त बुकिङले नै देखाउँछ। 

हालसम्म यसको ब्याट्री चार्जिङ पोइन्ट तथा डेलिभरीको समयबारे पनि थप जानकारी आएको छैन। तर ओला तथा भविशको ब्राण्ड पुलका कारण उपभोक्ताहरु धमाधम बुकिङ मूल्य तिर्दै ओला स्कुटर आफ्नो बनाइरहेका छन्। 

पटक पटक ट्विट गर्दै भविशले उपभोक्ताहरुलाई स्कुटरको संभावित रंग तथा अपेक्षित मूल्यबारे जानकारी लिइरहेका  छन्। 
यसबारे लिइरहेको सुझावमा अधिकांश ग्राहकले एकपटक चार्ज गर्दा १५० किलोमिटर गुड्न सक्ने क्षमताको अपेक्षा गरेको कम्पनीले जनाएको छ। 

ट्विटमार्फत सुरु भएको ओला स्कुटरलाई भारतका अर्बपतिहरुले समेत बुकिङ गरेपछि यसको चर्चा अझ चुलिएको छ। 
भारतीय अर्बपति  तथा डिजिटल पेमेन्ट जायन्ट पेटीएमका संस्थापक विजयशेखर शर्माले  ओला इ-स्कुटरको बुकिङ गरिसकेको कन्फर्म गरे। 
यस्तै प्राइभेट इक्विटी फर्म सिक्वेइया क्यापिटलका एमडि राजन आनन्दनले पनि आफूले ओलासँगै विद्युतीय सवारीको यस क्रान्ति ज्वाइन गरिसकेको भन्दै ट्विट गरे। भारतका लागि माइक्रोसफ्ट तथा गुगलका पूर्व प्रमुख रहिसकेका राजनले लेखे – 'डन, अर्डर्ड, ज्वाइन्ड द रिभोल्युसन !'

यस्तै भेन्चर क्यापिटल फर्म म्याट्रिक्स पार्टनर्स इन्डियाका संस्थापक तथा एमडी अभिनाश बजाजले पनि ट्विटमार्फत ओला बुकिङ गरेर आफूले पनि यो क्रान्तिमा भाग लिइसकेको जानकारी दिए।

 

भारतको पारवहनलाई परिवर्तन गर्न यो उत्पादन साँच्नै नै 'गेम चेन्जिङ' हुने उनको विश्वास छ। 

महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्राले पनि ओला स्कुटर ल्याउने भविशको योजना र जोखिम उठाउने साहसलाई उत्साहपूर्ण ढंगले समर्थन गरे। उनले आगामी दिनमा ओला इ-स्कुटरले बलियो आविष्कारका रूपमा स्थान लिने अपेक्षा गरे। 

भविश र उनका साझेदार ओलाका सहसंस्थापक अंकित भाटीले ओला क्याब्स सन् २०१० मा सुरु गरेका थिए। उनीहरुले सन् २०१७ मा ओला इलेक्ट्रिक लञ्च गरे। 

ओला क्याब्स सन् २०१५ मा नै एक अर्ब डलरभन्दा माथि मूल्यांकन भएको प्राइभेट कम्पनी बन्यो। ओला इलेक्ट्रिकले पनि सन् २०१९ सम्मा उस्तै तय समाइसकेको थियो। 

दुवै ओला क्याब्स र ओला इलेक्ट्रिकले सुरुवाती समयमा भारतका  बिभिन्न धनाढ्यहरुसँग लगानी उठाएका थिए। उनीहरुले अटो उत्पादक कम्पनी हुण्डाई र कियासँग पनि फण्डिङ लिएका थिए। 

हाल विद्युतीय उत्पादनको लागि ओला इलेक्ट्रिकले तमिलनाडुस्थित आफ्नो फ्याक्ट्रीमा २४ अर्ब भारु लगानी गरिसकेको छ।  बेंगलोरको केन्द्रीय कार्यालयभन्दा १५० किमी पर ५ सय एकड जमिनमा कम्पनीले फ्याक्ट्री स्थापना गरेको छ। 

यस फ्याक्ट्रीको क्षमता वार्षिक १ करोड स्कुटर निर्माण गर्ने रहेको बताइएको छ। यसका लागि कम्पनीले ३ हजारभन्दा बढी रोबोटलाई १० वटा प्रोडक्सन लाइनमा खटाउने योजना बनाएको छ। 

ओलाले उक्त इलेक्ट्रिक स्कुटरलाई युरोप, ल्याटिन अमेरिका र एसियामा निर्यात गर्ने योजना समेत बनाइसकेको छ। गत वर्ष कम्पनीले नेदरल्याण्डको इ-स्कुटर स्टार्टअप कम्पनी इटेर्गो लाई एक्वायर गरिसकेको छ। 

