१६ महिनापछि कोभिडअघिकै अवस्थामा फर्कियो आन्तरिक उडान, राहतको सास फेर्न थाले वायुसेवा कम्पनीले

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७८ साउन १३ गते १६:०० | Jul 28, 2021
१६ महिनापछि कोभिडअघिकै अवस्थामा फर्कियो आन्तरिक उडान, राहतको सास फेर्न थाले वायुसेवा कम्पनीले

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड-१९ को दोस्रो लहरका कारण दुई महिनासम्म रोकिएको आन्तरिक उडान पुनः संचालनमा आएको एक महिना नबित्दै पुरानै लयमा फर्किएको छ । 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले दिएको आँकडा अनुसार उडान र यात्रु संख्या दुवैका दृष्टिले आन्तरिक उडान १६ महिनाअघिकै अवस्थामा फर्किएको छ।

कोभिडको पहिलो लहर सुरु भएपछि  २०७६ चैत ११ बाट सरकारले लकडाउन लगाएसँगै आन्तरिक उडान पनि बन्द भएको थियो। विमानस्थल कार्यालयका अनुसार, त्यतिबेला उडान बन्द हुनुअघि दैनिक २०६ देखि २१२ वटासम्म (दुईतर्फी) उडान हुने गरेको थियो।

उक्त संख्याको उडानबाट दुईतर्फी रुपमा १२ हजार हाराहारी यात्रुले सेवा लिने गरेको विमानस्थलको आँकडा छ। अहिले पुनः आन्तरिक उडान त्यसकै हाराहारीमा पुगेको देखिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विवरणअनुसार सोमबार मात्र बुध्द, यती, श्री, सौर्य लगायत वायुसेवा कम्पनीले जम्मा २०२ उडान गरेका छन्। यो दुईतर्फी उडानबाट झन्डै साढे ११ हजार (११,३९१) यात्रुको आउजाउ भएको छ। 

यो यात्रु संख्या कोभिड असर सुरु हुनुअघिको तुलनामा ९५ प्रतिशत हो। न्यूनतम उडान संख्या पनि २०७६ चैत ११ अघिको तुलनामा ९८ प्रतिशत पुगिसकेको छ। यो तथ्यले आन्तरिक वायुसेवा कम्पनीहरु राहतको सास फेर्ने अवस्थामा पुगेको देखाउँछ।

पछिल्लोपटक कोभिड-१९ संक्रमणको दोस्रो लहर तीव्र बनेसँगै गत वैशाख १६ देखि असार १६ सम्म आन्तरिक उडानमा पूर्णरुपले रोक लगाइएको थियो। असार १७ बाट उडान पुन: खुला गरिएसँगै त्यसयताको एक महिनामै आन्तरिक उडान पुरानो ट्रयाकमा फर्किएको हो। 

कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा डेल्टा भेरियन्टले विकराल रुप लिएर नियन्‍त्रणमा आइसकेकाले भोलि हस्पिटलाइजेशन केस बढेर उडान पुनः बन्द गर्नु नपरे व्यवसाय लयमा फर्किसकेको वुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले बताए।

एक महिनाअघि उडान खुल्दा सुरुसुरुमा थोरै उडानका बाबजुद यात्रु पनि कम हुँदा लागत धान्न वायुसेवा कम्पनीहरुले भाडादर महँगो राखेका थिए। विस्तारै आन्तरिक हवाई यात्रुको संख्या बढ्दै गएपछि उडान माग पनि उकालो लाग्दै गएको हो। त्यससँगै उडान संख्या र यात्रु चाप सामान्य अवस्थातर्फ उन्मुख हुन थालेपछि हवाई भाडा पनि सस्तिएको वायुसेवा कम्पनीले जनाएका छन्।

निषेधाज्ञा खुकुलो भएको सुरुआती समयको तुलनामा पछिल्लो समय विभिन्न गन्तव्यका लागि लागु गरिएको भाडादर घट्दै गएको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए।

कोभिड दोस्रो लहरका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै सुरु भएको आन्तरिक उडान सुरक्षित रहेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए। वायुसेवा कम्पनीहरुले अबलम्बन गरेको स्वास्थ्य सुरक्षा मापदण्डका कारण हवाई यात्रु बढेको प्राधिकरणले जनाएको छ।

