काठमाडौं। देशमा सञ्चालित ठूला इन्टरनेट सेवा प्रदायकहरुले पछिल्लो एक वर्षको अवधिमा एक लाख १७ हजारसम्म फाइबर इन्टरनेट ग्राहक थपेका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक केलाउँदा सबैभन्दा धेरै फाइबर इन्टरनेट ग्राहक भएको वर्ल्डलिंकले जेठ २०७७ देखि जेठ २०७८ को अवधिमा एक लाख १७ हजार २१९ ग्राहक थपेको छ। जेठ २०७७ मा तीन लाख ६६ हजार १८० ग्राहक रहेको वर्ल्डलिंकका फाइबर इन्टरनेट ग्राहक गत जेठमा चार लाख ८३ हजार ३९९ पुगेको नेपाल दुरसंचार प्राधिकरणको तथ्यांकले देखाएको छ।
सरकारी स्वामित्वको नेपाल टेलिकम वर्षभरीमा वर्ल्डलिंकपछि धेरै ग्राहक थप्ने आइएसपी बनेको छ। टेलिकमले यस अवधिमा ८३ हजार ७६ फाइबर इन्टरनेट ग्राहक थपेको छ। जेठ २०७७ मा जम्मा ३१ हजार ६१ ग्राहक रहेका टेलिकमा फाइबर इन्टरनेट ग्राहक गत जेठमा आइपुग्दा एक लाख १४ हजार १३७ पुगेका छन्।
निजी क्षेत्रकै आइएसपी सुबिसुले उक्त अवधिमा ८२ हजार ८२१ फाइबर इन्टरनेट ग्राहक थपेको छ। जेठ २०७७ मा ९२ हजार १६९ ग्राहक रहेको सुबिसुसँग जेठ २०७८ मा एक लाख ७४ हजार ९९० पुगेको छ।
त्यसैगरी, क्लासिक टेकले ५० हजार २५६ ग्राहक थपेको छ। अघिल्लो वर्षको जेठमा ९९ हजार ५३१ फाइबर इन्टरनेट ग्राहक रहेकोमा क्लासिक टेकले जेठ २०७८ मा त्यसलाई बढाएर एक लाख ४९ हजार ७९६ ग्राहक पुर्याएको प्राधिकरणको तथ्यांक छ।
भायनेटले भने ३९ हजार ५३९ ग्राहक मात्रै थप्न सफल भएको छ। अघिल्लो जेठमा भायनेटसँग एक लाख आठ हजार १५३ ग्राहक रहेकोमा जेठ २०७८ मा एक लाख ४७ हजार ६९२ पुर्याएको छ।
डिसहोमको फाइबर इन्टरनेट ग्राहक संख्या भने जेठ २०७८ मा करिब १२ हजार पुगेको प्राधिकरणको तथ्यांकले जनाएको छ।