ओला स्कुटर भारतको उदाउँदो  इ-भेहिकल बजारमा चम्किन प्रयासरत धेरै मध्येको एक कम्पनीमात्र हो, जसको यो योजनाले आगामी दिनमा भारतको इ-भेहिकल बजारले टेकअफ गर्ने तयारी गरिसकेको देखाउँछ। 

दिल्लीमा यस वर्षमात्रै पेट्रोल र डिजेलको मूल्यमा २२ प्रतिशतले वृद्धि हुनु र भारतमा सरकारले इ-भेहिकलहरुलाई अनुदान दिनुले सर्वसाधारणका लागि विद्युतीय सवारी किफायती विकल्प बनिरहेको अवस्था छ। 

दुई पाड्ग्रे सवारी उत्पादक हिरो मोटोकर्पले  प्रवर्द्धन गरेको  इभी स्टार्टअप अथर इनर्जीले भारतका १० शहरमा चार्जिङ पोइन्ट स्थापना गरिसकेको छ। अर्बपति व्यापारी पवन मुन्जलको स्वामित्वमा रहेको उक्त कम्पनीले आफ्ना इलेक्ट्रिक स्कुटरहरु बेच्न थालिसकेको छ। 
हालैमात्र दक्षिण भारतस्थित दुई पाङ्ग्रे सवारी निर्माता कम्पनी टीभीएस मोटरले आफ्नो इलेक्ट्रिक स्कुटर भेन्चरका लागि १० अर्ब भारु लगानी गर्ने र उत्पादन क्षमता बढाउने बताइसकेको छ। टीभीएसले आइक्युब नामको इलेक्ट्रिक स्कुटर बजारमा ल्याइसकेको छ। 

यस्तै अन्य ठूला खेलाडीहरु बजाज अटो र हिरो इलेक्ट्रिक पनि यो क्षेत्रमा प्रवेश गरिसकेका छन्, जसले भारतीय इभी बजारको प्रतिस्पर्धालाई झन बढी गहिरो बनाइदिएको छ। 

यस्तै हुण्डाई मोटर इन्डिया र टाटा मोटर्सले पनि भारतीय सडकहरुमा आफ्नो इलेक्ट्रिक कार उतारिसकेका छन्। टाटा ग्रुपको इलेक्ट्रिक युटिलिटी कम्पनी टाटा पावरले हिन्दुस्तान पेट्रोलियम कर्पोरेसनका पेट्रोल स्टेसनहरुमा चार्जिङ पोइन्ट स्थापना गर्ने बताइसकेको छ । 
अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले भारतीय बजारमा आँखा लगाइरहेको छ। टेस्लाका संस्थापक इलन मस्कले विद्युतीय सवारीहरुको निर्यात कर कम गर्नका लागि भारत सरकारसँग लबिङ थालिसकेको छ। मस्कले ट्विट गर्दै भारतमा निर्यात कर असाध्यै महंगो भएको र विद्युतीय सवारीमाथि डिजेल वा पेट्रोल गाडीकै झैं समान व्यवहार गर्नु जायज नभएको तर्क गरेका छन्। 

क्यालिफोर्नियास्थित इभी उत्पादक कम्पनी पालो अल्टोले पनि बेंगलुरुमा अफिस स्थापना गरिसकेको छ। उसले उत्पादनका लागि फ्याक्ट्री स्थापना गर्न जग्गा खोजिरहेको जनाएको छ। भारतमा विद्युतीय सवारीको उत्पादन र वितरणको तीव्र लहर सुरु भइसकेको छ। भविशले भने झैं भारतमा विद्युतीय सवारीको क्रान्ति सुरु भइसकेको हो भने यसबाट नेपाली बजार पनि लाभान्वित हुने निश्चित छ। 

किनभने सरकारले विद्युतीय सवारीमा करका दरमा छुट घोषणा गरिसकेको छ। भारतमा बनेका गाडीहरु नेपाल ल्याउन ढुवानी लागत कम पर्छ। विद्युतीय सवारीको प्रयोगले पेट्रोल-डिजलको खपत घट्छ।  विद्युतीय सवारी प्रयोग बढाउन सबैभन्दा आशलाग्दो जलविद्युत आयोजनाहरुको निर्माणले बनाएको छ। छिटै नेपालीलाई पर्याप्त ऊर्जा उत्पादन गरेर पनि भविष्यमा बिजुली निर्यात गर्न पुग्ने बाटो खोल्दैछन्।बिजुली सस्तो र चार्जिङ स्टेशनहरु सहज हुँदै गए इभी प्रयोग व्यापक हुँदै जानेछ।