पछिल्लो समय यती एयरलाइन्सको यात्रु अकुपेन्सी कम्तिमा ८० देखि ९० प्रतिशत रहँदै आएको कम्पनीका  उनले जानकारी दिए। आउँदो दिनमा संक्रमण अवस्था अनु मान गर्न  नसकिने हुँदा कम्पनीले तत्काल गत वर्षमा जस्तै आकर्षक भ्रमण प्याकेज सार्वजनिक गर्ने योजना नरहेको उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

कम्पनीले दैनिक ४० वटा (दुईतर्फी) उडानमार्फत २५ सयभन्दा  बढी यात्रुलाई सेवा दिँदै आएको बताइएको छ।      

हवाई यातायात सुरक्षित रहेकै कारण पछिल्लो समय सेवा लिने यात्रु क्रमिक रुपमा बढ्दै गएको श्री एयरलाइन्सले जनाएको छ। काठमाडौंबाट बाहिरिनेको तुलनामा काठमाडौं भित्रने यात्रु धेरैले बढिरहेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले बताए। 

उनका अनुसार, पछिल्लो समय श्रीले दैनिक दुईतर्फी गरेर ३२ वटा उडानमार्फत दुई हजारभन्दा बढी यात्रुलाई सेवा दिँदै आएको छ।   
'निषेधाज्ञा जारी गरेलगत्तै काठमाडौंबाट बाहिरीएका यात्रु पुनः भित्रिन थालेका छन्। काठमाडौंमा फेरि भीड सुरु भइसकेको छ। संक्रमण फैलिएर फेरि निषेधाज्ञा हुन्छ की भन्ने आशंका छ,' उनले भने। 

उडान सामान्य भएसँगै पूरा पारिश्रमिक दिँदै वायुसेवा
आन्तरिकतर्फको उडान पुनः सामान्य अवस्थामा फर्किएसँगै निजी वायुसेवा कम्पनीहरुले पूरा पारिश्रमिक दिनथाल्ने बताएका छन्।

बुध्द एयरले यो जुलाई महिनादेखि नै कम्पनीका कर्मचारीहरुलाई पूरा पारिश्रमिक दिने जनाएको छ। कोभिडको पहिलो लहरको प्रभावले गाँजेको गत वर्षको तुलनामा आन्तरिक उड्डयन उद्योगले दोस्रो लहरपछि छिट्टै विजनेश रिकभर गरेको कम्पनीका प्रबन्ध निर्देशक बस्नेतले बताए।

'अहिले आन्तरिक उड्डयन उद्योग सामान्य अवस्थामा आइसकेको छ। खाली अब एउटा त्रास के हो भने, संक्रमण दरलाई मात्रै हेरेर हस्पिटलाइजेशन, अक्सिजन अभाव, मृत्युदरलाई नहेरी सरकारले फेरी ढ्वाक्कै बन्द गरिदियो भने गाह्रो पर्छ,' बस्नेत भन्छन्, 'संक्रमण संख्याअनुसार अहिले गौरादह, दमकमा जस्तै बन्द अर्थपूर्ण छैन।'  

वुद्ध एयरबाट हवाई सेवा लिनेमध्ये ४५ प्रतिशत यात्रु  संक्रमण भएर ठिक भइसकेका र खोप लगाइसकेका रहेको उनको भनाइ छ।  
आन्तरिक उडानका यात्रु उल्लेख्य रुपमा बढेपनि पर्यटकीय गतिविधि भने उत्साहजनक अझै हुन सकेको छैन। यसलाई भने वायुसेवा कम्पनीहरुले चुनौतिको विषय र चिन्ताजनक भएको बताएका छन्।      
 
यती एयरलाइन्सले पनि पछिल्लो समय आफ्नो आन्तरिक तर्फको उडान पूर्णरुपमा संचालनमा आएको जनाएको छ। यससँगै कम्पनीले दोस्रो लहरका कारण जारी भएको निषेधाज्ञामा पनि काम गरेका कर्मचारीलाई पूर्ण पारिश्रामिक दिएको कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए। 

'अघिल्लो लकडाउनमा आधारभुत पारिश्रामिकको व्यवस्था लागु गरिएको थियो। तर यो वर्ष घरै बस्ने कर्मचारीलाई आधारभुत तलब दिइएको छ भने नियमित कार्यालय आएकालाई सतप्रतिशत पारिश्रामिक दिइएको छ,' उनले भने।