असोजअघि नै खोप लगाइसक्न अर्थमन्त्रीको जोड, भने- देशको अर्थतन्त्र जनताको प्राणसँग जोडिएको छ

बिजमाण्डू
२०७८ साउन १४ गते १३:३३ | Jul 29, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन जोड दिएका  छन्।  

बुधवार स्वास्थ्यराज्यन्त्री उमेश श्रेष्ठसँग अर्थमन्त्रालमा भएको छलफलमा उनले फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न आग्रह गरे।

खोप खरिदको लागि पैसाको कुनै कमी हुन नदिने भन्दै मन्त्री शर्माले जुन जुन देशबाट खोप लिन सकिन्छ अहोरात्र वार्ता गरी खोप भित्र्याउन स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई भनेका थिए।  

असोजभित्र खोप दिन सकिएन भने मुलुकको अर्थतन्त्र समेत धरापमा पर्नसक्ने भन्दै उनले खोप खरिदको लागि बजेटको कमी हुन नदिने बताए।

देशको अर्थतन्त्र जनताको प्राणसँग जोडिएकोले विकास निर्माणको लागि विनियोजन गरिएको बजेट समेत रकमान्तर गरेरै भएपनि खोप खरिदमा लगाइने अर्थमन्त्रीले प्रतिवद्धता व्यक्त गरे।  मन्त्री शर्माले प्राप्त भएका खोप समेत लक्षित समुदायलाई दिने कार्यमा ढिलाई भएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

छलफलमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप खरिदका लागि व्यवस्था मिलाइएको र आवश्यक परे आपूर्ति तालिका संशोधन गरेर तीव्रता दिइने प्रतिक्रिया दिए।

उनले संभव भएसम्म चाँडो खोप खरिद गर्ने काममा कुनै विलम्ब नहुने बताए। प्राप्त भएका खोप लगाउनको लागि कार्ययोजना बनाइएको र योजनावद्ध रुपले खोप कार्यक्रमले गति लिने भन्दै राज्यमन्त्री श्रेष्ठले अर्थमन्त्री शर्मालाई विश्वास  दिलाएका थिए।