सेयर बजारमा पछिल्लो ४ मध्ये ३ कारोबार दिनमा बने नयाँ रेकर्ड, ३१०० बिन्दुको लाइनमा 

बिजमाण्डू
२०७८ साउन १३ गते १५:३६ | Jul 28, 2021
सेयर बजारमा पछिल्लो ४ मध्ये ३ कारोबार दिनमा बने नयाँ रेकर्ड, ३१०० बिन्दुको लाइनमा 


काठमाडौं। सेयर बजारले बुधबार पनि नयाँ रेकर्ड कायम गरेको छ। यो हप्ता पछिल्लो ४ मध्ये ३ कारोबार दिनमा दिनमा सेयर बजार हरियो हुँदै नयाँ रेकर्डसहित बन्द भएको छ।

Tata
GBIME
Nepal Life

नयाँ उचाइमा पुगेको बजारले हरेक दिन उच्च बिन्दुको रेकर्ड बनाउने र अर्को दिन नै भत्काउने भइरहेको छ। आइतबारको रेकर्ड मंगलबार र मंगलबारको रेकर्ड बुधबार तोडिएको छ।

बुधबार एक समय ३११३ बिन्दु सम्म उक्लेको बजार बन्द हुँदा भने ३०९४ बिन्दुमा बन्द भएको छ। यो दुवै बिन्दु हाल सम्मकै उच्च बिन्दु हुन्।

जलविद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको बजारमा मूल्य बढ्ने कम्पनीमा भने अन्तिम समयमा आएर विकास बैंक र फाइनान्स कम्पनीले उछिनेका छन्। सुरुवाती समयमा भने मूल्य बढ्नेमा पनि जलविद्युत कम्पनी नै अघि देखिएका थिए।

युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक ३८ करोड ६१ लाख रुपैयाँको सेयर किनबेच हुँदा नेशनल हाइड्रोपावरको ३६ करोड ५३ लाख, अरुण भ्याली हाइड्रोपावरको ३३ करोड ६१ लाख , सानिमा माइ हाइड्रोको ३१ करोड ८८ लाख र अपि पावरको २९ करोड ५९ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ।

नारायणी विकास बैंक, मल्टिपर्पोज फाइनान्स र चन्द्रागिरी हिल्सको सेयर मूल्य ठिक १० प्रतिशतले बढेको छ।

पञ्चकन्या माइ, सिंगटी, घलेम्दी, पाँचथर पावर र रसुवागढी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ४/५ प्रतिशतले घटेको छ।

जीवन र निर्जीवन बीमा समूह सर्वाधिक ४५० अंक हाराहारी बढेको छ। होटल तथा पर्यटन समूह समेत २५० अंक भन्दा धेरै बढेको छ। फाइनान्स समूह समेत ७० अंकले बढेको छ।

एक समय ७०/८० अंकसम्म बढेको जलविद्युत र उत्पादन समूह भने बजार बन्‍द हुँदा करिब ५० अंक हाराहारी घटेको छ। उत्पादन समूह ३७ अं‌क र बैकिङ समूह १८ अंकले घटेको छ।

२१९ कम्पनीको सेयर १३ अर्ब २९ करोड रुपैयाँमा किनबेच हुँदा १०९ कम्पनीको मूल्य बढेको छ बाँकी  कम्पनीको सेयर मूल्य घटेको छ।