वीरगंज नाकाबाट ५ खर्ब १३ अर्ब रुपैयाँ सामान आयात, ५३ अर्ब रुपैयाँको सामान निकासी

बिजमाण्डू
२०७८ साउन १४ गते ०९:५६ | Jul 29, 2021
वीरगंज नाकाबाट ५ खर्ब १३ अर्ब रुपैयाँ सामान आयात, ५३ अर्ब रुपैयाँको सामान निकासी

Tata
GBIME
Nepal Life

वीरगंज। वीरगंजस्थित दुई वटा भन्सार नाकाबाट गत आव २०७७/७८ मा ५ खर्ब १३ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ। दुबै भन्सारबाट ५३ अर्ब रुपैयाँ बराबरको वस्तु निकासी भएको छ।

वीरगंजको आइसिपी र सुख्खा बन्दरगाह भन्सार नाकाबाट ती सामान आयातनिर्यात भएको हो। सुख्खा बन्दरगाह भन्सार नाकाबाट २६ अर्ब १६ करोडको मालसामान भित्रिएको छ भने ३८ करोड रुपैयाँ मूल्य बराबरका समान भारत तथा तेस्रो मुलुकमा निकासी भएको छ। वीरगंज भन्सारबाट अघिल्लो आव २०७/६७७ को तुलनामा गत आवको कुल व्यापार २७ प्रतिशतले बढेको निर्यात व्यापारमा भटमास र सनफ्लवार तेलको मुख्य योगदान रहेको वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए।

गतवर्ष कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले आयात प्रभावित भएको थियो। तर आर्थिक वर्षको अन्त्यतिर निषेधाज्ञा खुकुलो भएपछि सवारी साधन र इन्धनको आयात बढेको थियो। जुत्ता, चप्पल, हार्डवेयर, गाडीका पार्टपुर्जाजस्ता सामानको आयात भने घटेको जानकारी पौडेलले दिए।

वीरगंज भन्सार नाकाबा भित्रिने मुख्य बस्तुमा सवारीका साधन र पेट्रोलियम पदार्थ मुख्य हुन्। गत आवमा यो नाकाबाट जीपकार भ्यान, मोटरसाइकल, ट्रक, मिनी ट्रकलगायतका सवारी साधन, इन्धन बढी भित्रिएको छ। वीरगंज भन्सार हुँदै औद्योगिक कच्चा पदार्थ पनि उल्लेख्य परिमाणमा भित्रिन्छ। बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगले यही नाकाबाट कच्चा पादर्थ भित्र्याउने गरेको वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए।

कार्यालयका अनुसार एमएस बिलेट, कोइला, एमएस स्टील स्ट्रिप, पोलिथिन दाना, खाद्यान्न तथा दाना उद्योगको कच्चा पदार्थ पनि उल्लेख्य आयात भएको देखिएको छ। सुख्खा बन्दरगाह भन्सारबाट गतवर्ष फलाम उद्योगका कच्चा पदार्थ, केराउ, मदिरा, तोरी, मरिच, सूर्यमुखीको अर्धप्रशोधित तेल बढी भित्रिएको कार्यालयका सूचना अधिकारी चुडामणि शर्मा कट्टेलले जानकारी दिए। यही अवधिमा चाउचाउ, अचार, पिठो, टायर, छाला, जडीबुटीलगायत वस्तु निर्यात भएको उनले बताए।